उत्तरी नाका जोड्ने कोदारी सडक खुल्यो, रसुवागढीतर्फ ठप्प

कोदारी खण्ड बुधबारबाट सञ्चालनमा आएसँगै पहिलो दिन साना सवारी र दोस्रो दिन आलोपालो गरेर कन्टेनर पास गराइयो।

भाद्र ७, २०८२

विमल खतिवडा

The Kodari road connecting the northern border was opened, but it was blocked towards Rasuwagadhi

What you should know

काठमाडौँ — अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा पहिरो खसेर ठप्प बनेको तातोपानी नाका १८ दिनपछि सञ्चालनमा आएको छ । उक्त खण्डमा करिब २ सय मिटर सडकमा पहिरो खसेर आवागमनमा समस्या भएको थियो । गत साउन १७ मा आएको पहिरोले सडक बगेको थियो । जसले गर्दा तातोपानी नाकातर्फ करिब ७ सय कन्टेनर सडकमै रोकिएका थिए ।

बुधबार साँझबाट सडक सञ्चालनमा आएसँगै पहिलो दिन साना सवारी र दोस्रो दिन आलोपालो गरेर कन्टेनर पास गराइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

‘अहिले सडक एकतर्फी खुलाइएको छ,’ उनले भने, ‘पहिरोभन्दा माथिसम्म प्लास्टिकले ढाकिएको छ । त्यसैले तत्काललाई केही समस्या छैन, ठूलो पानी परे पहिरोको जोखिम भने छ ।’ धेरै मिहिनेत गरेर सडक खुलाइएको उनले सुनाए । ‘अहिले सामान लिएर आएका कन्टेनर तातोपानी नाकातर्फ रोकिएका छन्,’ उनले भने, ‘चीनतर्फ सात सय कन्टेनर रोकिएको जानकारी पाएका छौं ।’ 

अहिले नेपालबाट चीनतर्फ जाने र उताबाट नेपाल भित्रने कन्टेनरलाई आलोपालो गर्दै सडक पास गराइएको बास्तोलाले जनाए । ‘सडक निकै अप्ठ्यारो छ, एउटै कन्टेनरलाई पार गर्न निकै समय लाग्छ, जसले गर्दा एक दिनमा ६० वटा कन्टेनर आउने र त्यति नै संख्यामा चीनतर्फ पठाउने गरिएको छ,’ उनले भने । दुई दिन राम्रोसँग घाम लागे सडक सञ्चालनमा धेरै सहज हुने उनको भनाइ छ । यस नाकाबाट फलफूल, लत्ताकपडा, सवारीसाधनलगायत सामान भित्रिने गरेका छन् । 

यता स्याफ्रुबेंसी–रसुवागढी सडक भने गत साउन १४ देखि ठप्प छ । असार २४ मा आएको बाढीका कारण १२ दिनसम्म सडक ठप्प थियो । १३ दिनपछि साउन ४ बाट एकतर्फी सञ्चालनमा आएको १० दिनमै पुनः पहिरो गएपछि सडक बन्द छ । अहिले एकातिर सडक बनाइरहेको र तलबाट भोटेकोशीले खोतल्ने गरिरहेका कारण समस्या भइरहेको सडक विभागले जनाएको छ ।

यो सडक सञ्चालनमा ल्याउन अझै एक साता लाग्ने संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेले बताए । विभिन्न खण्डमा गरेर ५ स्थानमा ६ सय मिटर सडक पूर्ण रुपमा क्षति भएको छ । उत्तरगया गाउँपालिकाको खाल्टेमा सय मिटर सडक त्रिशूली नदीले कटान गरेको थियो । बिहीबार साँझबाट उक्त सडक खुलाइसकिएको न्यौपानेको भनाइ छ । ‘स्याफ्रुबेंसी–रसुवागढी सडकखण्डका दुई ठाउँमा अझै समस्या छ,’ उनले भने, ‘ती ठाउँमा चट्टान काटेर सडक खुलाइँदै छ ।’ 

गत असार २४ मा ल्हेन्देखोलामा आएको बाढीले नाका जोड्ने पुल बगाएपछि तयारी सामान आउन पाएका छैनन्, जसले गर्दा अहिले रसुवागढी भन्सार नाकासमेत ठप्प बनेको छ । अप्ठ्यारो खण्ड भएकाले सडक खुलाउन समस्या भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जनाए । ‘अहिले सडक खुलाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘तर नाका जोड्ने बेलिब्रिज बन्नुअघि नै सडक सञ्चालनमा आउँछ ।’ 

अहिले चीनर्फ बेलिब्रिज बनाउने काम अघि बढिसकेको छ । ‘५० मिटर लामो बेलिब्रिज बनाउनुपर्ने भएकाले त्यहीअनुसार काम भइरहेको बुझिएको छ,’ उनले भने, ‘चीनतर्फ पनि पुल बनाउन तयार पारिएको फाउन्डेसन ल्हेन्देखोलामा आउने बाढीले बगाउने–पुर्ने गरेकाले समस्या भइरहेको छ ।’ 

पुल बन्नुअघि स्याफ्रुबेंसी–रसुवागढी जोड्ने १६ किलोमिटर सडक अस्थायी रूपमा बनाएर सञ्चालनमा ल्याइने शर्माको भनाइ छ । ‘चाडबाड नजिकिरहेका छन्, अस्थायी रूपमा मर्मत गरेर नाकाबाट सामान ल्याउने गरी सडक सञ्चालनमा ल्याउँछौं,’ उनले भने, ‘अप्ठ्यारो खण्डका कारण कहिले भीरमा खन्दाखन्दै मेसिन अड्किने र बनाइसकेको सडक तलबाट खोलाले खोतलेर बगाउने गरेका कारण केही ढिलाइ भएको हो ।’ 

रसुवागढी नाका भएर दैनिक सयभन्दा बढी कन्टेनर ओहोरदोहोर गर्छन् । अहिले बाढीले सडक र पुल बगाएपछि नाका ठप्प छ । नाकाबाट विशेषगरी सवारीसाधन, फलफुल र लत्ताकपडा ल्याउने गरिएको छ । केही दिनअघि प्रतिनिधिसभाको पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले उत्तरी नाका जोड्ने दुवै सडक चाडबाडअगावै खोल्न भौतिक मन्त्रालयलाई निर्देशनसमेत दिएका थिए । 

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully