३३ जिल्लामा लम्पी संक्रमण, ३१ हजार पशु प्रभावित, १ हजार ५० पशु मरे। रोगबाट १ अर्ब ५४ करोडभन्दा बढी नोक्सानको अनुमान गरिएको छ भने सबैभन्दा धेरै कोशी र मधेशमा प्रभाव परेको छ। सुदूरपश्चिममा भने पुष्टि भइनसकेको विभागको दाबी छ।
What you should know
काठमाडौँ — करिब साढे दुई वर्षअघि महामारीको रूप लिएको लम्पी स्किन रोग अहिले फेरि तीव्र बनेको छ । साउन २६ सम्मको पशु सेवा विभागको विवरणअनुसार लम्पी रोग ३३ जिल्लामा फैलिइसकेको छ । ३१ हजार ३ सय ६४ पशु रोगबाट प्रभावित भएकामा १ हजार ५० पशु मरेका छन् ।
‘झापाको मेचीनगरको केही गाउँमा देखिएको लम्पी अहिले तीव्र रूपमा फैलिएको छ । सुदूरपश्चिमबाहेक सबै प्रदेशमा रोग फैलिइसकेको छ,’ विभागका एक अधिकारीले भने, ‘तत्काल नियन्त्रणमा नआए फेरि विगतकै जस्तो भयावह हुने अवस्था देखिन्छ ।’
लम्पी रोग भैंसीमा विषाणुबाट लाग्ने संक्रामक रोग हो । यो रोग गर्मीयाममा तीव्र रूपमा फैलिन्छ । लामखुट्टे, झिँगा, किर्ना, भुसुनालगायतको टोकाइबाट यो रोग सर्ने विभागले जनाएको छ । संक्रमित पशु एक स्थानबाट अर्को स्थानबाट अन्यत्र लैजाँदा संक्रमित पशुसँग प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशुमा समेत तत्काल सर्छ । यही कारण पनि संक्रमण बढेको जानकार बताउँछन् ।
‘तीव्र रूपमा फैलिने लम्पी देखिनु भनेको गम्भीर हुनुपर्छ । तत्काल नियन्त्रणमा नआए यसले फेरि महामारीको रूप लिने सम्भावना हुन्छ,’ नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष मनोजकुमार शाहीले भने, ‘डेढ वर्षअघि तथ्यांकले एउटा पशुमा रोग संक्रमण भए ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुने देखाएको छ । ३१ हजारभन्दा बढीमा संक्रमणले अर्बौं रुपैयाँको नोक्सान हुन्छ ।’
परिषद्ले गरेको अध्ययनअनुसार वैज्ञानिक तथ्यका आधारमा अनुमानित २० प्रतिशत पशुमा रोग सर्ने दर, मृत्युदर ३.८ प्रतिशत र एउटा पशुबाट न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुने देखिन्छ । सोही फर्मुलाअनुसार संक्रमित ३१ हजार ३ सय ६४ संक्रमित पशुबाट १ अर्ब ५४ करोड नोक्सान हुने परिषद्को अनुमान छ ।
‘अहिले समस्या देखिनुको मुख्य चुनौती संरचना हो । औपचारिक रूपमा सही तथ्यांक कहींबाट आउँदैन । कुन स्थानीय तहमा कुन रोग छ । संघलाई जानकारी नै हुँदैन, धेरै समस्या आएपछि मात्रै बाहिर आउने गरेको छ,’ उनले भने, ‘मुख्य समस्या समन्वय नै हो । पशु सेवा विभागले रेकर्ड राख्ने मात्रै काम गरेको छ ।’
सबैभन्दा धेरै कोशीमा रोग फैलिएको छ । कोशीको ओखलढुंगा र सोलुखुम्बुबाहेक सबै जिल्लामा लम्पी रोग फैलिएको छ । २४ हजार ८ सय ६१ पशुमा रोग देखिएको छ भने यसबाट ७ सय ६९ पशु मरेको जनाइएको छ ।
दोस्रोमा मधेश प्रभावित बनेको छ । मधेशका सबै जिल्लामा रोग फैलिएको छ । यसबाट ४ हजार ४ सय ९४ पशु प्रभावित बनेका छन् भने १ सय ७९ पशु मरेको विभागको तथ्यांक छ । बागमतीका मकवानपुर, सिन्धुली, काभ्रेपालाञ्चोक, चितवन र धादिङमा रोग देखिएको छ । यी जिल्लामा १ हजार ७ सय ९८ पशु संक्रमित छन् । बागमतीमा लम्पीबाट ९२ पशु मरेको विभागको तथ्यांक छ ।
गण्डकीको गोरखा र नवलपरासी जिल्लामा ६१ पशुमा रोग देखिएको छ भने ४ वटा पशु मरेका छन् । लुम्बिनीका ५ जिल्ला नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची र रोल्पामा लम्पी संक्रमण देखिएको छ । यी जिल्लामा १ सय ४२ पशुमा लम्पी देखिएको छ भने ६ वटा पशु मरेका छन् । कर्णालीको रुकुम पश्चिममा ८ वटा पशुमा रोग देखिएको छ ।
सुदूरपश्चिममा भने रोग पुष्टि भइनसकेको विभागले जनाएको छ । ‘रोग पहिचान (परीक्षण गर्न) ७ वटा ल्याब छन्, त्यही वरिपरिको मात्रै परीक्षण अलि प्रभावकारी बनेको छ । अन्य स्थानबारे केही जानकारी नै हुँदैन, कुन रोग कसरी फैलिएको छ, थाहै हुन्न,’ उपाध्यक्ष शाहीले भने, ‘बिरामी भएपछि रोग पहिचान गर्न नै समय लाग्छ । त्यसपछि धेरै प्रभावित भएका छन् ।’
गत जेठमा झापाको मेची नगरपालिकाका केही गाउँमा लम्पी रोग देखिएपछि विभागले वरिष्ठ पशु चिकित्सक मुलुक उपाध्यायको संयोजकत्वमा अध्ययन टोली खटाइएको थियो । अध्ययनका क्रममा खोप लगाइएका पशुलाई लम्पी रोग थिएन । खोप लगाउन छुटेकालाई लम्पी रोग संक्रमण भएको उपाध्यायले जनाए ।
‘खोप लगाउन छुटेका र साना बाच्छाबाच्छीलाई बढी रोग लागेको देखियो,’ उनले भने, ‘विभागले नीतिगत व्यवस्था गर्ने हो, खोप लगाउने काम पालिकाले नै गर्छ ।’ जानकारका अनुसार रोग लाग्नुअघि नै भ्याक्सिन दिनुपर्छ । रोग लागिसकेको अवस्थामा भने भ्याक्सिनको प्रभावकारिता त्यति हुँदैन ।’
विभागकै अनुसार ३ महिनामा उपचारपछि १७ हजार ९ सय ८२ पशु निको भएका छन् । १२ हजार ७ सय ३२ पशु अझै संक्रमित नै रहेको विभागले जनाएको छ । नेपालमा पहिलो पटक २०७७ असारमा लम्पी देखिएको थियो ।
२०७७ र २०७८ (दुई वर्ष) मा १६ जिल्लाका २९ पालिकामा फैलिएको रोगबाट ३ हजार ३ सय १ पशु संक्रमित भई १३ वटा पशु मरेका थिए । तर २०७९ चैतमा फेरि देखापरेको थियो । २०७९ चैतमा कोशीबाट महामारीका रूपमा फैलिएको रोगबाट १५ लाख ३६ हजार पशु संक्रमित भएका थिए । र, ७७ जिल्लामै रोग पुष्टि भएको थियो । सात महिनामा ६५ हजार ४ सय ४१ पशु मरेका थिए ।
७ लाख ६७ हजार खोप वितरण
लम्पी स्किन रोगका लागि ७ लाख ६७ हजार ९ सय ४० खोप वितरण गरेको दाबी गरिएको छ । गत जेठमा लम्पी रोप पुष्टि भएपछि कोशीमा ३ लाख ३७ हजार १ र मधेशमा १ लाख ६७ हजार ६ सय ७४ खोप वितरण गरिएको छ । बागमतीमा ९४ हजार ८ सय ७७ र गण्डकीमा १ लाख ३० हजार ३ सय ८५ खोप वितरण गरिएको छ । लुम्बिनीमा ३७ हजार २ सय ३ र कर्णालीमा ५ सय खोप वितरण गरिएको विभागले बताएको छ ।
