तरलता समस्या समाधान गर्न केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलनको सुरुवात गरी ब्याजदरलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने प्रयास गरिरहेको छ।
What you should know
काठमाडौँ — नेपाल राष्ट्र बैंकले बुधवार ४५ अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो।
अहिले कुल निक्षेप ७२ खर्बभन्दा बढी पुगेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।
निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो। ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। आज हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ असोज ५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ।
खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ।
यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
