ग्राहकको अनलाइन अर्डर प्रवृत्तिले धनगढीका व्यवसायीलाई गम्भीर संकटमा पुर्याएको छ। सटर भाडा उठाउनसमेत समस्या भएको छ।
What you should know
कैलाली — तीज नजिकिँदै जाँदा धनगढीसहित सुदूरपश्चिमका बजार रंगीचंगी र भीडभाडले भरिभराउ हुन्थे । सुनचाँदी पसलदेखि साडी–सुट, कस्मेटिकदेखि बुटिकसम्म ग्राहकको चहलपहलले बजार चलायमान देखिन्थ्यो । तर यस वर्ष तीज आउन एक दिन मात्र बाँकी हुँदा पनि बजार सुनसान छ । तीजमा खानसमेत भ्याइनभ्याइ हुने व्यापारी फुर्सदिला छन् ।
बिहानदेखि साँझसम्म ग्राहकको पर्खाइमा बस्दा पनि अपेक्षित व्यापार नभएको उनीहरूको गुनासो छ । ‘आएका ग्राहक मोबाइमा फोटो देखाउँदै भन्छन्, अनलाइनमा देखाएजस्तो सामान छैन ?’ एक व्यापारीले गुनासो सुनाए, ‘सबै व्यापारीसँग अनलाइन देखाए जस्तो सामान हुँदैन । भयो अब अलनाइन अर्डर गर्छु भन्दै ग्राहक फर्किन्छन् । यसको प्रत्यक्ष असर व्यापारीहरूलाई परेको छ ।’
धनगढीमा ३६ वर्षदेखि साडी, सुटको व्यापार गर्दै आएका ती व्यापारीले बजारमा यस्तो गिरावट कहिल्यै नभोगेको सुनाए । दैनिक ४० हजारसम्मको कपडा बिक्री गरेका उनलाई अहिले दिनमा ५–७ हजार कटाउन पनि मुस्किल परेको छ । मुख्य बजारमा दुई सटर लिएका उनले मासिक ४५ हजार भाडा तिर्नुपर्छ । तर व्यापार घाटामा छ । कोरोना महामारीपछि लयमा फर्किरहेको बजार अहिले फेरि सुस्ताएको उनले बताए । मुख्य सिजनमै व्यापारमा आएको भारी गिरावटले व्यवसायी निराश छन् । सटर भाडासमेत उठाउन नसकेको बजार क्षेत्रका व्यापारीको गुनासो छ ।
कोरोनापछि व्यापार व्यवसाय घाटामा गएको र अपेक्षित मुनाफा नपाएको सबैजसो व्यापारीको गुनासो छ । केही वर्षयता सुन व्यवसायमा निरन्तर गिरावट आएको व्यापारीको भनाइ छ । सरकारले कर बढाएको र मूल्य बढेका कारण सुन खरिद गर्ने ग्राहक निकै घटेका उनीहरूले बताए ।
सुनचाँदी खपत हुने मुख्य सिजनमै व्यापार घटेको धनगढीको हुलाकरोडस्थित न्यु पशुपति सुनचाँदी गहना पसलका सञ्चालक विवेक सोप बताउँछन् । तीजको समयमा भरिभराउ हुने सुन पसलमा यो वर्ष छिटफुट ग्राहक मात्रै आउने गरेका छन् । ‘पहिले दैनिक भीड हुन्थ्यो, यो वर्ष ग्राहक निकै घटेका छन् । अहिले सिजनमै दिनमा ६–७ जना ग्राहक मुस्किलले आउँछन् । सुनको मूल्य सुनेर ग्राहक तर्सन्छन्, अनलाइन व्यापारले पनि असर गरेको छ,’ उनले भने । अनलाइनमार्फत केही अर्डर आउने गरे पनि पसलमा खासै ग्राहक नआउने धनगढीका अर्का सुन व्यवसायीले सुनाए । सुन कारोबारमा आएको यो गिरावटको मुख्य कारण सुनमा लागेको विलासिता कर भएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवरले जनाए ।
पछिल्लो समय अनलाइन व्यापारले भौतिक बजारलाई ठूलो चुनौती थपिदिएको छ । ग्राहकले मोबाइलमार्फत सजिलै सामान हेरेर अर्डर गर्न थालेपछि पसलमा चहलपहल घट्न थालेको हो । बजारमा व्यापार सुस्ताउनुको प्रमुख कारण अनलाइन कारोबार नै रहेको धनगढी एलएन चोकस्थित सल्मा बुटिककी सञ्चालक सल्मा कुँवरको बुझाइ छ । तीजको समयमा उच्च व्यापार हुने बुटिक अहिले सुनसान जस्तो रहेको उनले गुनासो गरिन् ।
तीजका बेला पहिले दैनिक १ सय ५० सम्म ग्राहक आउने बुटिकमा अहिले २५–३० मात्र आउने गरेको उनको भनाइ छ । त्यसमध्ये पनि हेर्ने बढी, किन्ने कम । मासिक ८५ हजार सटर भाडा उठाउनै मुस्किल परेको उनले बताइन् । ग्राहकहरू बजार आउनुको साटो विभिन्न सामाजिक सञ्जाल र एप्समा घरबाटै सपिङ गर्न थालेपछि व्यापार कम भएको उनले जनाइन् ।
भरपर्दो अनलाइन माध्यमबाहेक अन्यमा ठगी हुने सम्भावना उच्च रहे पनि ग्राहकहले अनलाइनमै अर्डर नै गर्छन् । ‘अनलाइनमा देखाउने एउटा, पठाउने अर्को हुन्छ, स्क्याम हुने सम्भावना पनि बढी हुन्छ । तर ग्राहकले सजिलो ठानेर अनलाइन सपिङ नै गर्छन्,’ सल्मा भन्छिन् । उनको बुटिकमा पनि दिनमा ५–६ वटा अनलाइन अर्डर आउने गर्छन् । भौतिक बजारलाई अनलाइनले ठूलो असर पारेको सबैजसो व्यापारीको एकमत छ ।
