१० अर्बको कच्चा सोयाबिन तेल आउँदा १० अर्बकै तेल निर्यात

चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा १० अर्ब ८० करोड ९५ लाख रुपैयाँको ७ करोड १७ लाख ६ हजार लिटर सोयाबिनको कच्चा तेल आयात भएको छ । सोयाबिनको कच्चा तेल साउनमा आयातित परिमाण र रकम अहिलेसम्मकै अत्यधिक हो । 

भाद्र ८, २०८२

राजु चौधरी

10 billion worth of crude soybean oil, 10 billion worth of oil exports

What you should know

काठमाडौँ — आयात व्यापारमा पहिलो बन्दै सोयाबिनको कच्चा तेलले डिजेललाई उछिनेको छ । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा १० अर्ब ८० करोड ९५ लाख रुपैयाँको ७ करोड १७ लाख ६ हजार लिटर सोयाबिनको कच्चा तेल आयात भएको छ । सोयाबिनको कच्चा तेल साउनमा आयातित परिमाण र रकम अहिलेसम्मकै अत्यधिक हो । 

गत वर्ष साउनमा १ अर्ब ३० करोड ७९ लाख रुपैयाँको ९६ लाख ९ हजार लिटर सोयाबिनको कच्चा तेल आयात भएको थियो । आयातित रकमका आधारमा सोयाबिनको कच्चा तेल ११ नम्बरमा थियो । रकमका आधारमा गत वर्ष साउनमा आयात भएको पहिलो नम्बरमा डिजेल नै थियो ।

अहिले भने डिजेललाई उछिन्दै सोयाबिनको कच्चा पदार्थ पहिलो बनेको भन्सार विभागको वैदेशिक व्यापारको तथ्यांकमा उल्लेख छ । शुक्रबार सार्वजनिक व्यापार तथ्यांकमा सोयाबिनको कच्चा तेलपछि डिजेल ५ अर्ब ८८ करोड ७७ लाख रुपैयाँको आयात भएको उल्लेख छ । 

सोयाबिनको कच्चा तेल आयातसँगै निर्यातमा पनि पहिलो नम्बरमै छ । साउनमा १० अर्ब ६९ करोड ५८ लाख रुपैयाँको सोयाबिनको तेल निर्यात भएको छ । तेस्रो मुलुकबाट आयातित सोयाबिनको कच्चा पदार्थ व्यवसायीले मूल्य अभिवृद्धि गरेर भारत पठाउँदै आएका छन् ।

निर्यातमा छुट र अग्रिम भुक्तानी सुविधाले व्यवसायी सोयाबिनलाई स्वदेशमा बिक्रीभन्दा भारतमै निर्यात गर्न रुचाउँछन् । नेपालमा कच्चा तेल अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया र थाइल्याडबाट आयात हुन्छ । सोयाबिनको कच्चा पदार्थ र तेलले समग्र आयात निर्यात व्यापार बढाइदिएको छ । 

साउनमा मुलुकको कुल वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यो रकम गत साउनको तुलनामा १८.७५ प्रतिशतले बढी हो । गत साउन महिनामा कुल वैदेशिक व्यापार १ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ थियो । यसैगरी आयात व्यापार ११.४२ प्रतिशतले बढेको विभागले जनाएको छ । विभागका अनुसार साउनमा १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्ष साउनमा भने १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएको थियो । सोयाबिनको कच्चा पदार्थ र डिजेलपछि तेस्रोमा पेट्रोल आयात भएको छ ।  

साउनमा ५ अर्ब ७७ करोड १४ लाख रुपैयाँको पेट्रोल आयात भएको छ । ४ अर्ब ६६ करोड ६४ लाख रुपैयाँको खाना पकाउने एलपी ग्यास, ३ अर्ब ४१ करोडको स्मार्टफोन, ३ अर्ब ७ करोडको स्टिल तथा आइरनलगायत आयात भएको छ । एक महिनामै १ अर्ब ५४ करोड ७३ लाखको मकै, १ अर्ब १० करोडको धान, १ अर्ब ५ करोडको स्याउ, १ अर्ब ५ करोडको पाम तेल (कच्चा) आयात भएको विभागको तथ्यांक छ । 

आयातित वस्तुमध्ये सबैभन्दा धेरै भारतबाट ८३ अर्ब ५३ करोड ९९ लाख रुपैयाँको वस्तु आयात भएको छ । दोस्रोमा चीनबाट २७ अर्ब ९९ करोड ६० लाख रुपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ । निर्यात व्यापार पनि ९५.७५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा २३ अर्ब ९३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत वर्ष साउनमा १२ अर्ब २२ करोडको वस्तु निर्यात भएको थियो । 

सोयाबिन तेलपछि दोस्रोमा कार्पेट निर्यात भएको छ । साउनमा ८२ करोड ५ लाखको कार्पेट, ६७ करोड १२ लाखको पाम तेल, ६५ करोड १४ लाखको सनफ्लावर तेल निर्यात भएको छ । साउनमा ४६ करोड ३२ लाखको यार्न, ३७ करोड ४५ लाखको चिया, ३२ करोड १७ लाख रुपैयाँको अलैंची निर्यात भएको छ । 

 निर्यातमध्ये सबैभन्दा धेरै भारतमा १९ अर्ब ४५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । दोस्रोमा अमेरिकामा १ अर्ब ५४ करोड, तेस्रोमा जर्मनीमा ४२ करोडको वस्तु निर्यात भएको विभागको तथ्यांक छ । आयात–निर्यातसँगै मुलुकको व्यापार घाटा २.५५ प्रतिशतले बढेको छ ।

विभागका अनुसार साउनमा व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड रुपैयाँ भएको छ । गत साउनमा व्यापार १ खर्ब १६ अर्ब १५ करोड थियो । आयातित वस्तुबाट सरकारले साउनमा ३६ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

राजु चौधरी चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully