बियर बनाउने कच्चा पदार्थ र बोतलको आयात बढ्दो

२ वर्षमा १ अर्ब ९७ करोड रुपैयाँ बराबरको बियर बनाउने कच्चा पदार्थ माल्ट आयात गरिएको छ ।

भाद्र ७, २०८२

मनोज पौडेल

Imports of beer-making raw materials and bottles are increasing

What you should know

कपिलवस्तु — हल्का मदिरायुक्त पेय पदार्थ बियर बनाउने कच्चा पदार्थ र त्यसको सिसाको बोतल आयात बर्सेनि बढ्दै गएको छ । नेपालका प्रमुख तीन ठूला बियर उद्योगले कृष्णनगर नाका हुँदै आयात बढाइरहेका हुन् ।

मुलुकका १० ठूला भन्सार नाकामा पर्ने कृष्णनगर नाका हुँदै ४ वर्षयता बर्सेनि कच्चा पदार्थ र बोतल दुवैको आयात बढ्दै गएको छ । २ वर्षमा १ अर्ब ९७ करोड ६३ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको बियर बनाउने कच्चा पदार्थ माल्ट (फरमेन्टेड जौ) आयात भएको हो । त्यस्तै दुई वर्षमै १ अर्ब ८७ करोड ४ लाख ८८ हजार रुपैयाँको बियर राख्ने सिसाका बोतल आयात भएका छन् । 

बर्सेनि बियरका लागि जौ आयात बढ्दै गएर कृष्णनगर नाका हुँदै आयात हुने र राजस्व संकलन हुने मालबस्तुमा चौथो नम्बरमा रहेको कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत लेखनाथ भट्टराईले बताए । त्यस्तै बढी आयात हुने माल बस्तुमा बोतल पाँचौं नम्बरमा रहेको उनले बताए । 

गत आव ०८१/८२ मा १ अर्ब ९५ लाख २३ हजार मूल्य बराबरका १४ हजार १ सय २३ मेटन माल्ट आयात भएको थियो । त्यसबापत ३१ करोड ८३ लाख राजस्व संकलन भएको छ । त्यस्तै अघिल्लो आव ०८०/८१ मा ९६ करोड ६७ लाख ९९ हजार मूल्य बराबरका १३ हजार २ सय २७ टन माल्ट आयात भएको थियो । त्यसबापत २९ करोड ५ लाख ४७ हजार भन्सार राजस्व संकलन भएको थियो ।

त्यसै गरी गत आवमा ९७ करोड २५ लाख ७५ हजार मूल्य बराबरको ३ लाख ३४ हजार ४ सय ६३ ग्रुस बोतल आयात भएको थियो । एक ग्रुसमा १ सय ४४ बोतल हुन्छ । त्यसबापत २१ करोड ४१ लाख ८१ हजार भन्सार राजस्व प्राप्त भएको छ । त्यसैगरी अघिल्लो आवमा ८९ करोड ७९ लाख १३ हजार मूल्य बराबरको ३ लाख १२ हजार २ सय २५ ग्रुस बोतल आयात भएको थियो । त्यसबापत १९ करोड ७ लाख २३ हजार राजस्व प्राप्त भएको थियो ।

नेपालमा बियरको उपभोग बढेसँगै त्यसका लागि चाहिने कच्चा पदार्थ र बोतलको आयात बढेको कपिलवस्तु चेम्बर अफ कमर्सका अध्यक्ष गोपीकृष्ण शर्माले बताए । भारतको फिरोजावाद सहरबाट सिसाका बोतल र माल्ट आउने गर्छ । भारतको उत्तर प्रदेश राज्यको फिरोजावाद जिल्लाको आगरा नजिकैको फिरोजावाद सहर सिसाका भाँडाकुडा र चुरा बनाउने भारतको प्रमुख केन्द्र हो ।

त्यहाँ उत्पादित सिसाका भाँडाकुडाको राम्रो गुणस्तरका लागि परिचित हुँदा नेपाली उद्योगले त्यहीँबाट सिसाका बोतल अर्डर गरी बनाएर ल्याउने प्रमुख भन्सार अधिकृत फणीन्द्र खतिवडाले बताए । बोतलमा नाम लेखेर तयारी अवस्थामा ल्याउँछन् । त्यहाँबाट टुबोर्ग, काल्सवर्ग बियरको ब्रान्ड उत्पादन गर्ने नवलपुरको गोर्खा ब्रुअरी, अर्ना बियर ब्रान्ड उत्पादन गर्ने चितवनको यती ब्रुअरी र नेपाल आइस, रियल गोल्ड र मुस्ताङ ब्रान्ड उत्पादन गर्ने काठमाडौंको सीजी ब्रुअरी उद्योगले कच्चा पदार्थ र सिसाको बोतल आयात गरिरहेको उनले बताए । नेपालको बियर उद्योगमा सबैभन्दा बढी बजार हिस्सा गोर्खा ब्रुअरीको रहेको छ । त्यसपछि दोस्रोमा सिजी र यति ब्रुअरी छन् । 

कृष्णनगर नाकाबाट फिरोजावाद सहर नजिक पर्ने र सडकको राम्रो कनेक्टिभिटी हुँदा यहीँबाट आयात बढेको हो । भन्सार कार्यालयमा पनि अन्यत्रजस्तो भीड नभई लामो समय कुर्नु नपर्ने र यहाँबाट बुअरी उद्योगसम्म पुग्न सहज सडक हुँदा उद्योगले कृष्णनगर नाका बढी प्रयोग गरेको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए । 

त्यस्तै यो नाका हुँदै आयात हुने प्रमुख १० मालबस्तुमा केरा र अंगुर पनि छन् । गत आवमा ५४ करोड ६१ लाख रुपैयाँ बराबरको १२ हजार ९ सय ३२ टन केरा आयात भएको छ । त्यसबापत १३ करोड ३५ लाख राजस्व सकलन भएको छ । त्यस्तै गत आवमा ६२ करोड ३१ लाख बराबरको ७ हजार ३ सय ३१ टन अंगुर आयात भएको छ । 

कृष्णनगर भारतको राष्ट्रिय रेल नेटवर्कसँग जोडिएको छ । त्यस्तै भारतका प्रमुख सहरसँग भाडाका बस, जिप र भ्यानको दैनिक आवतजावत छ । मध्य नेपालको भारतसँग राम्रो यातायातको सम्पर्क जोडिएको केन्द्रका रुपमा पनि यो प्रख्यात छ ।

मनोज पौडेल

Link copied successfully