लगानी बोर्ड बैठकद्वारा तल्लो अप्सुवाका लागि पौने ९ अर्ब लगानी स्वीकृत

लगानी बोर्ड बैठकले माथिल्लो कर्णाली (९०० मेगावाट) जलविद्युत् प्रसारण लाइनको नयाँ रुट अलाइनमेन्ट सम्भाव्यता तथा वातावरणीय अध्ययनका लागि प्रवर्द्धक कम्पनी कर्णाली ट्रान्समिसनलाई सहमति दिएको छ ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

9 billion investment approved for Lower Apsuwa by investment board meeting

काठमाडौँ — लगानी बोर्डको बैठकले तल्लो अप्सुवा जलविद्युत् आयोजनाका लागि ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको ६५औं बैठकले ५४ मेगावाटको तल्लो अप्सुवाका लागि लगानी स्वीकृत गरेको हो । 

बैठकले पश्चिम सेती जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता (पीडीए)को मस्यौदा र वित्तीय ढाँचा तयार पार्न विकासकर्तासँग छलफल गरी प्रस्ताव पेस गर्ने जिम्मेवारीसहित लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । 

पाँचखाल विशेष आर्थिक क्षेत्र विकास–सञ्चालन परियोजना र काठमाडौं–हेटौंडा–वीरगञ्ज पोडवे परियोजनालाई अनसोलिसिटेड प्रस्तावका रूपमा प्राप्त भएकाले विस्तृत सम्भाव्यता अध्ययन र सर्वेक्षण अनुमतिपत्र दिन प्रमुख कार्यकारी अधिकृतलाई अधिकार दिने निर्णय गरेको छ । 

बैठकले माथिल्लो कर्णाली (९०० मेगावाट) जलविद्युत् प्रसारण लाइनको नयाँ रुट अलाइनमेन्ट सम्भाव्यता तथा वातावरणीय अध्ययनका लागि प्रवर्द्धक कम्पनी कर्णाली ट्रान्समिसनलाई सहमति दिएको छ ।

कान्तिपुर

Link copied successfully