बेलहिया हुँदै गाडीमा दिनहुँ भित्रिन्छन् ५ हजार भारतीय 

भैरहवास्थित बेलहिया नाका हुँदै भित्रिने भारतीयको पहिलो रोजाइ पोखरा रहेको पर्यटन व्यवसायी बताउँछन् । त्यसपछि पशुपतिनाथ दर्शनका लागि प्रायः पर्यटक काठमाडौं पुग्ने गरेका छन् । 

श्रावण ३०, २०८२

दीपेन्द्र बडुवाल

5,000 Indians enter by train through Belhia every day

What you should know

भैरहवा — मुलुकका सीमावर्ती सहरमा मात्र भारतीय पर्यटकको आकर्षण छैन, सीमानाका भएर आउने भारतीय नागरिक रूपन्देही हुँदै मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा पुगिरहेका छन् । भैरहवास्थित बेलहिया नाका हुँदै भित्रिने भारतीयको पहिलो रोजाइ पोखरा रहेको पर्यटन व्यवसायी बताउँछन् । त्यसपछि पशुपतिनाथ दर्शनका लागि प्रायः पर्यटक काठमाडौं पुग्ने गरेका छन् । 

वन्यजन्तु सफारीका लागि चितवन पुग्ने भारतीयको संख्या पनि उल्लेख्य छ । लुम्बिनीस्थित अर्घाखाँचीको सुपादेउराली र प्यूठानको स्वर्गद्वारीमा पनि भारतीयको आकर्षण देखिन्छ । गत वर्ष बेलहिया नाका हुँदै दिनहुँ ५ हजार भारतीय नागरिक भित्रिएको भन्सार कार्यालयको तथ्यांक छ । दिनको १ हजार ३ सय हाराहारी सवारीसाधन भित्रिएको कार्यालयले जनाएको छ । 

आर्थिक वर्ष २०८१/८२ मा बेलहियाबाट ४ लाख ७३ हजार ५ सय ३८ साना–ठूला गाडी मुलुक भित्रिएको भैरहवा भन्सारले बताएको छ । तीमध्ये सुविधा (नजिकको बजारसम्मका लागि शुल्क तिर्न नपर्ने) मा भित्रिने कार, जिप, मोटरसाइकल र बस ३ लाख ५१ हजार ७ सय ४८ वटा रहेको भैरहवा भन्सार प्रमुख रामप्रसाद रेग्मीको भनाइ छ । यसमा २ लाख २४ हजार ४ सय ८८ मोटरसाइकल, १ लाख २७ हजार २ सय ६० कार, जिप र भ्यान छन् । भन्सारका अनुसार दिनको ९ सयभन्दा बढी गाडी सुविधामा भित्रिने गरेको उनले जनाए । 

गत वर्ष भन्सार शुल्क तिरेर १ लाख २१ हजार ७ सय ९० वटा सवारी नेपाल आएका थिए । यसरी आउनेमा १२ हजार ५ सय ६३ बस तथा मिनी बस, ७२ हजार ४ सय ४३ कार, जिप र भ्यान र ३६ हजार ८ सय ११ मोटरसाइकल थिए । भन्सार शुल्क तिरेर भित्रिएका गाडीमा सवार पर्यटक पोखरा, काठमाडौं र चितवनसम्म जाने गरेको भन्सार प्रमुख रेग्मी बताउँछन् ।

दिनको ३ सयभन्दा बढी विभिन्न भारतीय सवारी भन्सार शुल्क तिरेर नेपाल आएको देखिन्छ । बस तथा मिनी बस, कार, जिप र भ्यानले मुलुक प्रवेश गरेबापत ६ सय र मोटरसाइकलको दैनिक २ सय रुपैयाँ भन्सार तिनुपर्छ । एउटा गाडीलाई एक वर्षमा बढीमा ३० दिनका लागि भन्सार सुविधा उपलब्ध गराइने रेग्मीले जनाए । 

रूपन्देहीस्थित पर्यटन व्यवसायीका अनुसार बेलहिया हुँदै दिनको कम्तीमा ५ हजार भारतीय नागरिक मुलुकका विभिन्न गन्तव्य घुम्न आउने गरेका छन् । आफ्नै गाडीबिना पनि मुलुक प्रवेश गर्ने भारतीयको संख्या दिनको ४/५ सय हाराहारी रहेको पर्यटन व्यवसायीको भनाइ छ । भन्सार शुल्क तिरेर प्रवेश गर्ने गाडीमा सवार पर्यटकले विभिन्न गन्तव्यमा ४–५ दिन बिताउने गरेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सागर अधिकारीले बताए । ‘यसरी आउनेमध्ये ५० प्रतिशत पर्यटक पोखरा जाने गरेका छन्,’ उनले भने, ‘४० प्रतिशत काठमाडौं र १० प्रतिशत जति चितवन जाने गरेका छन् ।’

पोखरा गएका मध्ये ५० प्रतिशत भारतीय नागरिक मुक्तिनाथ पुग्ने गरेको अधिकारीको भनाइ छ । ‘गाडी, चालक र पर्यटक सबै भारतीय नै हुन्छन्,’ उनले भने, ‘धेरै संख्या भित्रिए पनि नेपाली पर्यटन व्यवसायीले पर्याप्त लाभ पाउँदैनन् ।’ भारतीय गाडी चालकले सहज र सजिलै पुग्न सकिने स्थान घुमाएर फर्काउने गरेका कारण पर्यटकलाई नेपालमा केही रहनेछ भन्ने लाग्ने गरेको उनले जनाए । ‘नेपाली गाडी र पथप्रदर्शक भएको खण्डमा साइड सिनहरू प्रशस्त देखाउँछन्,’ उनले भने, ‘भारतीयलाई त्यसमा चासो नहुने भएकाले नेपाली गन्तव्यका विशेषताको प्रचार हुन सकेको छैन ।’ 

पर्यटकीय सिजनमा बेलहियाबाट सिद्धार्थ राजमार्ग हुँदै पोखरासम्म भारतीय नम्बर प्लेटका साना–ठूला गाडीको चाप देखिन्छ । बुटवल–नारायणगढ खण्डमा धेरै भारतीय सवारीका साधन गुड्ने गरेका छन् । एकदिने सुविधा लिएर आएका गाडीले पर्यटकलाई रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तिलौराकोट र पश्चिम नवलपरासीको रामग्राम र बुटवल घुमाएर फर्किने गरेका छन् । सुविधा लिएर आउने भारतीय भैरहवा र बुटवलसम्म पुगेर फर्किने गर्छन् । ‘बेलहियाबाट सिधै पोखरा जाने भारतीय पर्यटकको संख्या धेरै छ,’ नेपालिज होटेलियर्स एसोसिएसनका अध्यक्ष प्रवीणबहादुर पाठकले भने, ‘हामीले उनीहरूलाई एक रात बुटवलमा बसाउन सकिरहेका छैनौं ।’ 

भारतीयलाई बुटवलमा एक साता बसाएर गन्तव्यमा पठाउन प्याकेज कार्यक्रम ल्याउनुपर्ने पाठकको भनाइ छ । बुटवल र भैरहवामा मीठो खुवाएर, आरामले सुताएर एक दिन आसपासका गन्तव्य घुमाएर पठाउन सकिने गरी कार्यक्रम तयार गर्नुपर्ने उनले बताए । पाल्पा हुँदै पोखरा जाने पर्यटकलाई रानीमहल र धार्मिकस्थल रिडीसम्म पुर्‍याएर उनीहरूको बसाइँ अवधि लम्ब्याउन सकिने भैरहवा गार्डेन रिसोर्टका सञ्चालक निर्मल श्रेष्ठले जनाए ।  

दीपेन्द्र

Link copied successfully