छिप्पिइसक्यो बीउ, सवा लाख हेक्टरमा रोपाइँ अझै बाँकी

सिँचाइ अभावकै कारण समयमै रोपाइँ हुन नसकेको हो । मधेशसँगै कोशीमा पनि पानीकै समस्याले रोपाइँमा कमी भएको छ । यी दुई प्रदेशमा रोपाइँ कम हुँदा समग्र मुलुकमै रोपाइँको प्रगति कम देखिएको छ । 

श्रावण २९, २०८२

राजु चौधरी

The seeds have been sown, planting in 1.5 million hectares is still left

What you should know

काठमाडौँ — साउन सकिन केही दिन मात्र बाँकी रहँदा सवा लाख हेक्टरमा अझै रोपाइँ भएको छैन । मनसुन सक्रिय भए पनि मधेशमा राम्रो गरी पानी नपर्दा रोपाइँमा समस्या भएको हो । सिँचाइ अभावकै कारण समयमै रोपाइँ हुन नसकेको हो । मधेशसँगै कोशीमा पनि पानीकै समस्याले रोपाइँमा कमी भएको छ । यी दुई प्रदेशमा रोपाइँ कम हुँदा समग्र मुलुकमै रोपाइँको प्रगति कम देखिएको छ । 

मुलुकभर १३ लाख ७८ हजार ९ सय ६६ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । साउन २५ सम्म १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा (९१ प्रतिशत) मात्रै रोपाइँ भएको छ । अर्थात् १ लाख २४ हजारभन्दा बढी हेक्टरमा रोपाइँ हुन बाँकी रहेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । जब कि २०८१ साउन २७ सम्म ९८.१९ प्रतिशत रोपाइँ भइसकेको थियो । 

सबैभन्दा धेरै मधेशमा रोपाइँ हुन बाँकी छ । यहाँ ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । यसमध्ये साउन २५ सम्म २ लाख ८५ हजार २ सय ३४ हेक्टर (७६.५४ प्रतिशत) मात्रै रोपाइँ भएको छ । ८७ हजार ४ सय ११ हेक्टर रोपाइँ हुन बाँकी छ । गत वर्ष यही समयमा मधेशमा ९७ प्रतिशत रोपाइँ भइसकेको थियो । सुक्खा भएकै कारण सरकारले मधेशलाई संकटग्रस्त घोषणा गरिसकेको छ । पछिल्लो समय मधेशमा पानी परेकाले रोपाइँमा तीव्रता छ । तर छिप्पिएको बीउले राम्रो उत्पादन दिनेमा आशंका रहेको जानकार बताउँछन् । 

‘सुरुमा सुक्खा खडेरीले रोपाइँ हुन सकेन । बीउ छिप्पिने अवस्थामा पुगेको छ । ढिलै भए पनि अहिले पानी परेर रोपाइँ धमाधम भइरहेको छ,’ कृषि अनुसन्धान परिषद् (नार्क) का धान वैज्ञानिक सुशीलराज सुवेदीले भने, ‘पानी परेकाले रोपाइँ गत वर्षकै हाराहारीमा हुन्छ । तर उत्पादन कस्तो हुन्छ भन्नेमा आशंका छ । बूढो बीउले उत्पादनमा स्वाभाविक कमी आइहाल्छ ।’

२० देखि २२ दिनको बीउ राम्रो मानिने वैज्ञानिक सुवेदी बताउँछन् । तर पानी अभावले रोपाइँमा ढिलाइ भएपछि किसानले छिप्पिएको बीउ रोपेका छन् । ‘छिटो पाक्ने धानको जात भए जतिसक्दो छिट्टै लगाउँदा राम्रो, ढिलो पाक्ने जातको हकमा ढिलो हुँदा केही फरक पर्दैन,’ सुवेदीले भने, ‘तराईमा धेरैजसो ढिलो पाक्ने (१ सय ३५ देखि १ सय ५० दिने) धान लगाउँछन्, छिट्टै पाक्ने धान भए समस्या हुन्छ ।’

कोशीमा १५ हजार ४ सय २२ हेक्टरमा रोपाइँ हुन बाँकी रहेको केन्द्रले जनाएको छ । कोशीमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा धान रोपाइँ हुन्छ । यसमध्ये २ लाख ६० हजार ९ सय ६४ हेक्टर (९४.४२ प्रतिशत) रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा कोशीमा ९८ प्रतिशत रोपाइँ भइसकेको थियो । कोशीमा पनि सिँचाइ अभावले कम रोपाइँ भएको केन्द्र प्रमुख केशव देवकोटाले बताए । 

‘रोपाइँका लागि पानी नपुगेर सुनसरी र झापा क्षेत्रमा रोपाइँ हुँदै छ, पूर्वमा पानी नपुगेरै रोपाइँ कम भएको हो,’ प्रमुख देवकोटाले भने, ‘रोपाइँ साउनसम्मै हुन्छ । ढिलाइ भए पनि पूरै रोपाइँ हुने देखिन्छ । बीउ धेरै पुरानो हुँदा उत्पादन घट्न भने सक्छ ।’

मनसुनमा आधारित खेती प्रणाली हुँदा यसपालि रोपाइँमा ढिलाइ भएको हो । मधेशमा ढिला नै गरी बीउ राख्ने चलन रहेको देवकोटाको भनाइ छ । बागमतीमा ७ हजार ४ सय ४८ हेक्टर रोपाइँ हुन बाँकी छ । यस प्रदेशमा १ लाख १५ हजार ६ सय २१ हेक्टरमा रोपाइँ हुन्छ । साउन २५ सम्म १ लाख ८ हजार १ सय ७३ हेक्टर (९३.५६ प्रतिशत) मा रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ९९ प्रतिशत रोपाइँ भइसकेको थियो । 

गण्डकीमा ६ हजार ८ सय ७ हेक्टरमा रोपाइँ हुन बाँकी छ । यस प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टरमा रोपाइँ हुन्छ । साउन २५ सम्म ९७ हजार ३ सय ७५ हेक्टरमा रोपाइँ भएको छ । लुम्बिनीमा ५ हजार ८ सय ३६ हेक्टर रोपाइँ हुन बाँकी छ । यस प्रदेशमा ३ लाख २ हजार ९ सय ३९ हेक्टरमा रोपाइँ हुन्छ । कर्णालीमा ४१ हजार ४२ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये ६ सय ५९ हेक्टरमा रोपाइँ हुन बाँकी छ । सुदूरपश्चिममा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये ४ सय ९९ हेक्टरमा रोपाइँ बाँकी छ । 

रोपाइँ हुन बाँकी क्षेत्रफल (हेक्टरमा) 

कोशी : १५ हजार ४ सय २२ 

मधेश : ८७ हजार ४ सय ११ 

बागमती : ७ हजार ४ सय ४८ 

गण्डकी : ६ हजार ८ सय ७ 

लुम्बिनी : ५ हजार ८ सय ३६ 

कर्णाली : ६ सय ५९ 

सुदूरपश्चिम  : ४ सय ९९

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully