महामन्त्री थापाले भने, उखु किसानको समस्या समाधान गर्न सरकारले प्रतिष्ठाको विषय नबनाए आजै समाधान सम्भव छ।
महोत्तरी — कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारले प्रतिष्ठाको विषय नबनाए आन्दोलनमा रहेका उखु किसानको माग तत्कालै सम्बोधन हुने बताएका छन् । कृषि मन्त्रालयले किसानलाई अनुदानबापतको ७० रुपैयाँ उपलब्ध गराउन पहल गरिरहेको महामन्त्री थापाले बताए ।
‘उखु किसानहरूको आन्दोलनलाई प्रधानमन्त्री र सरकारका अर्थमन्त्रीले कुनै प्रतिष्ठाको विषय नबनाउने हो भने आजै समस्याको समाधान हुन्छ । किनकि चालु आर्थिक वर्षमा अनुदानका लागि २ अर्ब बजेट छुट्याइएको छ,’ उनले बताए । उखु कृषकलाई अनुदान उपलब्ध गराउन २ अर्ब छुटयाइएको र केही बजेट थप गरी उखु किसानको समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।
महोत्तरीमा कार्यकर्ता भेटघाटका क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा महामन्त्री थापाले उखु किसानको माग पूरा गरी अन्य समस्याको दीर्घकालीन रूपमा समाधान गर्न सरकारले छलफल गर्नुपर्ने बताए ।
'उखुको उत्पादन बढाउने विषयमा सरकारले पहल गर्न कांग्रेसले सरकारलाई सुझाव दिएको छ,' महामन्त्री थापाले भने, ‘'उखुको मूल्य तोक्न ढिलाइ गर्ने, भुक्तानीमा समस्या हुने, अनुदान नपाउनेलगायत उखु किसानसँग जोडिएको समस्या दीर्घकालीन रूपमा समाधान गर्न उपाय खोज्नु पर्छ ।' अर्को प्रसंगमा महामन्त्री थापाले एमाले र कांग्रेस मिलेर बनेको सरकारमा अप्ठ्यारा रहे पनि सरकार परिवर्तन नहुने बताए ।
