अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।
What you should know
काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम अझै रोकिएको छैन । यसरी हरेक दिन ऋण दिन मिल्ने रकम बढेपछि राष्ट्र बैंकले आज आइतबार पनि वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।
बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
ब्याजदर अस्वाभाविक उतारचढाव नभई वाञ्छित सीमामा रहोस् भन्न राष्ट्र बैंकले ‘ब्याजदर करिडोर’ सञ्चालनमा ल्याएको छ । करिडोरअन्तर्गत ब्याजदरका माथिल्लो, मध्यम र तल्लो गरी तीन वटा सीमा तय गरिन्छ । हाल माथिल्लो सीमा (सिलिङ रेट) ६ प्रतिशत कायम गरिएको छ । यो दर बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा भुक्तानी गरिने ब्याजदर हो । मध्यम दर (पोलिसी रेट) ४.५ प्रतिशत छ । यो एक दिनका लागि बैंकहरूले ऋण लिादा तिर्नुपर्ने दर (ओभरनाइट रिपो) हो । तल्लो सीमा फ्लोर रेट) २.७५ प्रतिशत कायम गरिएको छ । यो निक्षेप संकलनमार्फत राष्ट्र बैंकले बजारबाट पैसा झिक्दा बैंक तथा वित्तीय संस्थाले पाउने ब्याजदर हो ।
करिडोरको माथिल्लो र तल्लो सीमाका दरहरूलाई राष्ट्र बैंकले बैंकहरूबीचको सापटी (अन्तरबैंक ब्याजदर) साग समायोजन गरेको छ । यसकारण राष्ट्र बैंकले अन्तर बैंकदर सकेसम्म नीतिगत दर वरिपरि राख्न खोज्छ । यो हुन नसके पनि करिडोरको तल्लो र माथिल्लो सीमाभित्रै कायम गर्ने प्रयास गर्छ । त्यही क्रममा अन्तरबैंक दर तल्लो सीमातिर झर्दा विभिन्न उपकरणमार्फत राष्ट्र बैंकले बजारबाट पैसा झिक्छ ।
अन्तरबैंक ब्याजदर माथिल्लो सीमातिर नजिकिँदा विभिन्न औजारमार्फत राष्ट्र बैंकले बजारमा पैसा पठाउँछ । हाल साढे २ वर्षयता अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कम भएपछि राष्ट्र बैंकले विभिन्न औजारमार्फत पैसा तानिरहेको छ ।
