ठुलो लगानीका गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थल लामो समयदेखि उडानविहीन भइरहेका बेला निजी क्षेत्रले चाहेमा सञ्चालन गर्न दिन मिल्ने गरी ऐनमा व्यवस्था गरिने बताए।
What you should know
भैरहवा — पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकमा ठप्प रहेका विमानस्थल निजी क्षेत्रले सञ्चालन गर्न मिल्ने गरी हवाई ऐनमा व्यवस्था गर्न लागिएको बताएका छन्।
ठुलो लगानीका गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थल लामो समयदेखि उडानविहीन भइरहेका बेला निजी क्षेत्रले चाहेमा सञ्चालन गर्न दिन मिल्ने गरी ऐनमा व्यवस्था गरिने बताए।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघले शनिबार गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धी छलफलका क्रममा निजी क्षेत्रलाई निषेधको साटो नियमनमात्र गर्नुपर्ने उनले बताए । ‘हवाई नीतिका कारण खुलापन आओस् भनेर लागेको छुँ,’ उनले भने, ‘चलिरहेका विमानस्थल निजी क्षेत्रलाई दिने कुरा भएन। नचलिरहेका विमानस्थल निजी क्षेत्रलाई दिने कुरामा सकारात्मक छौँ।’
तर, त्यसपूर्व विमानस्थल नचल्नुका कारणबारे अध्ययन गरिने उनले बताए । बुद्ध जन्मस्थल लुम्बिनी नजिक निर्माण भएको गौतमबुद्ध सञ्चालन नभएको खण्डमा मुलुकका कुनैपनि विमानस्थल नचल्ने उनले बताए । विमानस्थल सञ्चालनका लागि संघर्ष नभई सहजीकरण समिति बनाउन उनले निजी क्षेत्रलाई सल्लाह दिए। ‘यहाँ गरिने संघर्षले भैरहवामा विमानस्थल किन बनाएको भनेर आलोचना गर्नेलाई बल पुग्छ,’ उनले भने, ‘त्यसैले तपाईहरुपनि सकारात्मक मार्केटिङतिर ध्यान दिनुस्। संघर्ष होइन, सहजीकरण गर्नुस्।’
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कुरा पर्यटन मन्त्रालय मातहतमात्र नरहेको उनको भनाइ थियो । विमानस्थल सञ्चालनका लागि पर्यटन, अर्थ, परराष्ट्र, गृह, श्रम लगायत मन्त्रालयको उत्तिकै भूमिका रहने भएकाले एक्लो प्रयासबाट जहाज उडाउन सम्भव नभएको बताए ।
त्यसकालागि सरोकारवाला मन्त्रालयले संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा मन्त्रालयको तर्फबाट भारत समक्ष प्रस्तुत गर्नुपर्ने एजेण्डामा अन्तराष्ट्रिय उडानका लागि रुट अनुमति, भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलप्रति भारतले राख्ने नकारात्मक भावनाको अन्त्य र क्षेत्रीय उडानका लागि पहल गर्ने विषय समेटिएको मन्त्री पाण्डेले बताए।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईष्तियाक अहमद खाँले सरकारी उदासिनताका कारण विमानस्थल सञ्चालन हुन नसकेको बताए । विमानस्थल सञ्चालनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच तालमेल हुनुपर्ने उनको भनाई थियो ।
‘एउटा सरकार तातिएरमात्र विमानस्थल चल्दैन,’ उनले भने, ‘तिनै तहका सरकार मिलेर गौतमबुद्ध जन्मस्थल लुम्बिनीको सकारात्मक ब्राण्डिङ गरेर विमानस्थल चलाउन पहल गर्नुपर्छ ।’ विश्वभरिका बुद्ध धर्मावल्बीको आश्थाको केन्द्र लुम्बिनीमा निर्माण भएको विमानस्थल नचल्नु भनेको ‘माल पाएर पनि चाल’ नपाएको जस्तो भएको उनले बताए । बुद्ध धर्मालवम्बी मुलुकमा प्रचार प्रसार गरेर अन्तराष्ट्रिय विमान कम्पनीलाई व्यापार दिन सकेको खण्डमा उडान सञ्चालन हुने उनले बताए ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबावु तिवारीले अन्तराष्ट्रिय उडानकालागि यात्रुलाई चाहिने सुविधा स्थानीय रुपमा उपलब्ध नगराएसम्म विमानस्थल सञ्चालनमा कठिनाइ रहेको बताए । ‘श्रम, भीसा, मेडिकल र म्यानपावरकालागि काठमाडौं धाउन परेपछि यहाँ यात्रु किन आउँछन्’, उनले भने, ‘पहिला यी समस्या समाधान गर्नुपर्छ ।’
यसअघि केही समय उडान भरेका जजिरा र थाई एयर एशियाले ७७ प्रतिशत यात्रु पाउँदापनि नियमितता दिन नसकेको जनाए । तत्कालकालागि नेपाल एयरलाइन्सबाट भएपनि नियमित उडान गर्नुपर्नेमा उनको जोड थियो । भैरहवाबाट नेपालगंज, धनगढी लगायत ठाउँमापनि आन्तरिक उडान गर्नुपर्नेमा उनले जोड दिएका थिए । ‘कनेक्टिभिटी बढाउनुपर्छ । प्रधानमन्त्रीको भ्रमणकाबेला भारतसँग कुरा गरेर आईएलएस र एयर रुटका समस्या समाधान गर्नुपर्छ’, उनले भने, ‘प्रधानमन्त्री भारत जाँदै हुनुहुन्छ, यस विषयमा कुरा गरेर सहमती बनाउन जरुरी छ ।’
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल चल्छ की चल्दैन ? भन्ने कुरा सरकारले प्रष्ट पार्नुपर्ने बताए । ‘हामीलाई सधैं निराशामा राख्न हुँदैन’, उनले भने, ‘चलाउन सकिँदैन भने सक्दैनौं भने भइहाल्यो ।’ एउटै विषयमा पटकपटक छलफल गरिरहँदा, सञ्चारमाध्यममा यहीँ विषय आइरहँदा समेत विमानस्थलबारे सरकारले बेवास्ता गरिरहेको उनले बताए ।
‘हाम्रा सबै मुद्दा ओझेलमा पारेर खाली विमानस्थल चलाउन भनेको छौं, तर सरकारले नियमित संचालनमा ध्यानै दिँदैन’, उनले भने, ‘कहिलेसम्म यसरी दबाब दिनुपर्ने हो ।’ नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले विमानस्थल नचलेकै कारण हरेक क्षेत्रमा समस्या बढीरहेको जनाए । ‘घरजग्गामा लगानी गरेका उही डुबेका छन्, होटलमा लगानी गरेका धरासायी छन्’, उनले भने, ‘सक्छ सरकारले चलाओस्, सक्दैन निजी कम्पनीलाई दिएर भएपनि विमानस्थल चलाउनुपर्छ । यसमा ढिलाई हुनुहुँदैन ।’
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपानेले सरकारको काम गर्ने इच्छाशक्ति नहुँदा विमानस्थल संचालन ओझेलमा परेको जनाए । ‘अहिले काँग्रेस–एमालेको सरकार हुँदा त यस्तो अवस्था छ भने अरुबाट के अपेक्षा गर्न सकिन्छ’, उनले भने, ‘मलाई लाग्छ, काठमाडौंमा सिन्डिकेट गरेका व्यवसायीले पनि विमानस्थल चल्न दिएका छैनन् ।’
सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठले विमानस्थल प्रबर्द्धनमा लुम्बिनी विकास कोष र त्यहाँ रहेका गुम्बा, नेपालस्थित विभिन्न मुलुकका दूतावासले पनि भूमिका खेल्नुपर्ने जनाए । उनले सधैं निजी क्षेत्रलाई संघर्षमा नउतार्न आग्रह गरे । संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले पहिला कमजोर सरकार भएर नचलेको भनिए पनि बलियो सरकारले समेत विमानस्थल चलाउन नसकेको गुनासो गरे ।
उनले सरकारले नसके निजी कम्पनीलाई दिएर भएपनि संचालन गर्नुपर्ने जनाए । विमानस्थल चलाउने कुरा यहाँका निजी क्षेत्रको मात्रै नभई सबैको चासो हुनुपर्ने बताए । ‘यो पश्चिम नेपालको चासोको विषय हो’, उनले भने, ‘यो विमानस्थल चल्यो भने नारायणगढ यतामा मानिसलाई महंगो खर्च गरेर काठमाडौं धाउनु पर्दैन ।’
संघका पूर्वअध्यक्ष एवं पर्यटन व्यवसायी विष्णुप्रसाद शर्माले तीन तहका सरकारबीच समन्वय अभाव पनि विमानस्थल संचालनमा कठिनाई भइरहेको जनाए । ‘यहाँबाट उत्तर प्रदेशमात्रै विमान चलाएपनि प्रदेशका जनताले सुविधा पाउँथे’, उनले भने, ‘यसमा पनि तीनै तहका सरकारको पहल छैन ।’
सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल दिगो संचालनकालागि खाडी मुलुकमा अहिले काठमाडौंबाट भइरहेका उडानलाई भैरहवा ल्याउनुपर्ने बताए । उनले विमान कम्पनीहरु यहाँ आउन नखोज्नु सरकार र नागरिक उड्डयन प्राधिकरणको कमजोरी भएको बताए । ‘यो विमानस्थल बन्नुको मुख्य उद्देश्य बौद्धिष्ट पर्यटक ल्याउनु हो तर हामीले श्रीलंका, थाइल्याण्ड, भियतनाम जस्ता मुलुकमा सिधा उडानकालागि किन पहल गरिरहेका छैनौं’, उनले भने ।
उनले विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट अर्बौ लगानी भएको तर संचालनमा नआउँदा धमाधम होटल तथा अन्य व्यवसाय बैंकको लिलामीमा चढेको जनाए । ‘४ देखि २५ करोडमा लगानीका व्यवसाय सबै बैंकको लिलामीमा छन्’, उनले भने, ‘८ वटा होटल बैंकले लिलामी सकारीसकेको छ ।’ उनले अझै पनि विमानस्थल नचले उपनिर्वाचन नै बहिस्कार गर्ने चेतावनी दिए ।
