एक महिनामै ३२ करोड १७ लाख रुपैयाँको अलैंची निर्यात

मूल्यका आधारमा गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा ९९.५४ प्रतिशतले अलैंची निर्यात बढेको भन्सार विभागले जनाएको छ ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Cardamom exports worth 321.7 million rupees in one month

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३२ करोड १७ लाख ६१ हजार रुपैयाँको अलैंची निर्यात भएको छ । मूल्यका आधारमा गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा ९९.५४ प्रतिशतले अलैंची निर्यात बढेको भन्सार विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनमा भारतमा मात्रै अलैंची निर्यात भएको छ । गत आर्थिक वर्षको साउनमा १६ करोड १२ लाख ५२ हजार रुपैयाँको अलैंची निर्यात भएको थियो ।

गत आर्थिक वर्ष साउनमा ८७ हजार ९ सय किलो अलैंची निर्यात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा २ लख १६ हजार १५० किलो अलैंची निर्यात भएको विभागका तथ्यांक छ । 

विभागका अनुसार गत आर्थिक वर्षभर ७ अर्ब ६८ करोड ३७ लाख रुपैयाँको अलैंची निर्यात भएको थियो । २०८०/०८१ मा ७ अर्ब ९३ करोड ९ लाख ८ हजार मूल्य बराबरको अलैँची भारत निर्यात भएको थियो ।

अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको नेपाली अलैंची व्यवसायी महासंघले जनाएको छ । मुलुकमा उत्पादन भएको अलैंचीमध्ये २ प्रतिशत मात्रै आन्तरिक खपत हुने व्यवसायी बताउँछन् । बाँकी अलैंची निर्यात हुने गरेको छ ।

कान्तिपुर

Link copied successfully