तेस्रो दिन पनि घट्यो नेप्से, बिक्री चाप बढ्यो

४१ कम्पनीको सेयर मूल्य बढ्दा २ सय ८ कम्पनीको घट्यो, मूल्य बढ्नेभन्दा घट्ने कम्पनी धेरै भएपछि नेप्सेमा १८ अंकको गिरावट देखिएको छ।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

NEPSE also fell on the third day, selling pressure increased

What you should know

काठमाडौँ — पछिल्लो तीन दिनयता सेयर कारोबार मापक नेप्से परिसूचक लगातार घटेको छ । गत बुधबार र बिहीबार क्रमशः ९.७० र ९.२२ अंकले घटेको नेप्से आइतबार १८.२ अंकले ओरालो लागेको हो । अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ३९.९५ बिन्दुमा ओर्लेर बन्द भएको हो । आइतबारको गिरावटसँगै तीन दिनदेखि नेप्से लगातार घटिरहेको छ ।

यद्यपि बजारमा उच्च अंकको गिरावट भने छैन । बजारको यो प्रवृत्तिलाई विश्लेषकहरूले लगानीकर्ताको आत्मविश्वास बढ्न नसकेका रूपमा विश्लेषण गरेका छन् । 

अहिले सेयर बजारका लागि नीति अनुकूल छन् । ब्याजदर न्यून छ । करिब डेढ वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । तरलता व्यवस्थापनकै लागि राष्ट्र बैंकले साताको दुई दिन आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिकिरहेको छ । बैंकहरू ऋणी खोज्दै हिँडेका छन् । यस्तो अवस्थामा सेयर बजार बढ्न नसक्नुलाई लगानीकर्ताको आत्मविश्वाससँग जोडेर विश्लेषण हुन थालेको छ । 

नीतिगत रूपमा हेर्दा वित्त नीति (बजेट) र मौद्रिक नीति दुवै सेयर बजार विकास र विस्तारकै पक्षमा देखिन्छन् । नयाँ गभर्नरमा विश्व पौडेल आएसँगै सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार घटाइएको छ भने व्यक्तिगत सेयर कर्जाको सीमा बढाइएको छ । यसरी नीतिगत अनुकूलताका बाबजुद सेयर बजार बढ्न नसक्नु र भएका लगानीकर्ता पनि सेयर बिक्री गरेर बाहिरिने प्रवृत्ति देखिएको एक धितोपत्र ब्रोकरले बताए । उनका अनुसार अहिले जस्तै सबैतिरबाट अनुकूल अवस्था सेयर बजारका लागि विरलै हुने गर्छ । तर पनि सेयर बजार बढ्न नसक्नु दुःखदायी भएको उनको भनाइ छ । 

आइतबार कारोबारमा आएका मध्ये ४१ कम्पनीको सेयर मूल्य बढ्दा २ सय ८ वटा कम्पनीको घट्यो । यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी बढी भएपछि समग्र नेप्सेमा १८ अंकले घटेको हो । उक्त दिन ५८ हजार १ सय ५ पटकको कारोबारमा १ करोड ४० लाख ९ हजार ७ सय ८ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार नेप्सेमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधनबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा गिरावट आएको हो । आइतबार विकास हाइड्रोको सेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ । यसअनुसार आइतबार यो कम्पनीको सेयर ३ सय ८८ रुपैयाँ ७० पैसा पुगेको छ । नारायणी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ७.२९ प्रतिशतले घटेको छ भने हिमालयन डिस्ट्रिलरीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । आइतबार यो कम्पनीको मात्र १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको नेप्सेको तथ्यांक छ ।

कान्तिपुर

Link copied successfully