दुई दिन लगातार घटेर बन्द भयो नेप्से, कारोबार पनि घट्यो

यो साता सेयर बजारमा खासै उत्साह देखिएन, सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी बढी भएपछि समग्र नेप्से झन्डै दोहोरो अंकले घट्यो

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

NEPSE was closed for two days in a row, business also decreased

What you should know

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ९.२२ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.३३ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ५७.९७ बिन्दुमा ओर्लेर बन्द भएको छ । यो साता सेयर बजारमा खासै उत्साह देखिएन । 

पहिलो दिन करिब २७ अंकले घटेको नेप्से सोमबार ९.१६ र मंगलबार ६.५१ अंकले बढेर बन्द भयो । तर सोमबार र मंगलबारको वृद्धि बुधबारसम्म पनि टिकेन । यही कारण बुधबार नेप्से ९.७० र बिहीबार ९.२२ अंकले घटेर बन्द भएको छ । यस दिन कारोबारमा आएकामध्ये ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको घट्यो । यसरी सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनी बढी भएपछि समग्र नेप्से झन्डै दोहोरो अंकले घटेको हो ।

बिहीबार ५६ हजार ८ सय २४ पटकको कारोबारमा १ करोड ६८ लाख ५५ हजार ९ सय ६ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये निर्जीवन बिमाबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा झन्डै दोहोरो अंकले गिरावट भएको हो । निर्जीवन बिमा उपसमूहको परिसूचक ०.१४ प्रतिशतले सकारात्मक छ । 

घटेको बजारमा पनि बिहीबार विकास हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशत, सामुदायिक लघुवित्तको ५.३७, मुक्तिनाथ ऋणपत्र ३.३५, रसुवागढी हाइड्रोपावरको २.८६ र सानिमा ग्रोथ फन्डको सेयर मूल्य २.७५ प्रतिशतले बढेको छ । बिहीबार सबैभन्दा धेरै सेयर मूल्य घट्ने मुख्य पाँच कम्पनीमा क्रमशः जनउत्थान सामुदायिक लघुवित्त, सयपत्री हाइड्रोपावर, रिलायवल समृद्धि योजना, नबिल ऋणपत्र २०८२ र पञ्चकन्या माई हाइड्रोपावर छन् । 

कारोबार रकमका आधारमा हिमालयन रि–इन्स्योरेन्स, नेपाल रि–इन्स्योरेन्स, बलेफी हाइड्रोपावर, बुटवल पावर कम्पनी र हिमालयन डिस्टिलरी क्रमशः सबैभन्दा अघि छन् । पछिल्ला महिनामा सेयर धितोमा कर्जा बढिरहे पनि त्यसको सकारात्मक असर सेयर बजारमा देखिएको छैन । गत आर्थिक वर्षको ११ महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले थप ३८ अर्ब ५७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा गत वर्षको सोही अवधिमा प्रवाह भएको सेयर कर्जा ४२.८ प्रतिशतले बढी हो  । 

अघिल्लो आर्थिक वर्षको ११ महिनामा सेयर कर्जाको वृद्धिदर १४.२ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षको सुरुदेखि नै सेयर कर्जा बढिरहेको छ । तर सेयर कर्जाको अनुपातमा सेयर बजार बढ्न सकेको छैन । सेयर कर्जाका नाममा जति पैसा आएको छ, त्योभन्दा धेरै पैसा सेयर बजारमै लगानी गर्नुपर्ने बाध्यता छैन । यसकारण सेयर धितोमा प्रवाह भएको कर्जा बढ्दैमा त्यो सबै पुँजी बजारमै लगानी नभएकाले सेयर बजार अपेक्षित रूपमा बढ्न नसकेको जानकार बताउँछन् ।

कान्तिपुर

Link copied successfully