मन्त्री अधिकारीले जनसंख्या वृद्धि र बानीले चामलको माग बढेको र आन्तरिक उत्पादनले धान्न नसकेको बताए।
What you should know
काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाई खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
धानसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था ‘इरी’ का एसिया निर्देशक डा. जोङ्ग सूसँग बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल विगतमा धान–चामलमा आत्मनिर्भर रहे पनि जनसंख्या वृद्धि र भात खाने बानीका कारण चामलको माग बढ्दै गएकाले पछिल्ला वर्षहरूमा आन्तरिक उत्पादनले माग नधानेपछि ठूलो धनराशि खर्च गरेर धान–चामल आयात गर्नुपरेको उल्लेख गरे। उनले उत्पादकत्व बढाउने र बढ्दो लागत घटाउनेतर्फ मन्त्रालयले काम गरिरहेको बताए।
सरकारले मल, बीउ, प्रविधि, यान्त्रिकीकरण, भण्डारण सुविधा, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन, धान–चामल उद्योगसँग सहकार्य गर्नेलगायत सक्दो प्रयास गरिरहेको पनि मन्त्री अधिकारीले बताए। उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण धान उत्पादनमा प्रत्यक्ष असर पर्न थालेकाले बढी उत्पादन दिने जलवायु अनुकूल धानका जातहरूको विकासमा इरीले महत्त्वपूर्ण योगदान गरेकोप्रति प्रशंसा व्यक्त गरे।
मन्त्री अधिकारीले भने, 'हामीलाई इरीको थप साथ र सहयोग आवश्यक छ। यसका लागि विगतदेखि नै विभिन्न प्रयास र पहल गर्दै आएका छौं। कुनै प्रोजेक्ट नहुँदा पनि धान अनुसन्धान र विकासमा इरीको विशेषज्ञता र क्षमतालाई उपयोग गर्न सरकारले फन्ड व्यवस्थापन गर्ने दिशामा लागेको छ।'
भेटका क्रममा इरीका एसिया निर्देशक जोङ्ग सूले नेपाल सरकारबाट प्राप्त सहकार्यका लागि आभार व्यक्त गर्दै आगामी दिनमा इरीसँगको सहकार्यमा थप वृद्धि हुने अपेक्षा व्यक्त गरे। भेटमा इरीका नेपाल प्रतिनिधि डा. हुमनाथ भण्डारीसहित मन्त्रालयका अधिकारीहरू पनि सहभागी थिए।
