नेप्से ९ अंकले बढ्यो, धेरै कमाउनेमा जलविद्युत् क्षेत्रका कम्पनी

सोमबार १ सय ७५ कम्पनीको सेयर मूल्य बढ्दा ७४ को घट्यो, १ करोड १५ लाख २९ हजार ८ सय २१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोडको कारोबार

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

NEPSE rose by 9 points, hydropower sector among the top earners

What you should know

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ९.१६ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ०.३३ अंकले बढेपछि समग्र नेप्से २ हजार ७ सय ७०.३९ बिन्दुमा उक्लेर बन्द भएको छ । आइतबार नेप्से २७ अंकले घटेको थियो । सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।

यस दिन कारोबारमा आएकामध्ये १७५ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको घट्यो । यसरी सेयर मूल्य घट्नेभन्दा बढ्ने कम्पनी बढी भएपछि समग्र नेप्सेमा ९ अंकले वृद्धि भएको हो । उक्त दिन ६७ हजार ९ सय ५९ पटकको कारोबारमा १ करोड १५ लाख २९ हजार ८ सय २१ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । आइतबार सेयर बजारमा ७ अर्ब ५३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष र अन्य उपसमूहका परिसूचक घटे । बाँकी ११ उपसमूहका परिसूचक बढेपछि समग्र नेप्से ९.१६ को अंकको वृद्धिमा टेवा पुगेको हो । सामूहिक लगानी कोषको परिसूचक ०.४९ र अन्यको ०.५८ प्रतिशतले घटे । सो दिन व्यापार उपसमूहको परिसूचक १.२९ प्रतिशतले बढ्यो । बाँकी ११ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा कमले बढेको नेप्सेको तथ्यांक छ ।

जलविद्युत् कम्पनीका लगानीकर्ताले सोमबार धेरै कमाएका छन् । यस दिन कारोबारमा आएकामध्ये युनियन हाइड्रोपावरको सेयर मूल्य ६.१०, अपर स्यांगे हाइड्रोपावरको ५.९४, अपर लोहोरे खोला हाइड्रोपावरको ५.४३, दोर्दीखोला जलविद्युत्को ४.७८ र लिबर्टी इनर्जीको ४.५४ प्रतिशतले बढ्यो । यस दिन सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीको सूचीमा सम्पदा लघुवित्त वित्तीय संस्था छ । उक्त कम्पनीको सेयर मूल्य ४.८१ प्रतिशतले घटेको छ ।

यसअनुसार समता घरेलु लघुवित्तको सेयरमूल्य ३.५३, नेपाल रिपब्लिक मिडियाको ३.३६, लक्ष्मी भ्यालु फन्ड २ को ३.०२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को सेयर मूल्य २.०३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । कारोबार रकमका आधारमा सोमबार दिन नेपाल पुनर्बिमा कम्पनी, बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट, कालिका पावर कम्पनी र हिमालयन डिस्ट्रिलरी मुख्य पाँच कम्पनी बने ।

कान्तिपुर

Link copied successfully