कारोबारमा आएका मध्ये १०१ कम्पनीको सेयर मूल्य बढ्यो, १४९ कम्पनीको घट्यो।
What you should know
काठमाडौँ — मंगलबार नेप्से परिसूचक ४.८३ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.१७ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ७ सय ६६.०९ बिन्दुमा उक्लेर बन्द भएको छ । नेप्से परिसूचकमा सुधार भए पनि कारोबार रकम घटेको छ । यसले सेयर बजारको वृद्धिका लागि कारोबार रकमले समर्थन नगरेको विश्लेषण जानकारहरूको छ ।
लगानीकर्ताको आत्मविश्वास बढ्न नसक्दा ठूला लगानीकर्ता बजारमा भित्रिन नसकेको र भएका लगानीकर्ताले पनि सेयर बिक्री गरेर बाहिरिन चाहेकाले समग्र नेप्सेको सुधारमा अपेक्षित योगदान नपुगेको जानकारहरू बताउँछन् ।
‘कुनै विशेष कारणबिनै लगातार कारोबार रकममा भारी गिरावट आएको छ,’ एक धितोपत्र ब्रोकरले भने, ‘समग्र नेप्से परिसूचकमा केही अंकको घटबढ सामान्य हो । तर, कारोबार रकम लगातार घट्नुले समग्र नेप्से परिसूचकलाई नै समर्थन नगरेको देखिन्छ ।’
ब्याजदर कम भएकाले बैंक तथा वित्तीय संस्थामा सेयर धितोमा कर्जा माग बढेको छ । गत आर्थिक वर्षमा मात्र सेयर धितोमा कर्जा करिब ५६ प्रतिशतले बढेको छ । यसको अर्थ गत आर्थिक वर्षमा मात्र बैंक तथा वित्तीय संस्थाले थप ५० अर्ब ६० करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । तर, कर्जा विस्तार भएको अनुपातमा सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिँदैन । सेयर धितोमा प्रवाह भएको कर्जा अन्यन्त्रै उपयोग भएकाले पनि सेयर बजारमा प्रत्यक्ष प्रभाव नदेखिएको जानकारहरू बताउँछन् ।
यस्तै, मंगलबार नेप्सेमा सामान्य सुधार भए पनि अघिल्लो दिनको तुलनामा करिब साढे १ अर्बले कारोबार रकम घटेको छ । सो दिन कारोबारमा आएकामध्ये १०१ कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको घट्यो । यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी बढी भए पनि समग्र नेप्सेमा भने करिब ५ अंकको सुधार भएको हो ।
उक्त दिन ४५ हजार १ सय १६ पटकको कारोबारमा ९२ लाख ४३ हजार ३ सय ३२ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार नेप्सेमा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार कारोबार रकमसँगै कारोबार सेयर संख्या र कारोबार सेयर कित्ता पनि घटेको छ ।
उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बिमाको परिसूचक घटे । तर, बाँकी सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से करिब ५ अंकले बढेको हो । उक्त दिन विकास हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ । नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ८.६१, नारायणी डेपमलमेन्ट बैंकको ७.२८, सीवाईसी नेपाल लघुवित्तको ४.५३ र एनआईसी एसिया ऋणपत्र २०८८ को मूल्य ३.९६ प्रतिशतले बढे ।
कुमारी सबल योजना, नाडेप लघुवित्त, नबिल ऋणपत्र २०८५, पिपुल्स हाइड्रो र विजय लघुवित्त क्रमशः धेरै सेयर मूल्य घट्ने अग्र पाँच कम्पनीको सूचीमा रहे । उक्त दिन नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ४८ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
