साउनमा साढे ४४ अर्ब सार्वजनिक ऋण संकलन, साढे ३६ अर्ब भुक्तानी

सार्वजनिक ऋण २६ खर्ब ८३ अर्ब ६० करोड पुग्यो, महिनामै थपियो १४ अर्ब २ करोड, यो जीडीपीको ४३.९४ प्रतिशत हो।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

44.5 billion public debt collection in July, 36.5 billion payment

What you should know

काठमाडौँ — गत साउन मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.९४ प्रतिशत हो । गत असार मसान्तको तुलनामा यो १४ अर्ब २ करोड रुपैयाँ बढी हो । गत असारमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ थियो । 

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले ४४ अर्ब ५७ करोड रुपैयाँ सार्वजनिक ऋण संकलन गरेको छ । यस अवधिमा संकलित सार्वजनिक ऋण वार्षिक लक्ष्यको ७.४८ प्रतिशत हो ।

उक्त अवधिमा आन्तरिक ऋणको प्राप्ति ४० अर्ब (वार्षिक लक्ष्यको ११.०५ प्रतिशत) र बाह्य ऋण ४ अर्ब ५७ करोड (वार्षिक लक्ष्यको १.९६ प्रतिशत) छ । यस वर्ष सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तोकेको छ । आन्तरिक ऋणको प्राप्ति राम्रो भए पनि बाह्यको निकै कम रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनले देखाएको छ ।

गत साउनमा सरकारले ऋणको साँवा–ब्याज भुक्तानीका लागि ३६ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी गरेको छ । यो वार्षिक लक्ष्यको ८.९३ प्रतिशत हो । यसमध्ये आन्तरिक ऋणको साँवा तथा ब्याजका लागि ३२ अर्ब २३ करोड (९.३८ प्रतिशत) र बाह्य ऋणको साँवा तथा ब्याजका लागि ४ अर्ब ४४ करोड (६.५९ प्रतिशत) खर्च भएको कार्यालयको तथ्यांक छ । सो अवधिमा सरकारले ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ । 

यसअघिका महिनामा अमेरिकी डलरलगायत विदेशी मुद्राको भाउ बढेका कारण नेपालले तिर्न बाँकी सार्वजनिक ऋणमा अतिरिक्त भार थपिँदै आएको थियो । तर गत साउनमा भने त्यो अवस्था छैन । विदेशी मुद्राको विनिमय दरमा उतारचढाव नआएकाले नत नाफा नत नोक्सान नै भएको छ । 

डलरको विनिमय दर घट्दा नेपाललाई लाभ हुन्छ भने बढ्दा हानि । २०८१ असारदेखि गत असारसम्म नेपाली मुद्रा कमजोर भएकै कारण तिर्न बाँकी सार्वजनिक ऋणमा थप ६६ अर्ब ९३ करोड अतिरिक्त भार थपिएको थियो ।44.5 billion public debt collection in July, 36.5 billion payment

उक्त अवधिमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.९७ प्रतिशतले अवमूल्यन भएको थियो । यस्तै, २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा प्रायः विदेशी मुद्रासँग नेरु अवमूल्यन भएका कारण ५९ अर्ब १६ करोड रुपैयाँ बराबरको विदेशी विनिमय नोक्सानी भएको थियो । विनियम दर परिवर्तनका कारण पछिल्ला ७ आर्थिक वर्षमध्ये ४ वटामा घाटा रहेको छ भने बाँकी वर्षमा नाफामा छ । 

गत साउनसम्मको कुल तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.९४ प्रतिशत हो । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा जीडीपी ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । गत साउनसम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत छ । 

गत आर्थिक वर्षको अन्त्यसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ९२ हजार रुपैयाँ बराबर पर्न आउँछ  । राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यो जनसंख्याले गत असारसम्मको तिर्न बाँकी सार्वजनिक ऋणलाई भाग गरेर उक्त तथ्यांक निकालिएको हो ।

निरन्तर बढ्दो सार्वजनिक ऋणले जोखिम निम्त्याउने अर्थविद् बताउँछन् । आर्थिक वर्ष २०८०/८१ देखि गत वर्षसम्म वित्तीय व्यवस्थापन शीर्षकको विनियोजनले पुँजीगत खर्चको आकारलाई उछिनेको छ । यो आन्तरिक र बाह्य ऋणमा निरन्तर वृद्धिको उपज भएको उनीहरूको भनाइ छ ।

बढ्दो ऋण चुक्ता दायित्वसँगै पुँजीगत खर्चको स्तर र वित्तीय व्यवस्थाका लागि विनियोजित बजेटबीचको अन्तर फराकिलो हुँदै जाँदा भविष्यमा सरकारको लगानी गर्न सक्ने सामर्थ्यमा संकुचन ल्याउने जोखिम हुन्छ । परिणाम वित्तीय असन्तुलनको खतरा पनि उत्तिकै रहेको अर्थविद्को भनाइ छ । यद्यपि चालु आर्थिक वर्षमा भने सरकारले वित्तीय व्यवस्थापन शीर्षकमा विनियोजन गरेको बजेटभन्दा पुँजीगत खर्चमा छुट्याइएको रकम धेरै छ ।

कान्तिपुर संवाददाता

Link copied successfully