कारोबारमा आएकामध्ये ८९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५९ को घट्यो, एउटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
What you should know
काठमाडौँ — पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक ६४.६२ अंकले घटेको छ । सार्वजनिक बिदा भएकाले आइतबार सेयर बजार बन्द रह्यो । सोमबारदेखि खुलेको बजार लगातार तीन दिन घट्दा नेप्से २ हजार ७ सय ८५ अंकमा ओर्लेर बन्द भएको छ ।
गत सोमबार नेप्से २ हजार ८ सय २२ अंकमा थियो । केही दिनयता बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरिरहेका छन् । प्रायः बैंकको वित्तीय अवस्था निकै राम्रो छ । तर सेयर बजार भने लगातार घटिरहेको छ । अघिल्लो साता करिब ३ हजार माथि पुगेर बन्द भएको नेप्से लगातार घटेर अहिलेको अवस्थामा ओर्लेको हो ।
सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १०.५० अकंले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.३७ अंकले घटेपछि नेप्से दोहोरो अंकले घटेको हो । यससँगै समग्र नेप्से २ हजार ७ सय ८५.७४ अंकमा ओर्लेर बन्द भएको छ । यस दिन कारोबारमा आएकामध्ये ८९ कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटाको घट्यो । एउटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
बुधबार ७० हजार ९९ पटकको कारोबारमा १ करोड ५८ लाख ४७ हजार ८ सय ७३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब १६ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार ७८ हजार २ सय २६ पटकको कारोबारमा १ करोड ७६ लाख ७१ हजार ६ सय ७५ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढे पनि वृद्धिदर न्यून हुँदा समग्र नेप्से दोहोरो अंकले घटेको हो ।
नेप्से दोहोरो अंकले घट्दा पनि बुधबार ८९ वटा कम्पनीको सेयर मूल्य भने बढ्यो । तीमध्ये सबैभन्दा धेरै सेयरमूल्य बढ्ने कम्पनीका अग्र स्थानमा मायाखोला हाइड्रोपावर कम्पनी छ । सो दिन यो कम्पनीको सेयर मूल्य ५.७४ प्रतिशतले बढेको छ ।
यस्तै, मायाखोला हाइड्रोसहित सानिमा लार्ज क्याप फन्ड, नेपाल रिपब्लिक मिडिया, सप्तकोशी डेभलपमेन्ट बैंक र समाज लघुवित्त वित्तीय संस्था क्रमशः धेरै मूल्य बढ्ने कम्पनीको मुख्य पाँच कम्पनीको सूचीमा रहे । कारोबार रकमका आधारमा बुधबार बलेफी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्टक्चर्स एन्ड डेभलपमेन्ट र नेपाल पुनर्बिमा कम्पनी मुख्य पाँच कम्पनी रहे ।
