९ सय रुपैयाँ प्रतिबोरा पाइने युरिया सर्वसाधारणले कालोबजारीबाट किन्दा ३ हजार ५ सयसम्म पर्छ। भारतबाट रातारात सीमा क्षेत्र ल्याइएको मल केही व्यक्तिले उज्यालो भएपछि स्थानीय बजार र घरदैलोमा पुर्याउने गरेका छन्।
What you should know
भैरहवा — एक महिनाअघि बर्खा नभएर सुक्खा खेपेका रूपन्देहीको मर्चवार क्षेत्रका किसान यतिबेला रासायनिक मलको कालोबजारीले पीडित छन् । मुलुकमै पर्याप्त उपलब्ध नभएपछि भारतीय मलमा निर्भर उनीहरूले मूल्य चर्को तिर्नुपरेको छ । गाउँमा प्रतिबोरा ९ सय रुपैयाँमा युरिया मल वितरण भइरहेको छ । तर स्थानीय सहकारीबाट नपाएपछि ‘घरदैलोमा ओसारिएको’ भारतीय युरिया प्रतिबोरा २ हजार ५ सयदेखि ३ हजार ५ रुपैयाँसम्ममा किन्नुपरेको छ ।
सर्वसाधारणका अनुसार भारतबाट रातारात सीमा क्षेत्रमा भित्र्याइएको मल केही व्यक्तिले उज्यालो भएपछि स्थानीय बजार र घरदैलोमा पुर्याउने गरेका छन् । खेतमा हरियो भइसकेको धानले मल नपाएका बेला यसरी ओसारिएको मल चर्को मूल्यमा खरिद गरिरहेको किसानले बताए । भारतीय बजारमा ४५ किलो युरिया मलको बोराको २ सय ८० भारतीय रुपैयाँ मूल्य रहेको रूपन्देहीको सम्मरीमाई–७ बेतकुइयाँका रमाशंकर यादवको भनाइ छ ।
ओसारपसारमा संलग्न व्यक्तिले भारतबाट बढीमा प्रतिबोरा ६ सय रुपैयाँमा मल ल्याएर नेपालतर्फ सीमा क्षेत्रमा भण्डारण गर्छन् । ‘नाकामा ल्याउनेबित्तिकै मलको मूल्य २२ सय रुपैयाँ प्रतिबोरा हुन्छ,’ उनले भने, ‘त्यसलाई घरघरमा पुर्याउँदा ३५ सय रुपैयाँसम्ममा बेच्छन् ।’
सीमा क्षेत्रमा मल अभावका बेला भारतबाट ल्याएर गर्जो टार्ने गरिएको छ । मुलुकभित्र आवश्यकता अनुसार आपूर्ति गर्न नसकेपछि किसानको सुविधाका लागि नेपाली प्रशासनले मल ओसारपसारमा सुरक्षा खुकुलो गर्दै आएको छ । तर पछिल्लो समय स्थानीय क्षेत्रमा ९ सय रुपैयाँ बोरा पाइने मलको तेब्बर मूल्य चुकाउनुपरेपछि किसान दुःखी छन् ।
भारतबाट ओसारेको मलको उचित नाफा खानेभन्दा कालोबजारी गर्न थालेपछि किसान चिन्तित छन् । सम्मरीमाई–७ का ७३ वर्षीय नजाबुद्दिन मुसलमानलाई प्रत्येक वर्ष ४० बोरा युरिया मल चाहिन्छ । यस पटक पनि उनको खेतमा धान फस्टाइरहेको छ । पानी पर्याप्त भएकाले मल छर्ने बेला भएको छ । ‘अहिलेसम्म सहकारीबाट एक बोरा मल लगेको छैन,’ उनले भने, ‘भारतबाट मल ओसार्नेसित ३५ सय रुपैयाँ प्रतिबोरा खरिद गर्नुपरिरहेको छ ।’
भारतबाट ल्याएको एक बोरा मलको मूल्यले नेपालमा तीन बोरा खरिद गर्न सकिने उनले बताए । ‘पहिले पानी नपरेर समस्या भयो,’ उनले भने, ‘अहिले मल नपाएर दुःख छ, मल पाएका दिन खुसी हुन्छु ।’ सम्मरीमाई–७ का इन्द्रराज कोहारको २० कट्ठा खेतका लागि प्रत्येक वर्ष एक क्विन्टल डीएपी, दुई क्विन्टल युरिया र ५० किलो पोटास आवश्यक पर्छ । अहिलेसम्म सहकारीबाट दुई बोरा युरिया पाएको उनको भनाइ छ । ‘यहींको मलले पुग्दैन,’ उनले भने, ‘अब भारतीय मलको खोजीमा छु ।’
दुई–तीन वर्षअघिसम्म नेपालमा भन्दा भारतमा रासायनिक मल सस्तो थियो । त्यसैले सीमावर्ती किसानले भारतबाटै मल ओसारेर अभाव पूर्ति गर्ने गरेको स्थानीय रामविकास चौधरीले जनाए । त्यति बेलासम्म भारतीय मलको मूल्य अधिकतम ५ सयदेखि एक हजार रुपैयाँ मात्र पर्थ्यो । गैरकृषि प्रयोजनका प्लाइउड, मदिरालगायतमा पनि युरिया प्रयोग हुने गरेकाले तस्करी व्यापक भएको उनले बताए । ‘नाकामै प्रतिबोरा साढे २२ सय रुपैयाँमा बिक्री भइरहेको छ,’ उनले भने, ‘यसले किसानलाई असहज भयो ।’
तस्करी भएको मल बोकेर जिल्लाका उत्तरी भागमा पनि पुर्याउने गरिएको छ । मर्चवारबाट भैरहवा–लुम्बिनी सडकखण्डअन्तर्गत झुलनीपुर हुँदै मल ओसार्ने गरिएको छ । जिल्लाका रोहिणी, मर्चबारी र लुम्बिनी क्षेत्रमा तस्करीको गरिएको मलका गोदाम छन् । ती गोदामबाट किसानले महँगोमा खरिद गरेर उपयोग गर्छन् । सम्मरीमाई–७ बेतकुइयाँबाट भारतीय सिमाना करिब १४ किलोमिटर दक्षिण छ ।
सहकारीमा अभाव
वितरणका लागि छानिएका मर्चबारस्थित सहकारीमा मागअनुसार मल आपूर्ति हुन सकेको छैन । जसले गर्दा किसान–किसानमा झगडा बढेको छ । सहकारीले १० गाउँका १ हजार १ घरधुरीलाई मल वितरण गर्ने जिम्मा पाएको सम्मरीमाई–७ बेतकुइयाँस्थित महालक्ष्मी स्वावलम्बन बचत तथा ऋण सहकारीका व्यवस्थापक महेश लोधले बताए । उक्त गाउँमा ८ सय बिघाभन्दा बढीमा रोपाइँ गरिएको छ ।
एक बिघाका लागि एक क्विन्टल युरिया चाहिन्छ । यस हिसाबले सबै किसानलाई पुर्याउन ८ सय क्विन्टल मल आवश्यक रहेको उनले जनाए । सबैलाई पुर्याउन कम्तीमा १ हजार ७ बोरा युरिया चाहिन्छ । अहिलेसम्म कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङबाट गरेर साढे ८ सय बोरा मल आपूर्ति भएको छ । ‘कृषि सामग्री कम्पनीमै मल गायब हुन्छ,’ उनले भने, ‘यहाँ किसान भारतीय मल किन्न बाध्य छन् ।’
थोरै मल वितरणका कारण सहकारीमा कलह निम्तिएको लोधको भनाइ छ । उनका अनुसार पैसा बुझाइसकेका किसानले मल नपाएपछि रकम फिर्ता माग्छन् । मल वितरणका दिन मध्यरातबाटै सहकारी अगाडि किसान लाम लाग्छन् । बिहान ७ बजे सहकारी खुलेपछि मलका लागि धक्कामुक्की सुरु हुन्छ । ‘सबैलाई पुर्याउने कोसिस गरे पनि गाली खाइन्छ,’ उनले भने, ‘तनाव हुने भएकाले मल वितरणका दिन प्रहरी बोलाउने गरेका छौं ।’
सम्मरीमाई–५ स्थित भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारीका व्यवस्थापक अशोककुमार तिवारीका अनुसार उक्त वडाका १ हजार ६ सय घरधुरीका लागि १० हजार बोरा मल आवश्यक छ । तर अहिलेसम्म एक हजार बोरा मल आपूर्ति नभएको उनले बताए । अहिलेसम्म ३ सय ४० बोरा मात्र आएको छ । प्रत्येक वर्ष सहकारीको कार्यक्षेत्रमा रहेका ११ टोलका लागि १० हजार बोरा मल आवश्यक हुन्छ ।
वर्षभरिमा मुस्किलले दुई हजार बोरा मात्र आपूर्ति गरिन्छ । ‘बाँकी भारतबाट ल्याएको मल किनेर गुजारा चलाउने हो,’ उनले भने, ‘जनतालाई प्रजातन्त्र आएको छैन ।’ भारतबाट मल ओसार्न सहज नरहेको उनले जनाए । मल खरिद गर्न जाँदा भारतीय सुरक्षाकर्मीले हातपात गर्छन् । दुर्व्यवहार सहेर मल ल्याएर नेपाल आएपछि स्वदेश सुरक्षाकर्मीबाट पनि किसानले दुःख पाउने गरेको उनले बताए ।
ग्रामीण क्षेत्रमा खुलेयाम भारतबाट मल भित्र्याएर कालोबजारी गरिए पनि नियन्त्रणमा प्रशासनले बेवास्ता गरेको पाइएको छ । स्थानीयका अनुसार सीमा क्षेत्रबाट नजिक रहेका बस्तीमा दिउँसै मल बिक्री भइरहेको छ । जिल्लाको उत्तरी क्षेत्रमा प्रायः साँझ, बिहान र राति मल ओसार्ने गरिएको स्थानीयको भनाइ छ । मल तस्करीमा संलग्नले ठाउँ–ठाउँमा खाली भवन र एग्रोभेटमा यस्तो मल पुर्याउने गरेका छन् ।
‘भारतबाट मल ल्याएर किसानले खेतबारीमा छर्किनु ठूलो कुरा होइन,’ सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) ले भने, ‘जनप्रतिनिधि प्रशासनले कम्तीमा कालोबजारी नियन्त्रण गर्न सक्नुपर्थ्यो, त्यो भूमिका देखिएन ।’ कालोबजारीका कारण मल अभावले पिरोलिएका किसान पीडित बनेको उनले बताए ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले भने कडाइ गर्दागर्दै पनि सुरक्षाकर्मीको आँखा छलेर मल भित्र्याइएको हुन सक्ने प्रस्ट्याए । ‘खुलेयाम मल भित्र्याउन दिएका छैनौं,’ उनले भने, ‘तस्करी गरेर महँगोमा बिक्री गरेको भए त्यो कालोबजारी हो, नियमन गरिन्छ ।’ जिल्ला सीमा निगरानीको काम सशस्त्र प्रहरीले गरिरहेका कारण सीमावर्ती पालिकामा मलको तस्करी र कालोबजारीबारे जानकारी लिएर आवश्यक कारबाही अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जनाए ।
