बिहीबार २७ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको घट्यो, समग्र नेप्से ३८ अंकले गिरावट आएको छ।
What you should know
काठमाडौँ — गत सोमबार २१, मंगलबार ४ र बुधबार ५३ अंकले बढेको नेप्से साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार ३८.१० अंकले घटेको छ । अघिल्लो दिनको तुलनाका १.३५ अंकले घटेपछि समग्र नेप्से २ हजार ७ सय ८१ बिन्दुमा आएको छ ।
बिहीबार कारोबारमा आएकामध्ये २४ कम्पनीको सेयर मूल्य बढ्दा २ सय २७ वटाको घट्यो । यसरी सेयर मूल्य बढ्ने कम्पनीको तुलनामा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्सेमा ३८ अंकको गिरावट भएको हो । यही साता राष्ट्र बैंकले जारी गरेको निर्देशनले लघुवित्त वित्तीय संस्थाको सेयर लाभांश विवरणमा केही सहज व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थाको नाफा वृद्धि हुने र उनीहरूको लाभांश वितरण क्षमता बढ्न खालको निर्देशन जारी गरेको छ । यही नीतिगत व्यवस्थामा भएको परिवर्तनलाई कारण देखाउँदै गएको तीन दिन लगातार नेप्से बढेको थियो । अघिल्ला दिनमा नेप्सेको वृद्धिदर सामान्य रहे पनि गत बुधबार ५३ अंकले बजार बढेको थियो ।
सो दिन ७८ हजार ३ सय ७९ पटकको कारोबारमा १ करोड ७८ लाख ९१ हजार ९ सय १७ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सामूहिक लगानी कोष र निर्जीवन बिमा कम्पनीबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले घटेको हो । बिहीबार विकास बैंक उपसमूहको परिसूचक २.३८, वित्त कम्पनीको १.९७, होटल तथा पर्यटनको १.६०, जलविद्युत्को १.४४, लगानी १.५८, जीवन बिमाको १.६५, उत्पादन तथा प्रशोधनको १.७०, लघुवित्तको १.४०, अन्यको १.७०, व्यापारको १.२६ र बैंकिङ उपसमूहको परिसूचक ०.८७ प्रतिशतले घटे । यस दिन सामूहिक लगानी कोष उपसमूहको परिसूचक ०.१० र निर्जीवन बिमा उपसमूहको परिसूचक ०.०१ प्रतिशतले सकारात्मक रहे ।
नेप्से परिसूचक घटेपछि एकै दिन सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि करिब ६३ अर्बले घटेको छ । बुधबार ४७ खर्ब १० अर्ब रुपैयाँ कायम रहेको कुल बजार पुँजीकरण बिहीबार घटेर ४६ खर्ब ४७ अर्ब कायम भएको नेप्सेले जनाएको छ ।
