चोरी पैठारीले अटोमोबाइल्स व्यवसाय प्रभावित : नाडा अध्यक्ष चौधरी

सीमावर्ती जिल्लाका सुरक्षा निकायलगायत कतिपय सरकारी अधिकारी पनि आफ्नो सवारीसाधन मर्मत र पार्टपुर्जा खरिद गर्न भारतीय बजार जाने प्रवृत्ति रहेको पनि उनले बताए ।

भाद्र १३, २०८२

शंकर आचार्य

Automobile business affected by theft: NADA President Chaudhary

What you should know

पर्सा — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सीमा नाकाबाट हुने चोरी पैठारीले अटोमोबाइल्स व्यवसाय प्रभावित भइरहेको बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ मधेश प्रदेशको शुक्रबार वीरगन्जमा सम्पन्न तेस्रो साधारण सभा समारोहलाई सम्बोधन गर्दै चौधरीले तराई मधेशका जिल्लाका सुरक्षा प्रमुखको हातमा आफूहरूको व्यवसायको भविष्य रहेको बताए ।

‘खुल्ला सीमा हाम्रो व्यवसायमा चुनौती भएको छ । चोरी पैठारीले हाम्रो व्यवसाय पनि प्रभावित भइरहेको छ,’ उनले भने ।

सीमावर्ती जिल्लाका सुरक्षा निकायलगायत कतिपय सरकारी अधिकारी पनि आफ्नो सवारीसाधन मर्मत र पार्टपुर्जा खरिद गर्न भारतीय बजार जाने प्रवृत्ति रहेको पनि उनले बताए । अटोमोबाइल व्यवसाय अझै पनि बागमती प्रदेश पछि मधेश प्रदेशमै बढी सफल रहेको उनले बताए । नाडाको आकार ठुलो भइसकेको बताउँदै उनले केही वर्षयता नाडाले अन्तर्राष्ट्रिय छवि पनि निर्माण गरिसकेको दाबी गरे ।

समारोहलाई सम्बोधन गर्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नेपालको राजस्वमा सर्वाधिक योगदान अटोमोबाइल्स क्षेत्र रहेको र नेपालमा सबै प्रतिष्ठित घरानाको यो क्षेत्रमा आबद्धताले यसको महत्त्व झल्किने बताए । अटोमोबाइल्स क्षेत्रको विकास नभई मुलुकको अर्थतन्त्र नचल्ने पनि उनले बताए । नाडा मधेश प्रदेशका नवनिर्वाचित अध्यक्ष राहुल अग्रवालले आफू नेतृत्वको समितिले मधेश प्रदेशको पूर्वाधार यातायात प्रणालीमा सुधारका लागि सरकारी निकायसँग सहकार्य गर्ने बताए । उनले मधेशका राजमार्ग तथा सहायक मार्गहरूमा चार्जिङ स्टेशन निर्माण, सडक सुरक्षा चेतना वृद्धि, वृक्षारोपण जस्ता कार्यमा पनि योगदान गर्ने प्रतिबद्धता जनाए । मधेशका ८ जिल्लामै नाडाको संरचना स्थापना गर्ने योजना सुनाउँदै उनले स्थानीय स्तरमा अटोमोबाइल व्यवसायमा रहेका समस्यालाई समितिले सम्बोधन गर्ने बताए । 

समारोहमा अग्रवाल नेतृत्वको नयाँ कार्यसमितिले शपथ पनि लिएको थियो । अग्रवाल नेतृत्वको नाडा मधेश प्रदेशको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष विवेक बेरिवाल, द्वितीय उपाध्यक्ष सन्तोष जैसवाल, तृतीय उपाध्यक्ष विकास ठाकुर र चौथो उपाध्यक्ष किशोर भट्टराई रहेका छन् । सचिवमा अभिषेक चौधरी, सहसचिव मुरारी कुमार रौनियार, कोषाध्यक्ष दीपेन्द्र खेतान र सहकोषाध्यक्ष वीरेन्द्रकुमार रौनियार रहेका छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully