सेयर बजारका लगानीकर्ता ७० लाख नाघे, दोस्रो बजारमा झन्डै ४२ लाख

नेपालमा कुल जनसंख्याको २४ प्रतिशतले डिम्याट खाता खोलेका छन्, तर दोस्रो बजारमा सक्रियता भने कम छ।

भाद्र १, २०८२

कान्तिपुर संवाददाता

Investors in the stock market exceeded 70 lakhs, about 42 lakhs in the secondary market

What you should know

काठमाडौँ — सेयरमा लगानी गर्ने लगानीकर्ताको संख्या ७० लाख नाघेको छ। सेयरमा लगानीका लागि खुलेका डिम्याट खाताका आधारमा यो संख्या निकालिएको हो।

सीडीएस एण्ड क्लियरिङकाअनुसार आइतबारसम्म ७० लाख १० हजार ९ सय १६ लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । यो नेपालको कुल जनसंख्याको करिब २४ प्रतिशत हो । तर डिम्याट खाता खोलेका सबै लगानीकर्ताले दोस्रो बजारमा सेयर कारोबार गर्ने गरेका छैनन् ।

नेपाल स्टक एक्सचेन्जको तथ्यांकअनुसार हाल दोस्रो बजारमा सेयर कारोबारका लागि ४१ लाख ८९ हजार ६ सय ७७ जनाले खाता खोलेका छन् । तीमध्ये २६ लाख ५१ हजार २० जना पुरुष, १५ लाख २८ हजार ६११ जना महिला र बाँकी १० हजार ४६ वटा संस्थागत लगानीकर्ता (अन्य) रहेको नेप्सेको तथ्यांक छ ।

यसरी दोस्रो बजारमा कारोबारका लागि खाता खोलेकामध्ये पनि सबै सक्रिय छैनन् । धेरै निष्क्रिय रहेका छन् । नेप्सेका अनुसार १२ लाख ४८ हजार ८५५ जना मात्र दोस्रो बजारमा सक्रिय छन् । नेप्सेले गएको एक वर्षमा कम्तीमा एउटा कारोबार गर्ने लगानीकर्तालाई सक्रिय लगानीकर्ता भन्दै आएको छ ।

२०८२ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटेल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् । २०८१ जेठमा सूचीकृत कम्पनीहरूको संख्या २७० रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितो पत्र बजार पुँजीकरणको हिस्सा ५२.१ प्रतिशत रहेको छ । त्यसै गरी, जलविद्युत् कम्पनीको हिस्सा १६.१, लगानी कम्पनीको हिस्सा ८, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.५, व्यापारिक संस्थाको हिस्सा ५.३, होटेलको हिस्सा २.८ र अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको नेप्सेको तथ्यांक छ ।

कान्तिपुर संवाददाता

Link copied successfully