खडेरीपछि ढिलो रोपिएको धानमा रोगको प्रकोप

धानको पत्ता डढ्ने, पत्तामा गोलो धब्बा देखिने र धब्बा फैलिएर बोट नै मर्नेसम्मको अवस्था देखिएपछि किसान चिन्तित छन् ।

भाद्र १२, २०८२

नवराज सुवेदी

Disease outbreaks in late planted rice after drought

What you should know

झापा — लामो समयको खडेरीका कारण यसपालि ढिलो गरी धान रोपाइँ सुरु भयो । खडेरीका कारण प्रभावित भई ढिला गरी रोपिएको धान बालीमा अहिले विभिन्न रोगको आक्रमण सुरु भएको छ ।

धान बालीमा ढुसीका कारण देखिने र विभिन्न ब्याक्टेरियाका कारण रोग देखिएको अधिकारीहरुले बताएका छन् । जिल्लाको मेचीनगर नगरपालिका–१ को एक गाउँमा ढुसीका कारण देखिएको मरुवा, खैरो थोप्ले रोगले ठूलो क्षति पुर्‍याएको नगरको कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले बताए । उनका अनुसार गाडागल्ली क्षेत्रमा देखिएको यस रोगका कारण धानको पत्ता डढ्ने, पत्तामा गोलो धब्बा देखिने र धब्बा फैलिएर बोट नै मर्नेसम्मको क्षति भएको थियो । यसपछि मेचीनगर–१५ को एक गाउामा ब्याक्टेरियाका कारण देखिने रोग देखियो । जसका कारण यहाँ पनि धानको पत्ता डढ्ने क्रम देखिइरहेको छ ।

‘धान बालीमा रोगको आक्रमण देखिने क्रम सुरु भइसकेको छ । जुन अझै बढ्दै जानेछ । अहिले धान कलिलै छ, धान रोपेको ४०–४५ दिनपछि यस प्रकारका रोगको आक्रमण अझै बढ्दै जान्छ,’ कृषि शाखा प्रमुख प्रधान भन्छन् ।

रोग नियन्त्रणका लागि कृषि सम्बद्ध निकायहरुबाट सिफारिस गरिएका विषादी प्रयोग गर्न उनले सुझाए । धान गोड्ने चरणमा पुगेपछि बालीमा विभिन्न रोगको आक्रमण शुरु हुने हुादा सिफारिस गरिएको विषादीहरु मात्रा अनुसार प्रयोग गर्ने, सूक्ष्म जीवाणु मल, जैविक मल प्रयोग गर्ने जस्ता कार्यले रोग नियन्त्रण हुने उनको भनाइ छ ।

धान बालीमा यस प्रकारका रोगको संक्रमण जिल्लाभर नै फाट्टफुट्ट रुपमा देखिइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । ‘यी सिजनल रोग पनि हुन्, जुन बर्सेनि देखिन्छ,’ उनले भने । यस्ता रोग नियन्त्रणबारे किसान आफै पनि जानकार छन् । यद्यपि कृषि ज्ञान केन्द्रले रोग नियन्त्रणबारे निरन्तर सहकार्य गरिरहेको उनको भनाइ छ ।

नवराज

Link copied successfully