पहिलो घर बनाउन र जग्गा किन्‍न मात्रै साढे ३० अर्ब रुपैयाँ कर्जा प्रवाह

आर्थिक वर्ष २०८०/०८१ मा पहिलो घर बनाउन र जग्गा किन्‍न मात्रै ३८ अर्ब ८९ करोड ४० लाख रुपैयाँ ऋण प्रवाह भएको थियो ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

30 and a half billion rupees loan for building the first house and buying land

काठमाडौँ — आर्थिक वर्ष २०८१/०८२ मा पहिलो घर निर्माण–खरिद एवं जग्गा खरिद गर्न मात्रै साढे ३० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको गत आर्थिक वर्षको वार्षिक तथ्यांकले व्यक्तिगत आवासीय घर कर्जा ७.९ प्रतिशतले बढेको देखाएको छ । 

आर्थिक वर्ष २०८०/०८१ मा पहिलो घर निर्माण–खरिद एवं जग्गा खरिद गर्न मात्रै ३८ अर्ब ८९ करोड ४० लाख रुपैयाँ ऋण प्रवाह भएको थियो ।गत आर्थिक वर्ष ३० अर्ब ५४ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । हालसम्म ४ खर्ब १७ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा प्रवाह भएको छ । 

व्यक्तिगत आवासीय घर कर्जा करिब ८ प्रतिशतले बढ्दा घरजग्गा कर्जा ३ प्रतिशतले मात्रै बढेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आर्थिक वर्ष १८ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह हुँदा गत वर्ष ७ अर्ब ८३ करोड ६ लाख रुपैयाँ मात्रै घरजग्गा कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष घरजग्गा कर्जामा २.९ प्रतिशतको वृद्धि हो ।

घरजग्गा कर्जामा हालसम्म २ खर्ब ७५ अर्ब  ९५ करोड ९५ लाख रुपैयाँ प्रवाह भएको छ । घरजग्गा कर्जाअर्न्तगत व्यावसायिक कम्प्लेक्स (आम्दानी गर्ने कमर्सियल कम्प्लेक्स) मा २७.५ प्रतिशतले बढेको देखाएको छ । गत आर्थिक वर्ष २ अर्ब ५९ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । योसँगै हालसम्म १२ अर्ब २ करोड ५० लाख रुपैयाँ ऋण घरजग्गा कर्जा अर्न्तगत व्यावसायिक कम्प्लेक्समा प्रवाह भएको हो । 

अघिल्लो आर्थिक वर्ष घरजग्गा कर्जा अर्न्तगत व्यावसायिक कम्प्लेक्समा गएको कर्जा ऋणात्मक थियो । उक्त आर्थिक वर्ष २ अर्ब १४ करोड ४९ लाख रुपैयाँले ऋणात्मक थियो । कर्जा प्रवाहभन्दा बढी साँवाब्याज उठेकाले व्यावसायिक कम्प्लेक्समा गएको कर्जा  ऋणात्मक देखिएको थियो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा पहिलो घर निर्माणका लागि दिइने आवास कर्जाको सीमा बढाएको थियो । पहिलो घर बनाउन एक व्यक्तिले अधिकतम ३ करोड रूपैयाँ कर्जा पाउन सक्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा पहिलो घर निर्माणका लागि दिइने आवास कर्जाको सीमा २ करोड रुपैयाँ पुर्‍याएको थियो ।

त्यसअघि १ करोड ५० लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहका लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायमलगायत व्यवस्था छ ।

कान्तिपुर

Link copied successfully