कृष्णनगरबाट मात्रै बर्सेनि १ अर्ब बढीको प्लाइउड भारत निर्यात

गुणस्तरीय प्लाइउड निर्यातले नेपाली व्यवसायीलाई फाइदा, भारतमा माग बढ्दो।

भाद्र १४, २०८२

मनोज पौडेल

Annual export of plywood to India worth more than 1 billion from Krishnanagar alone

What you should know

कपिलवस्तु — कृष्णनगर नाका हुँदै १ अर्ब बढीको प्लाइउड भारत निर्यात भएको छ । ७५ करोड बढीको तयारी सिमेन्ट पनि गत आर्थिक वर्षमा यही नाका भएर भारत निर्यात भएको हो । मुलुकका १० ठूला भन्सार नाकामा पर्ने कृष्णनगर नाका हुँदै प्लाइउड, खोटो रोजिन र तारपिन तेलको निर्यात पनि बढेको छ ।

गत आव ०८१/८२ मा १ अर्ब १४ करोड ८७ हजार मूल्य बराबरका १६ लाख ९४ हजार क्युबिक मिटर प्लाइउड भारत निर्यात भएको हो । त्यस्तै अघिल्लो आव ०८०/८१ मा १ अर्ब ४८ करोड ४५ लाख बराबरको १५ लाख ८६ क्युबिक मिटर प्लाइउड भारत निर्यात भएको कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत लेखनाथ भट्टराईले बताए ।

अघिल्लो आवभन्दा गत आवमा निर्यात परिमाण बढे पनि मूल्य भने थोरै घटेको छ । रोग किरा नलागेको र गुणस्तरीय रहेको प्रमाणपत्र प्राप्त फाइटो सेनेटरी सर्टिफिकेट प्राप्त प्लाइउड भारत निर्यात हुने गर्छ । भारत निर्यात हुनका लागि भारत सरकारको उद्योग मन्त्रालयबाट जारी हुने बीएसआई (ब्रिटिस स्ट्यान्डर्ड इन्सिच्युसन) लिनु पर्छ । यहाँ प्लाइउड उद्योगसँग बीएसआई नहुँदा जिल्लामै रहेको अर्को गणपति रोजिन एन्ड टर्पेन्टाइन उद्योगसँग रहेको बीएसआईमार्फत प्लाइउड निर्यात गरिरहेका छन् । 

प्लाइउड र भनियर सिट दुवै कच्चा पदार्थ हुन् । यो पातलो काठको वस्तुलाई प्रविधिको सहयोगमा टाँसेपछि बल्ल प्लाइउड बन्छ । नेपालमा उत्पादित प्लाई गुणस्तरीय हुँदा भारतमा माग बढ्दो रहेको व्यवसायीहरू बताउँछन् ।

त्यस्तै गत आवमा दाङमा रहेका सम्राट सिमेन्ट र घोराही सिमेन्ट उद्योगले ७५ करोड १ लाख बराबरको ३ सय ७७ टन सिमेन्ट भारत निर्यात गरेका थिए । अघिल्लो आवमा ३० करोड ३८ लाख बराबरको ५ सय ९६ टन सिमेन्ट निर्यात गरेका थिए । गत आवमा दाङमा रहेको सम्राट सिमेन्ट उद्योगको सिमेन्ट भारतको ठूलो अडानी ग्रुपले खरिद गरिरहेको छ ।

भारतमा सिमेन्टको मूल्य प्रतिबोरा ४ सय ५० भारतीय रुपैयाँ रहेको छ । नेपालबाट लैजाँदा भने एक बोरामा ८० देखि सय रुपैया कम मूल्य पर्छ । सिमेन्टका लागि पनि बीएसआई चाहिन्छ । उद्योगबाट नेपाली ट्रकले सीमाको भन्सार नाकासम्म ल्याएर भन्सार यार्डमा भारतीय ट्रकमा पल्टी गरेर भारत लैजाने गरिएको भन्सार अधिकृत लेखनाथ भट्टराईले बताए । सिमेन्टबाट पनि मुलुकले विदेशी मुद्रा आर्जन गरिरहेको उनले बताए । 

त्यस्तै गत आवमा २२ करोड ५४ लाख बराबरको १ हजार ५ सय ५७ टन खोटो रोजिन भारत निर्यात भएको थियो । अघिल्लो आवमा १७ करोड २५ लाख बराबरको १ हजार ३ सय ३७ टन रोजिन भारत निर्यात भएको थियो । यी तीन बस्तु कृष्णनगर नाकाबाट निर्यात हुने प्रमुख सामग्री हुन् । 

काठको पत्ता (भेनियर)बाट तयार पारिने प्लाइउड खास गरी फर्निचर, कोठाको पार्टेसन, सजावटका सामग्री र झ्यालढोका बनाउन प्रयोग गरिन्छ । यो नरम प्रजातिका र छिटो वृद्धि हुने कुकाठ, उत्तिस, कदम, आँपलगायतका प्रजातिका बाठबाट उत्पादन गरिन्छ । यहाँ उत्पादित प्लाइउड भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैंग्लोर र उत्तर प्रदेशलगायतका ठाउँमा धेरै खपत हुने गरेको छ । जिल्लाका चन्द्रौटा–कृष्णनगर सडक खण्डमा ७/८ वटा प्लाइ उद्योग छन् । 

‘भेनियर/प्लाइउडको निकासी बढिरहेको छ,’ कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत फणीन्द्र खतिवडाले भने, ‘प्लाइउडको निकासी बढ्दा नेपाली अर्थतन्त्रको विकासमा पनि टेवा पुगेको छ ।’ दुई वर्षयता बर्सेनि एक अर्ब बढीको प्लाइउड निकासी भएको छ ।

कुनै समय भारतबाट पैठारी हुन्थ्यो प्लाइउड । तर, एक दशकयता नेपाली व्यवसायीले स्वदेशमै उद्योग स्थापना गरेपछि भारतबाट पैठारी हुने क्रम रोकिएर भारततिर निर्यात हुन थालेको वन पैदावार व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रुकबहादुर भुसालले बताए । ‘काठमा आधारित वस्तुको माग भारतमा बढ्दो थियो,’ भुसालले भने, ‘अहिले प्लाइउडले विदेशी मुद्रा आर्जन गरिरहेको छ ।’

त्यस्तै गत आवमा १३ करोड ९८ लाख मूल्य बराबरका २५ हजार ९० टन सिमेन्ट बनाउने कच्चा पदार्थ क्लिंकर र ५ करोड २३ लाख मूल्य बराबरको २ लाख ७४ हजार लिटर तारपिनको तेल निर्यात भएको छ । ३ करोड ८७ लाख बराबरको २ हजार ६ सय लिटर जडीबुटी तेल र २ करोड १२ लाख बराबरको १६ हजार ६ सय ७५ थान काठका झ्याल ढोका निर्यात भएका छन् । ८४ लाख मूल्य बराबरको १ लाख १५ हजार किलो जडीबुटी गत आवमा भारत निर्यात भएको थियो । 

गएको दुई वर्षमा १ अर्ब ९७ करोड ६३ लाख २२ हजार मूल्य बराबरको बियर बनाउने कच्चा पदार्थ माल्ट (फरमेन्टेड जौ) आयात भएको छ । त्यस्तै दुई वर्षमै १ अर्ब ८७ करोड ४ लाख ८८ हजारको बियरको सिसाको बोतल आयात भएको छ । 

बर्सेनि बियरका लागि जौ आयात बढ्दै गएर कृष्णनगर नाका हुँदै आयात हुने र राजस्व संकलन हुने मालबस्तुमा यो चौथो नम्बरमा रहेको कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत भट्टराईले बताए । त्यस्तै बोतल पाँचौं नम्बर बढी आयत हुने र राजस्व संकलन हुने मालबस्तु रहेको उनले बताए । यसले आयात निर्यातको राम्रो ट्रेड व्यापारको हव बन्दै गएको उनले बताए । 

यहाँ भन्सार कार्यालयमा पनि अन्यत्र जस्तो भीड नभई लामो समय कुर्नु नपर्ने र भारतका विभिन्न ठाउँमा आवतजावत गर्न पनि सहज सडक संजाल भएकाले यहाँबाट १० बढी प्रकारका सामग्री भारत निर्यात भइरहेको कृष्णनगर उद्योग वाणिय संघका अध्यक्ष रितेश शर्माले बताए । 

कृष्णनगर भारतको राष्ट्रिय रेल नेटवर्कसँग जोडिएको छ । त्यस्तै भारतका प्रमुख सहरमा यहाँबाट भाडाका बस, जिप र भ्यान दैनिक आवतजावत गर्छन् । मध्य नेपालको भारतसँग राम्रो यातायातको सम्पर्क जोडिएको केन्द्रका रूपमा पनि यो नाका रहेको छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully