सिजनमै सुरुमै अलैंचीको लोभलाग्दो मूल्यले खुसी छन् किसान

यो वर्ष पहिलो सिजनमै प्रतिमन ९० हजार रुपैयाँ (प्रतिकिलो २ हजार २५०) मा अलैंची किनबेच हुन थालेको छ ।

भाद्र १२, २०८२

लक्ष्मी गौतम

Farmers are happy with the attractive price of cardamom at the beginning of the season

What you should know

पाँचथर — सिजनको सुरुवातमै आकर्षक मूल्य पाँउदा अलैंची किसान उत्साहित भएका छन् । यो वर्ष पहिलो सिजनमै प्रतिमन ९० हजार रुपैयाँ (प्रतिकिलो २ हजार २५०) मा किनबेच हुन थालेको हो ।

कोशी प्रदेशका पहाडी जिल्लाका किसानको मुख्य नगदे बाली अलैंची बिहीबार पाँचथरको सदरमुकाम फिदिममा क श्रेणीको प्रतिमन ९० हजार, ख श्रेणीको ८९ हजार र ग श्रेणीको ८८ हजारका दरले किनबेच भइरहेको व्यवसायी खेम अधिकारीले जानकारी दिए । उनका अनुसार झापाको विर्तामोडमा बिहीबार अलैंची क श्रेणी ९१, ख श्रेणी ९० र ग श्रेणीको ८९ हजारमा किनबेच भइरहेको छ ।

विगत वर्षमा किसानले बेचिसकेपछि मात्रै मूल्य बढ्ने गरेकामा यो वर्ष सिजनको सुरुदेखि नै आशाजनक रुपमा भाउ बढ्न थालेको हो । गत वर्ष अलैंचीले सुरुवाती सिजनमा ८० हजार रुपैयाँ मूल्य पाएको थियो भने १ लाख ७ हजारमा पुगेर टुंगिएको थियो ।

‘अन्तर्राष्ट्रिय बजारमा माग राम्रो हुनु, उत्पादन कम हुनु अलैंचीको मुल्य बढ्ने सूचक हुन, विगतका वर्षमा फागुन चैतदेखि मात्रै अलैंचीको मूल्य बढ्ने गरेकामा यो वर्ष सुरु सिजनमै बढ्न थालेकाले किसानले नै प्रतिफल पाएका छन्,’ व्यवसायी अधिकारीले भने ।

यसअघि २०७५ सालमा एक लाख ५ हजार रुपैयाँ प्रतिमन बिक्री भएको थियो भने २०६७ सालमा एक लाख २० हजार पुगेको अलैंची व्यवसायी संघले जनाएको छ ।

साउनबाट उत्पादन सुरु हुने अलैंची मंसिरको पहिलो साता टिपेर प्रशोधनपश्चात् बिक्री गरिन्छ । पहाडका किसानको मुख्य आम्दानीको स्रोत अलैंचीलाई रैथाने भाषामा खोल्साको सुन भन्ने गरिएको छ ।

यो वर्ष राम्रो मूल्य आएकाले पुस मसान्तभित्र रेकर्ड कायम गर्ने आशा बढेको अलैंची किसान राजेन्द्र भट्टराई बताउँछन् । 'अघिल्ला वर्षहरुमा माघपछि मात्रै अलैंचीको मूल्य बढ्न थाल्थ्यो, यो वर्ष सिजनको सुरुवातमै ८० हजार कायम भएकाले सिजनको अन्तिमसम्म एक लाख ३० हजार पुग्ने आशा जागेको छ,’ उनले भने ।

नेपालका ४२ वटा पहाडी जिल्लामा अलैंची उत्पादन हुन्छ । कोशी प्रदेशका १४ जिल्लामध्ये पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुमका किसानको प्रमुख नगदे बाली अलैंची नै हो ।

यस भेगमा उत्पादन भएको अलैंची झापाको काँकडभिट्टा नाका भएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्छ । मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म ३२ करोड १७ लाख ६१ हजार बराबरको अलैंची निर्यात भएको छ । गत एक महिनाको अवधिमा २१६ दशमलव १५ मेट्रिक टन अलौची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार नेपालमा अलैंची उत्पादनको वार्षिक क्षमता ५ हजार मेट्रिक टनदेखि १० हजार मेट्रिक टनसम्म छ । हाल नेपालभर अलौची खेती विस्तार भए पनि सबैभन्दा धेरै कोशी प्रदेशमा उत्पादन हुन्छ ।

नेपालमा उत्पादन हुने कुल अलैंचीको ८० प्रतिशत कोशीमा उत्पादन हुन्छ । ताप्लेजुङ र संखुवासभा सबैभन्दा धेरै अलैंची उत्पादन हुने जिल्ला हुन्, जहाँ प्रदेशको कुल उत्पादनमध्ये ४० प्रतिशत उत्पादन हुने गरेको तथ्याङ्क छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully