वार्षिक ६१ दशमलव ३१९ गीगावाटघण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
What you should know
काठमाडौँ — सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक लिमिटेडले नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत् आयोजनाले औपचारिक रुपमा व्यावसायिक उत्पादन सुरु गरेको छ ।
कम्पनीका अनुसार आयोजनाले २०८२ असार १८ मा निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक्षण सञ्चालन सकेको थियो । परीक्षण चरण सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाले २०८२ साउन १२ देखि नियमित रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति गर्दै आयोजनाको व्यापारिक उत्पादन सुरु थालेको हो ।
सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक लिमिटेड उर्जाको विकास र सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो । यस कम्पनीमा अपी पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी छ । आयोजनाले ३ चैत २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो ।
ऊर्जा मन्त्रालयबाट आवश्यक वातावरणीय प्रारम्भिक अध्ययन २०८१ असोज ८ मा स्वीकृत भएको थियो । ऊर्जा मन्त्रालयको विद्युत् विकास विभागबाट २०७२ असोज २२ मा उत्पादन इजाजतपत्र प्राप्त भएको थियो । परियोजनाको इन्टेक करिब १५०० मिटर र पावरहाउस १२८२ मिटरको उचाइमा छ । पावरहाउसमा जडान गरिएका दुईवटा पेल्टन टर्बाइन युनिटहरू (प्रत्येक ५.५ मेगावाट) बाट कुल ११ मेगावाट उत्पादन हुनेगरी आयोजना डिजाइन गरिएको छ ।
डाइभर्सन बाँध र सहायक संरचना १०० वर्षको पुनरावृत्तिमा हुने बाढीलाई समेत ध्यानमा राखी डिजाइन गरिएको हो । जसको परिमाण २४७ घनमिटर प्रतिसेकेन्ड अनुमान गरिएको छ ।
नुवाकोटको समुन्द्रटार सवस्टेशनमा स्विचयार्डमार्फत जोडिएको आयोजनाबाट उत्पादित बिजुली ६ किलोमिटर लामो ३३ केभी ट्रान्समिसन लाइनमार्फत राष्ट्रिय ग्रिडमा आपूर्ति हुन थालेको छ । वार्षिक ६१ दशमलव ३१९ गीगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यसमध्ये ५० दशमलव ८९३ गीगावाट घण्टा वर्षायाममा र १० दशमलव ४२५ गीगावाट घण्टा सुख्खा मौसमी अवधिमा उत्पादन हुने अनुमान गरिएको छ ।
