पूर्वी नाका काँकरभिट्टाबाट आयात र निर्यात घट्यो

चालु आवको साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने १५ करोड १८ लाखले बढेको छ ।

भाद्र ९, २०८२

रासस

Imports and exports from the eastern border Kankarbhita decreased

भद्रपुर (झापा) — चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट ३ अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । 

यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवमा  ३ अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो । 

चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात पनि घटेको छ । चालु आवको साउनमा १ अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा १ अर्ब ८० करोड ८२ लाखको वस्तु तथा सामान निर्यात भएको थियो । 

कार्यालयका अनुसार चालु आवको साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने रु १५ करोड १८ लाखले बढेको छ । गत आव २०८१/८२ को साउन महिनामा १ अर्ब ११ करोड ३२ लाख राजस्व संकलन भएको थियो । 

रासस

Link copied successfully