जडीबुटीको कन्टेनरमा तस्करीका भेप

कन्टेनरमा ईएलएफबीएआर ब्रान्डका करिब ४० हजार थान भेप बरामद भएको छ । वनका कर्मचारी–गिरोह मिलेमतोमा जाँचपास गराएर छाडेको आशंका गरिएको छ।

भाद्र ११, २०८२

मातृका दाहाल

Smuggled vapes in containers of herbs

What you should know

काठमाडौँ — हुम्लामा संकलित जडीबुटी लोड गरिएको कन्टेनरमा करिब ४० हजार थान विद्युतीय चुरोट भेप फेला परेको छ । डिभिजन वन कार्यालय सिमकोट हुम्लाले रसिद काटेर जडीबुटी उल्लेख गरी पठाएको कन्टेनरबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले कन्टेनर नियन्त्रणमा लिएको हो । कन्टेनरमा ईएलएफबीएआर ब्रान्डका करिब ४० हजार थान भेप बरामद भएको छ ।

कन्टेनर नियन्त्रणमा लिइएपछि सामानका मालिक कुन्साङ दोर्जी लामा फरार भएका छन् । कन्टेनरमा सबार तीनजना हुम्लाको सिमकोटका २७ वर्षीय छिरिङ लामा तथा मुगुका ३२ वर्षीय जनक रोकाय र २७ वर्षीय भूमि रोकाय पक्राउ भने परेका छन् । पक्राउ परेकामध्ये भूमि कन्टेनरका चालक रहेको खुलेको छ । स्रोतका अनुसार जनक र छिरिङ जडीबुटी मालिक लामाका सहयोगी हुन् ।

डिभिजन वन कार्यालय हुम्लाका निमित्त डिभिजन वन अधिकृत लोकजंग शाहीले नेपालगन्जसम्मका लागि जडीबुटी भन्दै जाँचपास गरेर पठाएको कन्टेनर सशस्त्र प्रहरीले दैलेखबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको उक्त कन्टेनरलाई नेपालगन्ज लगेर राजस्व र भन्सारसहितको टोलीले खोलेर हेर्दा चीनबाट तस्करी गरी भित्रिएको ३९ हजार ९ सय थान भेप र २ हजार ४ सय ६ केजी सेतक चिनी फेला परेको हो । बरामद भेप करिब १० करोड रुपैयाँ बराबरको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाका नाममा ५ हजार केजी सेतक चिनी उल्लेख गरी वन कार्यालय हुम्लाले नेपालगन्जसम्म पुग्ने गरी कन्टेनर जाँचपास गरेको थियो । प्रतिकेजी २५ रुपैयाँ उल्लेख गरी एक लाख २५ हजार राजस्वको रसिद काटेर कन्टेनर जाँचपास गरिएको थियो । तर राजस्व र सशस्त्र प्रहरीले चीनको ताक्लाकोट हुँदै हिल्सा नाकाबाट भेप तस्करी गरिएको आशंकामा सुरुदेखि नै कन्टेनर निगरानी गरेको थियो । राजस्व र सशस्त्रको टोलीले कन्टेनर पछ्याउँदै दैलेखबाट नियन्त्रणमा लिएका थिए । 

राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले बरामद भेप सिमकोटबाट डिभिजन बन काार्यलयले जाँचपास गरी छाडेको जडीबुटी बोकेको कन्टेनरबाट फेला परेको र यो संगठित गिरोहको योजनामा भएको देखिएकाले विस्तृत अनुसन्धान अघि बढाइएको बताए । 

लामाले कैलाश–ईश्वर जडीबुटी खरिदबिक्री संस्थाका नाममा भदौ ३ मा जाँचपासका लागि वनमा निवेदन दिएका थिए । त्यसको दुई दिनपछि डिभिजन वन कार्यालय सिमकोट हुम्लाका प्रमुख निमित्त डिभिजनल वन अधिकृत लोकजंग शाहीले जाँचपास गरेका थिए । त्यसपछि फरेस्टर सन्तोष खत्री र वनकै अर्का कर्मचारी कृष्णबहादुर हमालले नेपालगन्जसम्म जानका लागि जाँचपासको पत्र तयार पारेका थिए । 

राजस्व र सुरक्षा स्रोतका अनुसार जडीबुटीका नाउँमा जाँचपास गराएको कन्टेनरबाट भेप पास गराउन वनका निमित्त प्रमुख शाहीकै भूमिका शंकास्पद रहेकाले उनी पनि अनुसन्धान घेरामा तानिएका स्रोतले बतायो । स्रोतका अनुसार हाल फरार रहेका लामा र निमित्त डिभिजनल वन अधिकृतबीच ‘अस्वाभाविक हिमचिम’ रहेका तथ्यहरू पनि भेटिएका छन् । यस विषयमा समेत अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।

शाही विगत १६ वर्षदेखि हुम्ला वन कार्यालयमा कार्यरत रहेको पनि खुलेको छ । वनका कर्मचारीलाई हातमा लिएर गिरोहले तस्करी धन्दा चलाएको हुन सक्ने आशंकापछि राजस्वले वनका कर्मचारीमाथि निगरानी बढाएको हो ।

हुम्लाका डिभिजन वन अधिकृत चन्द्रवीर गुरुङ गत साउन ६ देखि सुर्खेतस्थित वन मन्त्रालय झरेका थिए । त्यसपछि निमित्तको जिम्मेवारी शाहीले पाएका थिए । त्यसको एक महिनापछि ३ भदौमा लामाले जडीबुटीको जाँचपासका लागि वनमा निवेदन दिएका थिए । त्यसको दुई दिन पछाडि ५ भदौमा वनका निमित्त प्रमुख शाहीले जाँचपास स्वीकृत गरेका थिए । त्यसकै आधारमा नेपालगन्जसम्म जानका लागि कन्टेनरका लागि पास दिइएको थियो । 

कन्टेनरको माथि जडीबुटी र तल कार्टुनमा बन्द गरिएका भेप राखिनुमा यो योजनाबद्ध रूपमा गरिएको तस्करी भएको राजस्वका अधिकारीको भनाइ छ । ‘वनले जडीबुटीजन्य वस्तु सेतक चिनी भनेर जाँचपास गरी पठाएको कन्टेनरबाट भेप बरामद भएका छन्, जुन वस्तुको जाँचपास भएको हो, त्यसभन्दा बाहेकका सामान कन्टेनरमा भेटिइनुले यो संगठित गिरोहको योजनाबाटै काम भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ महानिर्देशक चिलुवालले कान्तिपुरसँग भने, ‘यसमा सूक्ष्म रूपले अनुसन्धान भइरहेको छ, जो–जसको संलग्नता भेटिन्छ, उनीहरूलाई कारबाहीको दायरामा ल्याइन्छ ।’ यसअघि पनि चीनबाट तस्करी हुँदै भित्र्याइएको भेप मुस्ताङको लोमान्थाङ र ललितपुरको इमाडोलबाट बरामद भएको थियो ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully