प्राधिकरण अध्यक्षका लागि आवेदन खुल्यो, म्याद सात दिन 

सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि आवेदन मागेको छ ।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

Application for Authority Chairman is open, deadline is seven days

काठमाडौँ — राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले आवेदन आह्वान गरेको हो ।

बिमा, मौद्रिक, बैकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्तिले प्राधिकरणको अध्यक्षमा आवेदन दिन सक्नेछ ।

अध्यक्षका लागि ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनु पर्ने व्यवस्था छ । उल्लिखित योग्यता पुगेका व्यक्तिले सात हजार पाँच सय दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

सरकारले गत सोमबार अधिकारीको संयोजकत्वमा अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । समिति सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल छन् ।

प्राधिकरण निवर्तमान अध्यक्षमा शरद ओझाले नियुक्ति हुँदा पेस गरेका कागजात छानबिन समितिले शङ्कास्पद रहेको भन्दै यही भदौ २ मा सरकारले उनलाई बर्खास्त गरेको थियो । यसरी खालि रहेको पदमा अध्यक्ष नियुक्तिका लागि सरकारले प्रक्रिया थालेको हो । 

बिमा ऐनको व्यवस्थाअनुसार प्राधिकरणको अध्यक्षको जिम्मेवारी सेवन्तक पोखरेललाई दिइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully