४७ अर्ब रुपैयाँले घट्यो सेयर बजारको आकार

सेयर बजारको आकार (पुँजीकरण) अघिल्लो बिहीबार ४६ खर्ब ५६ अर्ब २७ करोड ३५ लाख रुपैयाँ थियो, गत बिहीबार ४६ खर्ब ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ कायम भएको छ ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

The size of the stock market decreased by 47 billion rupees

What you should know

काठमाडौँ — गत साता नेप्से ३०.३९ अंकले घटेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) समेत ४७ अर्ब ८३ करोड ३६ लाख रुपैयाँले घटेको छ । सेयर बजारको आकार (पुँजीकरण) अघिल्लो बिहीबार ४६ खर्ब ५६ अर्ब २७ करोड ३५ लाख रुपैयाँ थियो, गत बिहीबार ४६ खर्ब ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ कायम भएको छ ।

सूचीकृत कम्पनीहरूको सेयर संख्यालाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ ।

सेयर बजारको आकार घट्नुलाई लगानीकर्ताको सम्पत्तिको मूल्य घटेका रूपमा पनि विश्लेषण गरिन्छ । गत साता कारोबारमा आएकामध्ये धेरैजसो कम्पनीको सेयर मूल्य घटेपछि समग्र कुल बजार पुँजीकरण पनि घटेको हो । गत साता कारोबारमा आएकामध्ये ७० कम्पनीको मूल्य बढ्यो भने १ सय ८१ कम्पनीको मूल्य घट्यो । गत साता एक दशमलव शून्य ९ प्रतिशतले घटेर नेप्से २७ सय ५७ दशमलव ९७ विन्दुमा बन्द भएको छ ।

एनपी स्टस डटकमका अनुसार होटल तथा पर्यटन १ दशमलव २३ प्रतिशतले बढ्यो । बाँकी सबै उपसमूह घटे । निर्जीवन बिमा शून्य दशमलव ६२, जलविद्युत् शून्य दशमलव ७५, बैंकिङ शून्य दशमलव ७७, जीवन बिमा शून्य दशमलव ७८ र लगानी शून्य दशमलव ८५ प्रतिशतले घटे । सबैभन्दा बढी अन्य उपसमूह २ दशमलव ४५ प्रतिशतले घटेको एनपी स्टक्सले जनाएको छ । 

गत आइतबार ७ अर्ब ७३ करोड, सोमबार ६ अर्ब १७ करोड, मंगलबार ५ अर्ब ६३ करोड, बुधबार ५ अर्ब २० करोड र बिहीबार ५ अर्ब २ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम निरन्तर घट्नुमा सेयर खरिद र बिक्री गर्ने दुवैको चासो घट्नुसमेत रहेको जानकार बताउँछन् ।

कारोबार रकमका आधरमा नेपाल पुनर्बिमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, बुटवल पावर, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, राधी विद्युत् कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर अघि रहे ।

नेपाल पुनर्बिमा कम्पनीको १ अर्ब ३२ करोड ६७ लाख, हिमालयन रिइन्स्योरेन्सको १ अर्ब १२ करोड २४ लाख, हिमालयन डिस्टिलरीको ८५ करोड १७ लाख, बुटवल पावरको ७८ करोड १२ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ७८ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ७४ करोड ३९ लाख, शिवम् सिमेन्टको ६९ करोड २१ लाख, नेपाल रिपब्लिक मिडियाको ६२ करोड ८४ लाख, राधी विद्युत् कम्पनीको ५९ करोड ८२ लाख, पञ्चकन्या माई हाइड्रोपावरको ५६ करोड ६४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । 

गत साता सबै बढी कमाउने र गुमाउने कम्पनीमा लघुवित्त र जलविद्युत्कै वर्चस्व रह्यो । विकास हाइड्रोपावरको २०.९९ प्रतिशत, पियोर इनर्जीको ९.७९, चन्द्रागिरी हिल्सको ७.८०, दिव्येश्वरी हाइड्रोपवारको ५.६८, उन्नति सहकार्य लघुवित्तको ४.८६, रसुवागढी हाइड्रोपावरको ४.८३, एभरेष्ट बैंकको ४.४८, सामुदायिक लघुवित्तको ४.४८, सुपरमाई हाइड्रोपावरको ४.११ र थ्री स्टार हाइड्रोपावरको ३.५२ प्रतिशतले सेयर मूल्य बढ्यो । 

सम्पदा लघुवित्तको १३.७७, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ७.८१, नारायणी विकास बैंकको ७.४८, एनआईसी एसिया लघुवित्तको ७.०५, माया खोला हाइड्रोपावरको ६.९१, ट्रेड टावर लिमिटेडको ६.८५, पञ्चकन्या माई हाइड्रोपावरको ६.२८, जनउत्थान सामुदायिक लघुवित्तको ६.१५, समता घरेलु लघुवित्तको ६ र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ५.९४ प्रतिशतले सेयर मूल्य घट्यो । यी कम्पनीको सेयर मूल्य घटेसँगै लगानीकर्ताले आफ्नो सम्पत्तिको मूल्य गुमाए । 

The size of the stock market decreased by 47 billion rupees

कान्तिपुर

Link copied successfully