कष्टबिनै यात्रुले आआफ्नो घरगाउँ पुगेर चाडबाड मनाउने वातावरण बनाउनुपर्नेतर्फ उनीहरूले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
What you should know
काठमाडौँ — चाडपर्व आउनुअघि नै बाढीले क्षति गरेका, बिग्रिएका र भत्किएका सडक सहज बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कष्टबिनै यात्रुले आआफ्नो घरगाउँ पुगेर चाडबाड मनाउने वातावरण बनाउनुपर्नेतर्फ उनीहरूले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र पूर्वाधारको अवस्थाबारे गरिएको छलफलमा सांसदले बर्सेनि चाडपर्वका बेलामा मात्र नभई बाह्रै महिना चल्ने गरी सडक पूर्वाधार बनाउनुपर्ने माग गरे । बर्खाका कारण अन्तरदेशीय सडक अरनिको राजमार्गको कोदारी खण्ड र रसुवागढी नाका जोड्ने बाटो छिटो खुलाउनेबारे पनि छलफल भयो ।
चाडपर्वको मुखमा दुवै उत्तरी नाका (रसुवागढी र तातोपानी जोड्ने सडक) बन्द रहेकाले छिटोभन्दा छिटो खुलाउनुपर्ने सांसद माधव सापकोटाको भनाइ छ । ‘यी नाकाबाट फलफूल, लत्ताकपडा र दैनिक उपभोग्य वस्तु आयात हुन्छन्,’ उनले भने, ‘फेरि चाडपर्वका बेला यी नाका बन्द भइरहे सामान आउन नसक्दा बजार महँगिने हुन्छ ।’
अरनिको राजमार्गको कोदारी खण्ड छिटो खुलाउनेतर्फ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लाग्नुपर्नेमा सांसदको एकमत छ । जहाँ घरहरूसमेत पहिरोको चपेटामा परेको उनीहरूको भनाइ छ । कोदारी खण्ड र स्याफ्रुबेंसी–रसुवागढी सडक अवरुद्ध भएर चाडपर्वको मुखमा समस्या थपिएको अर्का सांसद महेश बस्नेतले बताए ।
यी सडक चाडबाडअघि नै बन्नुपर्नेमा उनले जोड दिए । धेरैजसो सांसदले चाडबाडका बेला सडक सकस हुने गरेका कारण अहिलेबाटै त्यसतर्फ ध्यान दिएर काम गर्न सुझाए । बाढीले क्षति गरेका सडक छिटो मर्मतसम्भार गरिसक्नुपर्ने सांसद सीता गुरुङको भनाइ छ । ‘बर्खाले क्षति गरेपछि निर्माण थालिएका सडकको नियमित र प्रभावकारी अनुगमन हुनुपर्छ,’ उनले भनिन्, ‘ता कि चाडपर्वका बेला यात्रुले सास्ती नपाऊन् ।’
चाडबाडमा अनलाइन टिकट खुला गरिने भए पनि त्यसमा कालोबजारी हुने गरेका कारण त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने उनको सुझाव छ । अन्तरदेशीय सडकले राजधानीलाई मात्र जोड्ने नभई ती मुलुकको मेरुदण्ड भएकाले तिनको सञ्चालनमा सरकारले हेलचक्य्राइँ गर्न नहुने सांसद प्रकाश ज्वालाले बताए । ‘स्याफ्रुबेंसीदेखि रसुवागढी नाका र अरनिको राजमार्गको कोदारी खण्ड चाडबाड आउने बेलासम्म बनिसक्नुपर्छ,’ उनले भने, ‘नत्र अन्य नाका हुँदै बजार आइपुग्ने सामान महँगिन्छ, मन्त्रालयले यी दुवै नाका जोड्ने सडकलाई विशेष प्राथमिकतामा राखेर काम गर्नॅपर्छ ।’
चाडबाडका बेला यात्रुलाई सुरक्षितसाथ घरसम्म पुग्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ छ । ‘चाडबाडमा अनलाइन टिकटको व्यवस्था गर्दा झगडा गर्ने वातावरण नबनोस्, फेरि ठूला काममा बिचौलिया हाबी हुन्थे, दसैंमा घर जाने टिकटमा समेत बिचौलिया हाबी हुनु आश्चर्य हो,’ उनले भने, ‘यस्ता कार्यलाई निरुत्साहित गर्न जरुरी छ ।’ अहिले जुन–जुन सडकमा समस्या छ, त्यहाँ वैकल्पिक उपाय खोजिनुपर्नेमा सांसद शक्तिबहादुर बस्नेतको जोड छ ।
सडक पूर्वाधार निर्माणमा अल्पकालीनभन्दा दीर्घकालीन समस्या समाधानमा ध्यान दिनुपर्ने सांसद निशा डाँगीले बताइन् । ‘जलवायु अनुकूलन पूर्वाधार निर्माणमा सरकारको ध्यान जानुपर्छ,’ उनले भनिन् । चाडपर्वका बेला क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई ट्राफिक प्रहरी परिचालन गरेर कारबाही गर्नॅपर्ने सांसद सुशीला श्रेष्ठले जनाइन् ।
दसैं–तिहार आउने बेलामा मात्र नभई बाह्रै महिना नै सडकलाई सहज बनाएर यात्रुलाई घरसम्म पुग्ने वातावरण बनाउनुपर्ने सांसद दयालबहादुर शाहीको भनाइ छ । एक साताभित्र स्याफ्रुबेंसी–रसुवागढी सडक खोल्ने गरी काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । अरनिको राजमार्गको कोदारी खण्डलाई कसरी खोल्ने भनेर तयारी गरिएको र त्यहीअनुसार काम भइरहेको उनले जनाए ।
सडक पूर्वाधारलाई सहज बनाएर तातोपानी र रसुवागढी नाकाबाट सामान ल्याउने वातावरण बनाउनुपर्ने पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहको भनाइ छ । ‘सडक मात्र होइन, चाडबाडका बेला अनलाइन टिकट बिक्रीलाई सहज बनाइनुपर्छ,’ उनले भने, ‘सवारी चालक र बुकिङ काउन्टरका व्यक्तिले यात्रुसँग बढी भाडा असुल्न सक्छन्, राम्ररी जाँच गरेर बढी भाडा लिएको पाइए कारबाही गर्नॅपर्छ ।’
अरनिको राजमार्गअन्तर्गत कोदारी खण्ड खुलाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बताए । ‘रसुवागढी नाका जोड्ने पुल चीनले बनाउँदै छ, सडक हामीले बनाइराखेका छौं,’ उनले भने, ‘चीनले पुल बनाइसक्दा सडक पनि सञ्चालनमा आइसक्छ ।’ चाडबाडका बेला टिकटमा कालोबजारी हुन नदिन र सडक सहज रूपमा सञ्चालन गर्न मन्त्रालयले विशेष ध्यान दिने उनको भनाइ छ ।
अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा साउन १७ मा पहिरो खसेपछि ठप्प छ । तातोपानी नाकाबाट अहिले जोखिम मोलेर भरियालाई सामान बोकाएर ल्याइराखिएको छ । स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड यति बेला सुनसान छ । गत असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले नाका जोड्ने पुल बगाएपछि तयारी सामान आउन पाएका छैनन्, जसले गर्दा अहिले रसुवागढी भन्सार नाकासमेत ठप्प बनेको छ ।
स्याफ्रुबेंसी–रसुवागढी खण्डका आधा दर्जनभन्दा बढी स्थानमा भोटेकोसीको बाढीले सडक बगाउँदा सवारी आवागमन बन्द छ । बाढीले सडकमा क्षति गरेको १३ दिनपछि साउन ४ बाट एकतर्फी सञ्चालनमा आएको थियो ।
