सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने- कम्पनीले सामाजिक सञ्जालसम्बन्धी नेपालको नीतिनियम पालना गर्ने प्रतिबद्धता जनाएको छ, दर्ताबारे यही साताभित्र निर्णय हुन्छ।
What you should know
काठमाडौँ — अनलाइन ठगी र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) जस्ता गतिविधिमा प्रयोग भएको भन्दै सरकारले गत महिना प्रतिबन्ध लगाएको म्यासेजिङ एप टेलिग्राम अहिले दर्ता प्रक्रियामा आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा टेलिग्रामले सूचीकरण (दर्ता) का लागि औपचारिक निवेदन दिएको छ । यसै साताभित्र यसमा समीक्षा गरिने मन्त्रालयले जनाएको छ ।
गत २ साउनमा यस एपमाथि प्रतिबन्ध लगाइएको थियो । दूरसञ्चार तथा इन्टरनेट क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्रामको पहुँचमा रोक लगाउन निर्देशन दिएको थियो । टेलिग्रामले नेपालमा दर्ता हुन आवश्यक कागजातसहित निवेदन दिएको सञ्चार मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।
सरकारले एपमाथि प्रतिबन्ध लगाएपछि टेलिग्रामका प्रतिनिधि सन्दीप यादव नेपाल आएका थिए । कम्पनीले सामाजिक सञ्जालसम्बन्धी नेपालको नीतिनियम पालना गर्ने प्रतिबद्धता जनाएको ठाकुरले बताए । ‘कुनै एपलाई सधैंलाई बन्द गर्ने हाम्रो उद्देश्य होइन,’ उनले भने, ‘कुनै एपसँग हाम्रो दुस्मनी छैन । उहाँहरू नेपालको सर्त मान्छु भनेर दर्ता प्रक्रियामा आउनुभएको छ । त्यसबारे यही साताभित्र निर्णय हुन्छ । तीज नपरेको भए, हिजोआज नै टुंगो लागिसक्थ्यो ।’ प्राधिकरणले प्रतिबन्धबारे सूचना निकालेपछि टेलिग्राम दर्ता प्रक्रियामा आएको हो ।
नेपालमा टेलिग्राम प्रयोग गर्नेको संख्या ११ लाख छ । पछिल्लो समय यसमा अनलाइन ठगीको संख्या बढिरहेको र प्रशस्तै उजुरी आउने नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । ‘यो एप प्रायः अनलाइनमार्फत लगानी गरे पैसा बढ्छ भन्ने खालका ठगीका विषयमा सर्वसाधारणसँग कुराकानी गर्न प्रयोग भएको पाइएको छ,’ उनले भने, ‘यो एपमा फोन नम्बर लुकाउन मिल्ने भएकाले ठगी गर्नेहरूले त्यसको फाइदा उठाउने गरेका छन् । प्रहरीलाई अपराधी पहिचानमा समेत कठिनाइ हुन्छ ।’
नेपालमा टेलिग्राममाथि प्रतिबन्ध लगाइएको विषयमा डिजिटल अधिकार र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा वकालत गर्ने २७ संस्थाले संयुक्त रूपमा आपत्ति प्रकट गरेका थिए । यसमा डिजिटल राइट्स नेपाल, युवालय, फ्रिडम फोरम, डिग्निटी इनिसिएटिभ, मिडिया एक्सन नेपाल, सेन्टर फर मिडिया रिसर्च–नेपाल, चालयल्ड सेफ नेट, अनलाइन टीभी पत्रकार संघ नेपाल, विमेन लिडर्स इन टेक्नोलोजी, मेरो अड्डा, मिडिया कुराकानी, एड्भोकेसी फोरम नेपाल, एम्नेस्टी इन्टरनेसनल नेपाल, भ्वाइसेस अफ विमेन मिडिया र नेपाल इन्टरनेट फाउन्डेसन थिए ।
उनीहरूका अनुसार यस्तो प्रतिबन्धले नेपालमा बढ्दै गएको डिजिटल अर्थतन्त्र, साना उद्यम र प्रविधिमा आधारित सेवा प्रवाहमा प्रत्यक्ष असर पार्नेछ । साथै, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको गम्भीर उल्लंघन हुने भन्दै उनीहरूले यसमा गहिरो असन्तुष्टि व्यक्त गरेका थिए ।
टेलिग्रामसँगै ग्लोबल भ्यु एपले पनि सूचीकृत हुन निवेदन पठाएको छ । दर्ता प्रक्रियामा आएका यी एपबारे मन्त्रालयमा रहेको सामाजिक सञ्जाल व्यवस्थापन इकाईले शुक्रबारसम्ममा निर्णय गर्ने मन्त्रालयले जनाएको छ । हाल नेपालमा पाँचवटा सामाजिक सञ्जाल प्लाटफर्म दर्ता भइसकेका छन् । तीमध्ये भाइबर र टिकटक सबैभन्दा ठूला एप हुन् । विटक, निम्बज र पप–अप एप पनि दर्ता भएका छन् ।
टिकटकलाई पनि पहिले बन्द गरिएको र पछि नियम पालना गर्ने प्रतिबद्धता जनाएपछि बन्द फुकुवा गरिएको प्रवक्ता ठाकुरले उदाहरण दिए । हालै मात्र सर्वोच्च अदालतले सबै सामाजिक सञ्जाल दर्ता हुनुपर्ने फैसला गरेको उल्लेख गर्दै उनले यस आदेशबारे सामाजिक सञ्जाल प्लाटफर्महरूलाई कसरी सूचित गर्ने भन्ने विषयमा मन्त्रालयले कानुनी सल्लाह लिइरहेको बताए । ‘पहिले मेटालगायत कम्पनीले नेपालमा कानुन नभएको बताउने गरेका थिए,’ उनले भने, ‘अब सर्वोच्च अदालतको आदेश कानुनसरह भएकाले सबैलाई दर्तामा आउनुपर्ने हुन्छ ।’
सर्वोच्चको फैसला कार्यान्वयन गर्नु सरकारको दायित्व भएकाले दर्ताबिना एपहरू चल्न दिएमा सरकारमाथि नै प्रश्न उठ्ने भएकाले सरोकारवालासँग छलफल गरेर अघि बढ्ने तयारी भइरहेको प्रवक्ता ठाकुरको भनाइ छ । टेलिग्राम दर्ता प्रक्रियामा आएसँगै अब अन्य एप पनि दर्ताका लागि आउने अपेक्षा गरिएको छ ।
