उद्योग दर्ता हुने क्रम घटेको अवस्थामा खारेजी हुने उद्योगको संख्यामा पनि वृद्धि भएको छ ।
What you should know
डडेलधुरा — पछिल्ला वर्ष डडेलधुरामा घरेलु तथा साना उद्योग दर्ता गर्ने संख्या घट्दै गएको छ । उद्योग दर्ता कम हुने मात्रै नभई पहिले दर्ता भएका धेरै उद्योग फर्म पनि खारेजीमा जाने क्रम बढ्दो छ । जसका कारण जिल्लामा स्वरोजगार र रोजगारी सिर्जनामा नकारात्मक असर पारिरहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय डडेलधुराको तथ्यांकअनुसार २०७७/७८ मा एक हजार दुई सय ७६ उद्योग दर्ता भएका थिए। त्यसपछिका वर्षमा यो संख्या क्रमशः घट्दै गएको छ। २०७८/७९ मा ९ सय ४१, २०७९/८० मा ५ सय ५, २०८०/८१ मा २ सय ८९ र २०८१/८२ मा जम्मा २ सय ६१ उद्योग मात्र दर्ता भएका छन् ।
उद्योग दर्ता हुने क्रम घटेको अवस्थामा खारेजी हुने उद्योगको संख्यामा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षमा मात्रै ७८ वटा उद्योग खारेजीमा परे । कार्यालय प्रमुख केशव भण्डारीका अनुसार हालसम्म डडेल्धुरामा उद्योगतर्फ ४ हजार ८ सय तीन र वाणिज्यतर्फ २ हजार ७ सय ६२ गरी जम्मा ७ हजार ५ सय ६५ उद्योग तथा फर्म दर्ता भएका छन् । तर, तीमध्ये करिब २० प्रतिशत निष्क्रिय अवस्थामा रहेका छन् ।
कार्यालय प्रमुख भण्डारीका अनुसार स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमलाई उपयोग गरेर घरेलु उद्योग स्थापना गरी स्वरोजगार र रोजगारी सिर्जना गर्न सकिने सम्भावना ठूलो छ । तर दर्ता घट्नु चिन्ताजनक छ ।
कार्यालयले उद्योग प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गरे पनि प्रत्यक्ष परिणाम भने देखिएको छैन । सहुलियत ऋण, तालिम र प्राविधिक सहयोगका कार्यक्रम भए पनि उद्यमशीलता बढाउनुपर्ने स्तरमा पुग्न नसकेको देखिएको छ ।
विशेषगरी वैदेशिक रोजगारीतर्फ युवाहरूको आकर्षण बढ्नु, बजारको अनिश्चितता, पुँजी अभाव र सरकारी नीति–नियममा देखिने झन्झटले उद्योग दर्तामा गिरावट आएको हो ।
डडेलधुराको पहाडी भेगमा कृषिजन्य कच्चा पदार्थ प्रशस्त भए पनि त्यसलाई प्रशोधन गर्ने उद्योगहरू पर्याप्त छैनन् । कृषिजन्य उत्पादनको मूल्य अभावमा किसान हतोत्साहित भइरहेका बेला स्थानीय कच्चा पदार्थमै आधारित उद्योग स्थापना भए रोजगारी र आम्दानी दुवैको समस्या बजारमा छ ।
