साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ३१.१७ अंकले घटेको छ ।
काठमाडौँ — अघिल्लो दिनको तुलनामा १.१२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ४९.८३ विन्दुमा ओर्लेको छ । सो दिन कारोबारमा आएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा २२८ वटाको घट्यो । यसरी सेयर मूल्य बढ्ने कम्पनीको तुलनामा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्सेमा करिब ३१ अंकको गिरावट भएको हो ।
सो दिन ९७ हजार १ सय ७४ पटकको कारोबारमा १ करोड ४८ लाख ५ हजार ५ सय ६९ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ६ अर्ब ६ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत बिहीबार ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट भएको हो ।
