पहिलो पटक अपी हिमाल आरोहण, पर्यटनमन्त्रीद्वारा १५ सदस्यीय टोलीलाई बिदाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अपी हिमाल आरोहण टोलीलाई विशेष बिदाइ कार्यक्रममा शुभकामना दिँदै ऐतिहासिक क्षणको उल्लेख गरे।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

Climbing Api Himal for the first time, farewell to 15-member team by tourism minister

काठमाडौँ — सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपी हिमाल पहिलो पटक आरोहण हुने भएको छ। यस अभियानका लागि १५ सदस्यीय आरोही टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको हो।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले आयोजना गरेको विशेष बिदाइ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे। उनले अपी हिमालको पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र गर्वको क्षण भएको उल्लेख गरे।

हालै सरकारले राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालमा दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपी हिमाल आरोहणको मार्ग खुलेको हो।

कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहणलाई नेपाल चिनाउने महत्त्वपूर्ण आधारका रूपमा वर्णन गर्दै शेर्पा र गैर-शेर्पा आरोहीहरूको संयुक्त प्रयासले हिमालारोहणमा नयाँ युगको सुरुआत गर्ने विश्वास व्यक्त गरे।

'यो अभियानले स्थानीय स्तरमा सहकार्य र समन्वयलाई मजबुत बनाउनेछ, साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिनेछ,' मन्त्री पाण्डेले भने।

अपी गाउँपालिकाको संलग्नतासहितको टोलीमा १५ जना आरोही सहभागी छन्। जोखिमपूर्ण भए पनि स्थानीयलाई समेत समेटेर अघि बढाइएको यो पहललाई सुदूरपश्चिम पर्यटन र पर्वतारोहणमा नयाँ अवसरको रूपमा हेरिएको छ ।

कान्तिपुर

Link copied successfully