चाडवाड अगावै सडक सहज बनाउन सांसदहरूको माग

चाडपर्वमा सडक अवरुद्ध हुँदा महँगी बढ्ने भन्दै सांसदहरूले सडक पूर्वाधारको दीर्घकालीन सुधारमा सरकारको ध्यानाकर्षण गराएका छन्।

भाद्र २, २०८२

विमल खतिवडा

Parliamentarians demand to make the road smooth before the festival

What you should know

काठमाडौँ — चाडवाड आउनुअघि नै बाढीले क्षति गरेका, बिग्रिएका र भत्किएका सडक सहज बनाउनु पर्नेमा सरोकारवाला निकायले जोड दिएका छन्। बिना कष्ट यात्रुले आ-आफ्नो घर गाउँ पुगेर चाडवाड मनाउने वातावरण बनाउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए।

 आइतबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र पूर्वाधारको अवस्थाबारेको छलफलमा सांसदहरूले बर्सेनि चाडवाडका बेला मात्र भन्दा नभई बाह्रै महिना चल्ने गरी सडक पूर्वाधार बनाउनुपर्ने माग गरे । बर्खाका कारण अन्तरदेशीय जोड्ने अरनिको राजमार्गको कोदारी खण्ड र रसुवागढी नाका जोड्ने सडक छिटो खुलाउनेबारे पनि छलफल भएको थियो।

छलफलका क्रममा सांसद माधव सापकोटाले चाडवाडको मुखमा दुवै उत्तरी नाका (रसुवागढी र तातोपानी जोड्ने सडक) बन्द रहेकाले छिटोभन्दा छिटो खुलाउनुपर्ने बताए। ‘यी नाकाबाट फलफूल, लत्ताकपडा, दैनिक उपभोग्य बस्तु आयात हुन्छ,’ उनले भने, ‘फेरि चाडवाडको समयमा यी नाका बन्द भइरहे सामान आउन नसक्दा बजार महँगिने हुन्छ ।’

उनले अरनिको राजमार्गको कोदारी खण्ड छिटो खुलाउनेतर्फ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए । जहाँ घरहरू समेत पहिरोको चपेटामा परेको उनको भनाइ छ। कोदावरी खण्ड र स्याफ्रुबेंसी–रसुवागढी सडक अवरुद्ध भएर चाडवाडको मुखमा समस्या थपिएको अर्का सांसद महेश बस्नेतले बताए।

उनले यी सडक चाडवाड अघि नै बन्नुपर्नेमा जोड दिए । अधिकांश सांसदले चाडवाडका बेला सडक सकस हुने गरेका कारण अहिलेबाटै त्यसतर्फ ध्यान दिएर काम गर्नुपर्ने उनले सुझाव दिए। बाढीले क्षति गरेका सडक छिटो मर्मत सम्भार गरी सक्नु पर्ने सांसद सीता गुरुङले बताइन् । ‘बर्खाले क्षति गरेपछि निर्माण थालिएका सडकहरुको नियमित र प्रभावकारी अनुगमन हुनुपर्छ,’ उनले भनिन्, ‘ता कि चाडवाडका बेला यात्रुले सास्ती पाउनु भएन ।’

चाडवाडमा अनलाइन टिकट खुल्ला गरिने भए पनि त्यसमा कालोबजारी हुने गरेका कारण त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने उनको सुझाव छ। अन्तरदेशीय सडकले राजधानीलाई मात्र जोड्ने नभई ती मुलुकको मेरुदण्ड भएकाले सुचारु गर्न सरकारले हेलचक्र्याँई गर्न नहुने सांसद प्रकाश ज्वालाले बताए । ‘स्याफ्रुवेसीदेखि रसुवागढी नाका र अरनिको राजमार्गको कोदावरी खण्ड चाडवाड आउनेबेलासम्म बनिसक्नु पर्छ,’ उनले भने, ‘नत्र अन्य नाका हुँदै बजार आइपुग्ने सामान महँगिन्छ, मन्त्रालयले यी दुवै नाका जोड्ने सडकलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’

चाडवाडका बेला यात्रुलाई सुरक्षितसाथ घरसम्म पुग्ने वातावरण सरकारले बनाउनु पर्ने उनको भनाई थियो । ‘चाडवाडमा अनलाइन टिकटको व्यवस्था गर्दा झगडा गर्ने वातावरण नबनोस्, फेरि ठुला काममा बिचौलिया हाबी हुन्थे हुन्थे, दसैँमा घर जाने टिकटमा समेत बिचौलिया हाबी हुनु आश्चर्य हो,’ उनले भने, ‘यस्ता कार्यलाई निरुत्साहित गर्न जरुरी छ ।’ अहिलेको अवस्थामा ठेक्का कहाँ कति लागो भन्ने भन्दा पनि चाडवाडमा सडक सहज हुन्छन् हुँदैनन् भन्ने कुरामा सरकारको ध्यान जानुपर्ने अर्का सांसद शक्तिबहादुर बस्नेतले बताए । ‘अहिले जुन–जुन सडकमा समस्या छ, त्यहाँ वैकल्पिक उपाय खोजिनु पर्छ,’ उनले भने ।

सडक पूर्वाधार निर्माणमा अल्पकालीन भन्दा दीर्घकालीन समस्या समाधानमा ध्यान दिनुपर्ने सांसद निशा डाँगीले बताइन्। ‘जलवायु अनुकूलन पूर्वाधार निर्माणमा सरकारको ध्यान जानु पर्छ,’ उनले भनिन्। अर्की सांसद सुशीला श्रेष्ठले चाडवाडका बेलामा क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनहरूलाई ट्राफिक प्रहरी परिचालन गरेर कारबाही गर्नुपर्ने बताइन्।

दसैँ तिहार आउनेबेलामा मात्र मात्र नभई बाह्र महिना नै सडकलाई सहज बनाएर यात्रुलाई घरसम्म पुग्ने वातावरण बनाउनु पर्ने सांसद दयाल बहादुर शाहीले बताए । एक साताभित्र स्याफ्रुवेसी–रसुवागढी सडक खाल्नेगरी काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । अरनिको राजमार्गको कोदारी खण्डलाई कसरी खोल्ने भनेर तयारी गरिएको र त्यही अनुसार काम भइरहेको उनले बताए । ‘चाडवाडलाई मध्यनजर गर्दै सडक सहज बनाउने काम भइरहेको छ,’ उनले भने, ‘पहिरोकाकारण ठप्प बनेका सडक खुलाउने काम जारी छ ।’

सडक पूर्वाधारलाई सहज बनाएर तातोपानी र रसुवागढी नाकाबाट सामान ल्याउने वातावरण बनाउनुपर्ने पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले बताए । ‘सडक मात्र होइन, चाडवाडको बेला अनलाइन टिकट बिक्रीलाई सहज बनाइनु पर्छ,’ उनले भने, ‘सवारी चालक, काउन्टरहरूले यात्रुसँग बढी भाडा असुल्नु भएन, चेकजाँच गरेर बढी भाडा लिएको पाइए ठाउँका ठाउँ कारबाही गर्नुपर्छ ।’

अरनिको राजमार्गअन्तर्गत कोदारी खण्ड खुलाउन लागिपरिरहेको भौतिक मन्त्री देवेन्द्र दाहालले बताए । ‘रसुवागढी नाका जोड्ने पुल चीनले बनाउँदै छ, सडक हामी बनाई राखेका छौँ,’ उनले भने, ‘चीनले पुल बनाइसक्दा सडक पनि सञ्चालनमा आइसक्छ ।’ चाडवाडका बेला टिकटमा कालोबजारी हुन नदिन र सडक सहज रूपमा सञ्चालन गर्न मन्त्रालयले विशेष ध्यान दिने उनको भनाइ छ ।

अरनिको राजमार्ग अन्तर्गत कोदारी खण्ड साउन गत १७ मा पहिरो खसेर ठप्प बनेको छ । तातोपानी नाकाबाट अहिले जोखिम मोलेर भरियालाई सामान बोकाएर ल्याइ राखिएको छ । स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड यति बेला सुनसान छ । गत असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले नाका जोड्ने पुल बगाएपछि तयारी सामान आउन पाएका छैनन्, जसले गर्दा अहिले रसुवागढी भन्सार नाकासमेत ठप्प बनेको छ ।

स्याफ्रुबेंसी–रसुवागढी खण्डका आधा दर्जनभन्दा बढी स्थानमा भोटेकोसीको बाढीले सडक बगाउँदा सवारी आवागमन बन्द छ । बाढीले सडकमा क्षति गरेको १३ दिनपछि साउन ४ बाट एकतर्फी सञ्चालनमा आएको थियो । फेरि ११ दिनपछि दोस्रो पटक साउन १४ मा आएको बाढीले सडक बगाएपछि सवारी आवागमन ठप्प छ । स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म १६ किलोमिटर छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully