जनताको समस्या समाधान गर्न सरकार केन्द्रित हुनुपर्छ : मन्त्री अधिकारी 

संविधानमा उल्लेख भएअनुसार नै तीन तहको सरकारको सहकार्य र समन्वय अपरिहार्य रहेको उनको भनाइ छ ।

भाद्र ३, २०८२

ज्योती श्रेष्ठ

The government should focus on solving the problems of the people: Minister Adhikari

What you should know

काभ्रे — भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जनताको समस्या समाधान गर्न सरकार केन्द्रित हुनुपर्ने बताएका छन् । 

काभ्रेको भुम्लु गाउँपालिकामा मंगलबार आयोजित गाउँपालिकाको वडा नं ७ र ८ को जग्गा धनी प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सरकार जनताको समस्या समाधान गर्न केन्द्रित हुनुपर्ने बताएका हुन् । उनले भने, ‘लालपुर्जाविहीन भएका नागरिकहरुको समस्याप्रति सरकारको चासो रहँदै आएको थियो, यसलाई विषयलाई प्राथमिकतामा पनि राखिएको थियो, जसअनुरुप यहाँका नागरिकलाई लालपुर्जा प्रदान गरिएको छ ।’ उनका अनुसार, मुलुकलाई सुखी र समृद्ध बनाउने सरकारको अभियान रहेको छ । 'सोही अभियानअनुरुप नै यहाँका नागरिकको समस्या समाधान गर्न हामी केन्द्रित रहेका थियौं,' उनले भने । 

‘जनताले दिएको मत र विश्वासले हामी यहाँ छौं,’ उनले भने, ‘जसअनुसार नै  नेपालमा संविधान पनि बनेको छ, जसको कार्यान्वयनको क्रममा रहेका छौं, कार्यान्वयन गर्दै, केही संशोधन गर्नुपर्ने देखिएको छ भने केही नयाँ कानुन बनाउनुपर्ने अवस्था पनि रहेको छ ।’ 

संविधानमा उल्लेख भएअनुसार नै तीन तहको सरकारको सहकार्य र समन्वय अपरिहार्य रहेको उनको भनाइ छ । ५० वर्षदेखि जनताको समस्या समाधान गर्न पनि तीन तहकै सरकार केन्द्रित भएर आज यहाँका नागरिकलाई लालपुर्जा वितरण गर्न सकिएको उनले बताए । 

२०३२ सालमा तत्कालीन भुम्लु र फलाँटे गाउँ विकास समितिबीच सिमाना विवाद भएपछि त्यहाँका बासिन्दाले जग्गा नापी भए पनि लालपुर्जा पाउन सकेका थिएनन् । त्यसयता विभिन्न प्रयास भए पनि विवादका कारण दुई वडाका करिब १ हजार परिवार लालपुर्जाविहीन अवस्थामा रहँदै आएका थिए । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully