स्टिलका भाँडाकुँडा निर्यात नभएपछि उद्योग बन्द हुने चिन्ता

भारतले दुई महिनाअघि कच्चा पदार्थमा पनि बीआईएस अनिवार्य गरेपछि सेजमा रहेको भिस्तार ग्लोबल प्राइभेट लिमिटेडको निर्यात ठप्प भएको हो ।

भाद्र ८, २०८२

दीपेन्द्र बडुवाल

Fear of closure of industry as steel utensils are not exported

What you should know

भैरहवा — स्टिलजन्य उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा भारतले गुणस्तरको लोगो अनिवार्य गरेपछि नेपालबाट स्टिलका भाँडाकुँडाको निर्यात अझै सहज भएको छैन । जसले गर्दा रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।

यसअघि उत्पादित वस्तुमामात्र ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआइएस) अनिवार्य थियो । भारतले दुई महिनाअघि कच्चा पदार्थमा पनि बीआईएस अनिवार्य गरेपछि सेजमा रहेको भिस्तार ग्लोबल प्राइभेट लिमिटेडको निर्यात ठप्प भएको हो ।

उत्पादन निर्यात गर्ने उद्देश्यले १५ करोड रुपैयाँ लगानीमा सेजमा स्थापना भएको भिस्तारले उत्पादित वस्तुका लागि बीआईएस प्रमाणपत्र (लोगो) लिएको छ । स्टिलका भाँडाकुँडा उत्पादनका लागि उक्त उद्योगले भारत र भियतनामबाट कच्चा पदार्थ आयात गर्दै आएको छ ।

सीमित मात्रामा चीनबाट कच्चा पदार्थ आयात गरिरहेको उद्योगले जनाएको छ । भिस्तार ग्लोबल प्राइभेट लिमिटेडका लेखा प्रमुख अरविन्द त्रिपाठीले दुई महिना अघिसम्म ९० प्रतिशतसम्म उत्पादित वस्तु भारत निर्यात गरिएको बताए । निर्यात रोकिएपछि उद्योगको उत्पादन सीमित बनेको छ । पहिले महिनामा ४ सय टन भाँडाकुँडा उत्पादन हुन्थ्यो । अहिले आन्तरिक बजारका लागि भनेर महिनामा ३०÷४० टन मात्र उत्पादन गरिरहेको उनले बताए ।

भैरहवा भन्सार कार्यालयका अनुसार भारतले जडान गरेको स्टिल इम्पोर्ट मनिटरिङ सिस्टम (सीम्स) मा नेपाल नदेखाइएको भएकाले समस्या भएको हो । कच्चा पदार्थ आयातका लागि सीम्समा नेपाल देखाउनुपर्छ । ‘भारतले स्टिल इम्पोर्ट मनिटरिङ सिस्टममा नयाँ सफ्टवेयर जडान गर्‍यो,’ भैरहवा भन्सार प्रमुख रामप्रसाद रेग्मीले भने, ‘उक्त सफ्टवेयरमा नेपाल उल्लेख नगरिएकाले समस्या भएको हो ।’

Fear of closure of industry as steel utensils are not exportedउत्पादन प्रभावित भएपछि उद्योगका सञ्चालक उद्योग वाणिज्य संघ र सम्बन्धित सरकारी कार्यालय धाइरहेका छन् । निर्यात गर्न नपाएपछि गोदाममा अहिले ३ सय टन भाँडाकुँडा थन्किएको उद्योगले जनाएको छ ।

उद्योगले क्षमता विस्तारको तयारी गरिरहेकै बेला निर्यातमा अवरोध सिर्जना गरिएको जनाएको छ । अहिले प्रति महिना ४ हजार टन उत्पादन क्षमता छ । लगानीकर्ताले चालु वर्ष उत्पादन क्षमता वृद्धि गरेर प्रति महिना ७ हजार टन पुर्‍याउने तयारी गरेका थिए ।

उद्योगका एक कर्मचारीले दुई महिना अघिसम्म आफूहरू उद्योगभित्र उत्पादनमा व्यस्त हुने गरेकोमा अहिले कार्यालयमा आएर समय कटाइरहेको बताए । पहिले दिनमा २०/२२ टन भाँडाकुँडा उत्पादन हुन्थ्यो । अहिले मुश्किलले दुई टन भइरहेको छ । ‘कारखानाभित्र छिर्नै मन लाग्दैन,’ उनले भने, ‘क्षमता अनुसार उद्योग सञ्चालन नभएपछि किन कारखाना छिर्नुजस्तो लाग्छ ।’ उद्योग पूर्ण क्षमतामा सञ्चालन भइरहेका बेला ४ सय कामदार थिए । अहिले ४० जना मात्र रहेको उद्योगका लेखा प्रमुख त्रिपाठीले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरेले सेजबाट उत्पादन भारत निर्यात गरिरहेको उद्योग विस्थापित हुने अवस्थामा पुग्नु दुःखद भएको बताए । ‘निर्यात सहज भएन भने उद्योग बेचेर लगानीकर्ता बाहिरिने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘समस्या समाधानमा सरकार नै गम्भीर भएर लाग्नुपर्छ ।’

वर्षमा ८०/८२ करोड रुपैयाँका भाँडाकुँडा भारत निर्यात गर्दै आएको उद्योग बन्द भएमा त्यसले नकारात्मक प्रभाव पार्ने उनले बताए । सरकारले भारतीय पक्षसित कूटनीतिक पहल गरेर भए पनि समस्या हल गर्नुपर्ने उनले बताए । उद्योग वाणिज्य संघले समस्या सुरु हुनेबित्तिकै संस्थागत रूपमा सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

दीपेन्द्र बडुवाल

Link copied successfully