१७५ कम्पनीको सेयर मूल्य बढे पनि सोमबारको कारोबार रकम आइतबारको तुलनामा घटेर ६ अर्ब १७ करोडमा सीमित रह्यो।
काठमाडौँ — सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ९.१६ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ०.३३ अंकले बढेपछि समग्र नेप्से २ हजार ७ सय ७०.३९ विन्दुमा उक्लेर बन्द भएको छ । आइतबार नेप्से २७ अंकले घटेको थियो ।
सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । सो दिन कारोबारमा आएकामध्ये १७५ कम्पनीको सेयर मूल्य बढ्दा ७४ वटा कम्पनीको घट्यो । सो दिन ६७ हजार ९ सय ५९ पटकको कारोबारमा १ करोड १५ लाख २९ हजार ८ सय २१ कित्ता सेयर किनबेच भए ।
उक्त किनबेचमा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । आइतबार सेयर बजारमा ७ अर्ब ५३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएकामध्ये सामुहिक लगानी कोष र अन्य उपसमूहको परिसूचक घटे । बाँकी ११ उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से ९.१६ को अंकको वृद्धिमा टेवा पुगेको हो ।
