सेयर कर्जा ४२ प्रतिशतले बढ्दा पनि बौरिएन बजार

सेयर धितोमा प्रवाह भएको ऋण पुँजी बजारमा मात्रै लगानी गर्नु पर्दैन, यस कारण सेयर कर्जा बढ्दैमा नेप्से उच्च अंकले नबढेको हो।

भाद्र ५, २०८२

यज्ञ बञ्जाडे

The market did not rise even after the share loan increased by 42 percent

What you should know

काठमाडौँ — गत आर्थिक वर्षको ११ महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले थप ३८ अर्ब ५७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा गत वर्षको सोही अवधिमा प्रवाह भएको सेयर कर्जा ४२.८ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको ११ महिनामा सेयर कर्जाको वृद्धिदर १४.२ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षको सुरुदेखि नै सेयर कर्जा बढिरहेको छ । तर सेयर कर्जाको अनुपातमा सेयर बजार बढ्न सकेको छैन ।

सेयर कर्जाका नाममा जति पैसा आएको छ, त्योभन्दा धेरै पैसा सेयर बजारमै लगानी गर्नुपर्ने बाध्यता छैन । यसकारण सेयर धितोमा प्रवाह भएको कर्जा बढ्दैमा त्यो सबै पुँजीबजारमै लगानी नभएको हुन सक्ने स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष धर्मराज सापकोटाले बताए ।

‘पछिल्ला महिनामा सेयर कर्जा बढेको देखिन्छ, यसो हुँदा बजारमा सेयरको माग बढ्नुपर्ने हो, तर अपेक्षाअनुसार बजार बढेको देखिँदैन,’ उनले भने, ‘यसले सेयर धितामा प्रवाह भएको सबै कर्जा पुँजी बजारमा आएन कि भन्ने आशंका गर्ने ठाउँ दिएको छ ।’ विगतमा ओभरड्राफ्टलगायत अरू शीर्षकमा प्रवाह भएको कर्जा पनि पुँजी बजारमा आउने गरेको थियो, पछिल्ला वर्षमा ती शीर्षकमा प्रवाह भएको कर्जामध्ये निकै कम मात्र सेयर बजारमा आएको देखिन्छ ।’ 

राष्ट्र बैंकको निर्देशनअनुसार मार्जिन प्रकृतिको कर्जा सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋण हो । त्यो ऋण सेयर बजारमै मात्र लगानी गर्नुपर्छ भन्ने बाध्यता नरहेकाले किन त्यो कर्जा अरू क्षेत्रमा लगानी भयो भनेर प्रश्न उठाउन नसकिने सापकोटाले बताए । गत जेठसम्म २५ देखि ५० लाखसम्मको सेयर कर्जा १७ र २५ लाख रुपैयाँभन्दा कमको कर्जा १०.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । सोही अवधिमा १ करोड रुपैयाँभन्दा बढीको कर्जा ५८.१ र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा भने २३.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

२०८१ जेठसम्म २५ लाखभन्दा कमको कर्जा ३.३, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा १०.६ र ५० लाखदेखि १ करोडसम्मको कर्जा ०.७ प्रतिशतले बढेको थियो । यसैगरी अघिल्लो आर्थिक वर्षको ११ महिनामा १ करोडभन्दा माथिको कर्जा २०.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षदेखि नै वित्तीय प्रणालीमा अधिक तरलता छ । ब्याजदर निरन्तर घटिरहेको छ भने कर्जा माग निकै कम छ । यसकारण पनि अहिले बैंकले सेयर लगानीकर्तालाई कर्जा लिन आग्रह गरिरहेका छन् । 

राष्ट्र बैंकको तथ्यांकले साना लगानीकर्ताले पनि बैंकबाट कर्जा लिएको देखाउँछ । तर पनि बजार किन बढ्न सकेन भन्ने अन्योल लगानीकर्तामा रहेको स्टक ब्रोकर्स एसोसिएसनका अर्का एक पूर्वअध्यक्षले बताए । ‘अहिले सेयर बजारका लागि सबैतर्फबाट अनुकूल अवस्था छ । तर सेयर बजार अपेक्षित रूपमा उकालो लाग्न सकेको छैन,’ ती अधिकारीले भने, ‘बजार बढ्न अहिले चाहिएको सकारात्मक संकेत (समाचार) मार्फत लगानीकर्ताको आत्मविश्वास वृद्धि हो । पछिल्ला दिनमा सेयर बजारमा कारोबारको प्रकृति हेर्दा लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।’

विगतमा ओभरड्राफ्टलगायत शीर्षकमा प्रवाह भएको कर्जा पनि पुाजी बजारमा आउने गरेको थियो, पछिल्ला वर्षमा त्यो निकै कम छ : धर्मराज सापकोटा पूर्वअध्यक्ष, स्टक ब्रोकर्स एसोसिएसन

सेयर बजार बढ्नका लागि आवश्यक धेरैजसो आधार तयार छन् । जस्तो– तरलता पर्याप्त छ, ब्याजदर घटिरहेको छ । खासगरी मौद्रिक नीति जारी भएपछि करिब ४/५ सय अंकले नेप्से बढेर ३ हजारभन्दा माथि पनि पुगेको थियो । तर त्यो वृद्धि धेरै टिक्न सकेन र बजार घट्न थाल्यो । सोही क्रममा बुधबारसम्म नेप्से परिसूचक २ हजार ७ सय ६७ अंकमा ओर्लिसकेको छ । यद्यपि सेयर बजारमा ठूलो गिरावट नहुँदा बैंकबाट मार्जिन कल नआएको लगानीकर्ता बताउँछन् । 

राज्यको नीतिगत व्यवस्थाले सेयर बजार प्रभावित हुँदै आएको थियो । पछिल्ला वर्षमा नीति पनि बजारअनुकूल नै देखिएका छन् । तर पनि लगानीकर्तामा आत्मविश्वास नभएकाले धेरै लगानी गर्न सकिरहेका छैनन् ।

आर्थिक वर्ष २०८१/८२ सुरु भएपछि बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको अवस्था छ । यही कारण बैंक तथा वित्तीय संस्थाले साना ठूला सेयर कर्जामा विभिन्न अफर ल्याइरहेका छन् । केही लगानीकर्ताले सेयर कर्जा लिइरहेका पनि छन् । तर शिथिल अर्थतन्त्र, अपेक्षाअनुरूप बढ्न नसकेको सेयर बजारलगायत कारण अपेक्षाअनुसार बजार बढ्न नसकेको जानकार बताउँछन् । 

नेप्से घट्दा पनि १४ अर्बले फैलियो सेयर बजारको आकार  

सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झन्डै दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ८.७० अंक (०.३४ प्रतिशत) ले घटेपछि समग्र नेप्से २ हजार ७ सय ६७.२० विन्दुमा ओर्लेर बन्द भएको छ । यस दिन कारोबारमा आएकामध्ये ५९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८८ कम्पनीको घट्यो भने २ को स्थिर रहयो । यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी बढी भएपछि समग्र नेप्सेमा झन्डै दोहोरो अंकले घटेको हो । 

यस दिन ५३ हजार ८ सय ५३ पटकको कारोबारमा १ करोड ५२ लाख ६६ हजार ६ सय १७ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ५ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन र सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा झन्डै दोहोरो अंकले गिरावट भएको हो । नेप्से घटे पनि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) भने बढेको छ । 

कारोबारमा आएकामध्ये ५९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८८ को घटेको छ । तर कुल बजार पुँजीकरण भने करिब १४ अर्बले बढेको छ । मंगलबार ४६ खर्ब ३७ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण बुधबार ४६ खर्ब २३ अर्ब रुपैयाँ कायम भएको छ । 

यज्ञ बञ्जाडे बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully