लेमन ग्रास प्रोडक्सन र मेरो कोडिङ क्लास जस्ता नयाँ उद्यम अवधारणाले विजनेस रियालिटी सो सार्क ट्याकंबाट १-१ करोड रुपैयाँ प्राप्त गरे । यस्ता कार्यक्रमले उद्यमी र लगानीकर्ताबिच सेतुको काम गरिरहेका छन् ।
What you should know
काठमाडौँ — बुबाको व्यवसाय हेरेर हुर्किएकी बिना भुर्तेल बस्ताकोटीले आफैभीत्र हुर्काएको रहर थियो, आफ्नै उद्यम गर्ने । नेपाल छँदा उनले श्रीमान निरजसँग मिलेर चोको पाइको बिक्री वितरणमा संग्लन थिइन् । सन् २०१४ मा एमबिए गर्न अस्ट्रेलिया गर्न पुग्दा पनि उनले यो सपना छोडेकी थिइनन् ।
सन् २०१८ मा अस्ट्रेलियाबाट फर्केपछि उनी नयाँ व्यापारको योजनामा लागिन् । बिना-निरज दम्पत्तीले अस्ट्रेलिया छँदा सिकेको कामलाई यहीँ सदुपयोग गर्ने निर्णय गरे । अनि सुरु गरे अटोमोबाइल सफा गर्ने व्यवसाय । नीरजले अस्ट्रेलियामा कार धुने कम्पनीमा काम गर्दा धेरै कुरा सिकेका थिए । त्यही अनुभवका आधारमा अनलाइन कोर्स र थप खोजविनपछि उनीहरूले २०२३ मा ‘क्लिन बर्ड प्रोडक्ट’ बजारमा ल्याए । बिनाले आफ्नो कामको उद्देश्यबारे बुझाउँदै भनिन्, 'नेपाल र बाहिर सवारी साधनको संख्या बढ्दै छ, सफाई उत्पादनमा ठूलो सम्भावना छ ।'
पोखराको तालचोकमा एक रोपनीमा फैलिएको बुबाको बुबाको बन्द भइसकेको कारखाना थियो । त्यही उनिहरुले ‘लेमन ग्रास प्रोडक्सन’ को नामले व्यवसाय सुरु गरे । व्यक्तिगत रुपमा २ करोड लगानीबाट सुरु भएको यो कम्पनीबाट उनीहरुले कार सफा गर्ने स्याम्पु, वाक्स, टायर पोलिस, ग्लास क्लिनर र मुसा भगाउने सामग्री उत्पादन गर्न थाले । ९० प्रतिशत स्थानिय बजारमा पाइने कच्चा पदार्थ र बाकीँ १० प्रतिशत कच्चा पदार्थ अस्ट्रेलियाबाट ल्याएर उनिहरुले व्यवसाय अघि बढाए । लेमन ग्रासले छिट्टै कार परफ्युम र स्क्रयाच प्रुफ सामाग्रीको उत्पादन गर्ने तयारी पनि गरिरहेको छ । बिना-निरज दम्पत्तीको यही विजेनसका लागि हिमालय टेलिभिजनमा प्रसारित विजनेस रियालिटी सो सार्क ट्याङ्कबाट २० प्रतिशत सेयर बराबर १ करोड रुपैयाँ प्राप्त गरेको छ ।
बिना र निरजकै जस्तो कथा छ, सविन कार्की र मुकुल भट्टको । उनिहरुले सन् २०२१ मा ‘मेरो कोडिङ क्लास’सुरुवात गरेका थिए । एलन मस्क र जेफ बेजोसजस्ता प्रेरणाबाट उनीहरूले बालबालिका र सबैका लागि कोडिङ कक्षा सुरु गर्ने उदेश्यले यो व्यवसाय सुरुवात गरेका थिए । सविनले भने-‘नेपालमा कोडिङलाई केवल आईटी पेशेवरका लागि मानिन्थ्यो । हामीले स्कूल स्तरबाटै कोडिङ सिकाउने सपना देख्यौं ।' चार्टड अकाउन्टेन्ट रहेका कार्की नेपालको शिक्षा क्षेत्रमा केही गर्ने सोचमा पहिलेदेखि नै थिए । त्यही भएर त उनले भारतमा पाउने राम्रो जागिर छाडेर पनि उनले आफ्नै रुची पछ्याए । उनिहरुले संघर्षका साथ साथीभाईहरु र परिवारसँग सहयोग लिएर ३० लाखको लगानीमा सुरुवात गरेका थिए । सुरुवातका दिनमा धेरैले उनीहरुलाइ पत्याएका थिएनन् । अरुले नपत्याएर के भो र, उनिहरु अहिले वार्षिक ५० लाख बराबरको कारोबार गर्छन । २० भन्दा बढी कर्मचारी रहेको र १,००० भन्दा बढी विद्यार्थीलाइ कोडिङ, रोबोटिक्स र एआई सिकाइरहेको मेरो कोडिङ क्लासले पनि सार्क ट्याङ्क शो बाट ३४ प्रतिशत सेयर बराबरको मुल्य १ करोड रुपैयाँ पायो ।
सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को नामबाट सुरु भएको यो सोलाइ भारतिय सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको छ । यसको नेपाल संस्करण हिमालय टेलिभिजनबाट प्रसारित हुँदै आएको छ । जसले नयाँ उद्दम र व्यवसाय सुरु गरिरहेका नयाँ अनुहारहरुलाइ प्रेरित मात्रै गरिरहेको छैन लगानीको स्रोत पनि जुटाइरहेको छ । यस सो मार्फत सार्वजनिक भएका ११० उद्यममध्ये ३५ वटाले ४० करोडको लगानी प्राप्त गरिसकेका छन् । जसमध्य मेरो कोडीङ क्लास र लेमन ग्रास प्रोडक्सन पनि हुन् ।
स्टार्ट-अप फोरमकी अध्यक्ष जुन माथेमाले यस्ता सोहरुले उद्यमी र लगानीकर्ताबिच सेतुको काम गर्ने बताउँदै भनिन, ‘यो शोले उद्यमी र लगानीकर्तालाई जोडदै नयाँ व्यवसायिक अवधारणाहरू सिकाउने काम गरेको छ ।'
