राष्ट्रियस्तरको कल्याणकारी कोषमा दाखिला गर्ने अनुपातमा पनि विभेद रहेको बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघले जनाएको छ ।
What you should know
काठमाडौँ — बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालले कर्मचारीहरुले पाउने विभिन्न सेवा सुविधाप्रति भएको विभेदको अन्त्य गर्न माग गरेको छ ।
बैठकमा सर्वोच्च अदालतको २०८१ फागुन २ गतेको फैसलाबाट बैंक, बिमा तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको रोजगारीको सुरक्षामा गम्भीर चुनौती सिर्जना भएको तथा कर्मचारी माथि व्यवस्थापनबाट ज्यादती हुन सक्ने सम्भावना बढेको विषयमा छलफल गरेको थियो ।
सो सन्दर्भमा नेपालको संविधान २०७२ को धारा ३४ तथा श्रम ऐन, २०७४ ले दिएको अधिकार प्रत्यायोजन हुने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र बिमा क्षेत्रका ऐनमा विषयवस्तु समेटी विभागीय कारबाही पुनरावलोकन गर्न सक्ने प्रावधान हुनु पर्ने माग संघले राखेको छ ।
बैठकले कर्मचारी अवकाश हुँदा प्राप्त गर्ने सबै प्रकारका अवकाश भुक्तानीमा लाग्ने करलाई ५ प्रतिशत कायम राखिनुपर्ने (निजामती कर्मचारीतर्फ भए अनुरुप हुनुपर्ने) निर्णय गरेको छ । सरकारी स्वामित्वमा रहेको बैंक, बिमा तथा वित्तीय संस्थामा नाफाको ५ प्रतिशत र निजी संस्थामा नाफाको १० प्रतिशत बोनस वितरण गर्ने विभेदकारी व्यवस्था भएको जनाएको छ ।
‘नेपालको संविधान २०७२ मा नेपाल समाजवाद उन्मुख राज्य हुनेछ भन्ने परिकल्पना गरिएको तर सरकारी संस्थामा वितरण गर्ने बोनसमा विभेद रहेको छ,’ संघको विज्ञप्तिमा उल्लेख छ, ‘अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि (समान कामका लागि समान सुविधा) तथा श्रम ऐनको समेत उल्लघंन गरेकाले बोनस दरमा भएको विभेदलाई अन्त्य गर्ने गरी नियमावली संशोधन हुनुपर्छ ।’
राष्ट्रियस्तरको कल्याणकारी कोषमा दाखिला गर्ने अनुपातमा पनि विभेद रहेको संघले जनाएको छ । यस्तै, नेपाल सरकारले ०८२ जेठ १५ गते घोषणा गरेको बजेटको बुँदा नं. ३९८ मा उल्लेखित भएको व्यवस्थाले बैंक, बिमा तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई अन्याय भएको पनि संघको ठहर छ ।
सो बुँदामा साबिकको आन्तरिक राजस्व विभागबाट स्वीकृति प्राप्त अवकाश कोषहरु जस्तै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष वा निवृत्तभरण कोषद्वारा सञ्चालित अवकाश कोषमा अनिवार्य रुपमा आबद्ध हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाले कर्मचारी सेवा निवृत्त हुँदा पाउने सेवा सुविधामा असर परेकाले सो व्यवस्था ऐच्छिक वा खारेजी हुनुपर्ने माग संघको छ ।
‘सबैजसो प्रतिष्ठानको कर्मचारी सेवा विनियमावलीहरु अर्थ मन्त्रालय हुँदै लोक सेवा आयोगमा जाने गरेको र अर्थ मन्त्रालयबाट खाईपाई आएको सेवा सुविधामा समेत कैंची लगाउने प्रतिगमन कार्य गरिरहेको हुँदा आम कर्मचारी बेचैनमा रहेका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘कर्मचारी सेवा विनियमावलीमा भएको संशोधन स्वीकृति प्रक्रियाले आम कर्मचारीको वृत्ति विकासमा गम्भीर असर पुगेको छ ।’
