सरोकारवाला भन्छन्, ‘सक्छ सरकारले चलाओस्, सक्दैन निजी कम्पनीलाई दिएर भए पनि विमानस्थल चलाउनुपर्छ, यसमा ढिलाइ हुनुहुँदैन’
What you should know
भैरहवा — सञ्चालनको तीन वर्षसम्म अन्तर्राष्ट्रिय उडानको ठेगान नभएपछि रूपन्देहीस्थित सरोकारवालाले निजी क्षेत्रलाई जिम्मा दिएर भए पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउनुपर्नेमा जोड दिएका छन् । सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरमा ठेक्का आह्वान गरेर भए पनि विमानस्थल चलाउनुपर्ने उनीहरूको भनाइ छ ।
रूपन्देही क्षेत्रका उद्योगी, व्यवसायी र नागरिकको भविष्यसित जोडिएको विमानस्थल भएकाले सरकार आफैंले नसक्ने भए निजी क्षेत्रलाई चलाउन जिम्मा दिनुपर्ने उनीहरूले बताए । निजी क्षेत्रबाट चलाउन आवश्यक नीतिगत र कानुनी सहजीकरणका लागि उनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसित आग्रह गरे ।
रूपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी छलफलमा सहभागी सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले सरकारी उदासीनताका कारण विमानस्थल सञ्चालन हुन नसकेको दाबी गरे । विमानस्थल सञ्चालनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच तालमेल हुनुपर्ने उनको भनाइ छ ।
‘एउटा सरकार तातेर मात्र विमानस्थल चल्दैन,’ उनले भने, ‘तीनै तहका सरकार मिलेर गौतमबुद्ध जन्मस्थल लुम्बिनीको सकारात्मक ब्रान्डिङ गरेर विमानस्थल चलाउन पहल गर्नुपर्छ ।’ विश्वभरिका बुद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीमा निर्माण भएको विमानस्थल नचल्नु भनेको ‘माल पाएर पनि चाल नपाए’ जस्तो भएको उनले बताए । ‘सरकारले चलाउन सक्दैन भने निजी क्षेत्रलाई जिम्मा देओस्,’ खाँले भने, ‘हामी सहकार्य गर्न तयार छौं ।’
विमानस्थल नचलेकै कारण जिल्लास्थित हरेक क्षेत्रमा समस्या बढिरहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले जनाए । ‘रूपन्देहीका बासिन्दाले विमानस्थल हेरेर हैसियतअनुसार घरजग्गादेखि होटल व्यवसायमा लगानी गरेका छन्,’ उनले भने, ‘सक्छ सरकारले चलाओस्, सक्दैन निजी कम्पनीलाई दिएर भए पनि विमानस्थल चलाउनुपर्छ । यसमा ढिलाइ हुनुहुँदैन ।’
विमानस्थल सञ्चालनमा आएपछि रूपन्देहीमा गरिएको लगानी जोगिने र सरकारले पनि गाली खानु नपर्ने उनले बताए । विमानस्थल चल्छ कि चल्दैन भन्ने विषय सरकारले प्रस्ट पार्नुपर्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यको भनाइ छ । ‘हामीलाई सधैं निराशामा राख्न पाइँदैन,’ उनले भने, ‘चलाउन सकिँदैन भने सक्दैनौं भने भइहाल्यो ।’
सरकारको काम गर्ने इच्छाशक्ति नहुँदा विमानस्थल सञ्चालन ओझेलमा परेको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपानेले जनाए । ‘काठमाडौंमा सिन्डिकेट गरेका व्यवसायीले पनि विमानस्थल चल्न नदिएको जस्तो लाग्छ,’ उनेल भने । विमानस्थल प्रवर्द्धनमा लुम्बिनी विकास कोष र त्यहाँ रहेका गुम्बा, नेपालस्थित विभिन्न मुलुकका दूतावासले पनि भूमिका खेल्नुपर्नेमा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठले जोड दिए ।
तीन तहका सरकारबीच समन्वय अभावले विमानस्थल सञ्चालनमा कठिनाइ भइरहेको संघका पूर्वअध्यक्ष एवं पर्यटन व्यवसायी विष्णुप्रसाद शर्माको भनाइ छ । ‘यहाँबाट भारतको उत्तर प्रदेशमा मात्रै विमान चलाए पनि जनताले सुविधा पाउँथे,’ उनले भने, ‘यसमा पनि तीनै तहका सरकारले पहिल गरिरहेका छैनन् ।’ विमानस्थल दिगो सञ्चालन गर्ने हो भने काठमाडौंबाट खाडी मुलुकमा भइरहेका उडानलाई भैरहवा केन्द्रित गर्नुपर्ने सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । विमान कम्पनी यहाँ आउन नखोज्नु सरकार र नागरिक उड्डयन प्राधिकरणको कमजोरी भएको उनको दाबी छ ।
विमानस्थललाई लक्ष्य गरेर निजी क्षेत्रबाट अर्बौं रुपैयाँ लगानी भएको तर सञ्चालनमा नआउँदा धमाधम होटल तथा अन्य व्यवसाय बैंकको लिलामीमा चढेको उनले जनाए । ‘४ देखि २५ करोडमा लगानीका व्यवसाय सबै बैंकको लिलामीमा छन्,’ उनले भने, ‘आठ वटा होटल बैंकले लिलामी सकारिसकेको छ ।’ अझै पनि विमानस्थल नचले उपनिर्वाचन नै बहिष्कार गर्ने उनको चेतावनी छ ।
भैरहवा विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङका लागि दक्ष र पर्याप्त कर्मचारी नभएको, विमान कम्पनीलाई आवश्यक सुरक्षाको ग्यारेन्टी नभएको, एयरलाइन्स सुरक्षा मापदण्ड पूरा हुन नसकेको पर्यटन व्यवसायी सञ्जीव जोशीले गुनासो गरे । ‘यस्तै विविध कारण पनि अन्तर्राष्ट्रिय विमान कम्पनीले भैरहवाबाट नियमित उडान गर्न चाहिरहेका छैनन्,’ उनले भने, ‘यी कुरामा ध्यान दिएर तीन तहका सरकाबीच समन्वय गर्न जरुरी छ ।’
विमानस्थल नियमित सञ्चालन भए भैरहवामा वर्षमा ३० लाख पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायी सञ्जय बजिमयले जनाए । पर्यटन नियमावलीमा भारतीय पर्यटकलाई पनि पर्यटक हुन् भन्नेमा ध्यान दिन उनले आग्रह गरे । विमानस्थल नचलेकै कारण होटल व्यवसायी डुब्न थालेको उनको भनाइ छ । हिमालय र नेपाल एयरलाइन्स चलाएर प्रवर्द्धनका काम गर्न उनले सुझावसमेत दिए । विगतमा सञ्चालन गरिएका उडान किन स्थगित भए भन्नेबारे सरकारीले जानकारी दिनुपर्ने नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापाले बताए ।
अन्तर्राष्ट्रिय उडानका लागि यात्रुलाई चाहिने सुविधा स्थानीय रूपमा उपलब्ध नगराएसम्म विमानस्थल सञ्चालनमा कठिनाइ हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जनाए । ‘श्रम, भिसा, मेडिकल र म्यानपावरका लागि काठमाडौं धाउनुपरेपछि यहाँ यात्रु किन आउँछन्,’ उनले भने, ‘पहिला यी समस्या समाधान गर्नुपर्छ ।’
यसअघि केही समय उडान भरेका जजिरा र थाई एयर एसियाले ७७ प्रतिशत यात्रु पाउँदा पनि नियमितता दिन नसकेको उनको भनाइ छ । तत्कालका लागि नेपाल एयरलाइन्सबाट भए पनि नियमित उडान गर्नुपर्नेमा उनको जोड छ । भैरहवाबाट नेपालगन्ज, धनगढीलगायत ठाउँमा पनि आन्तरिक उडान गर्नुपर्नेमा उनले जोड दिए ।
‘कनेक्टिभिटी बढाउनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बेला भारतसँग कुरा गरेर आईएलएस र एयर रुटका समस्या समाधान गर्नुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्री भारत जाँदै हुनुहुन्छ, यस विषयमा कुरा गरेर सहमति बनाउन जरुरी छ ।’
मुलुकमा ठप्प रहेका विमानस्थल निजी क्षेत्रले सञ्चालन गर्न मिल्ने गरी हवाई ऐनमा व्यवस्था गर्न लागिएको पर्यटनमन्त्री पाण्डेले बताए । ठूलो लगानीका भैरहवास्थित गौतमबुद्ध र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थल लामो समयदेखि उडानविहीन भइरहेका बेला निजी क्षेत्रले चाहे सञ्चालन गर्न दिन मिल्ने गरी ऐनमा व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।
‘हवाई नीतिका कारण खुलापन आओस् भनेर लागेको छु,’ उनले भने, ‘चलिरहेका विमानस्थल निजी क्षेत्रलाई दिने कुरा भएन । नचलिरहेका विमानस्थल निजी क्षेत्रलाई दिने कुरामा सकारात्मक छौं ।’ तर त्यसपूर्व विमानस्थल नचल्नुका कारण अध्ययन गरिने उनले बताए । बुद्ध जन्मस्थल लुम्बिनी नजिक निर्माण भएको गौतमबुद्ध सञ्चालन नभएको खण्डमा मुलुकका कुनै पनि विमानस्थल नचल्ने उनले बताए ।
