नेप्सेमा ५८ हजारभन्दा बढी कारोबारमा ६ अर्ब ५४ करोडको सेयर किनबेच भयो, २०८ कम्पनीको मूल्य घट्दा १८ अंकले घट्यो।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १८.२ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ३९.९५ विन्दुमा ओर्लेर बन्द भएको हो । आइतबारको गिरावटसँगै तीन दिनदेखि नेप्से लगातार घटिरहेको छ ।
सो दिन कारोबारमा आएकामध्ये ४१ कम्पनीको सेयर मूल्य बढ्दा २०८ वटा कम्पनीको घट्यो । यसरी सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनी बढी भएपछि समग्र नेप्सेमा १८ अंकले घटेको हो ।
सो दिन ५८ हजार १ सय ५ पटकको कारोबारमा १ करोड ४० लाख ९ हजार ७ सय ८ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार नेप्सेमा ५ अर्ब २ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधनबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा गिरावट आएको हो ।
