जापानमा कोडिङको ब्रान्डिङ खोजिरहेको नेपाली आईटी क्षेत्र

जापानको सञ्चार तथा सूचना प्रविधि बजार ४७ करोड डलरको रहेको अनुमान गरिन्छ भने आईटी सेवा क्षेत्रको आकार ९० अर्ब डलर पुगेको जापान–नेपाल आईटी एसोसिएसनले जनाएको छ । त्यहाँ आईटी सेवा क्षेत्रको वार्षिक वृद्धिदर करिब ८ प्रतिशत छ ।

श्रावण २९, २०८२

सजना बराल

Nepali IT sector looking for coding branding in Japan

What you should know

काठमाडौँ — नेपालमा कुनै सेवा प्रदायक नभएर नवप्रवर्तनको साझेदार खोजिरहेको भन्दै जापानी उद्यमीहरूले यहाँको सूचना प्रविधि (आईटी) क्षेत्रप्रति चासो देखाएका छन् । जापानको आईटी बजारमा नेपाली इन्जिनियर र कम्पनीले आफ्नो स्थान बनाउन प्राविधिक क्षमतासँगै सहकार्य, भरोसा र दीर्घकालीन साझेदारीको संस्कृति मजबुत बनाउन आवश्यक रहेको उनीहरूको भनाइ छ । 

जापान–नेपाल आईटी फोरममा सहभागी हुन काठमाडौं आएका जापानी उद्यमीले नेपालमा आफूहरूले ‘इन्नोभेसन’ केन्द्र खोल्न चाहेको र नेपालका इन्जिनियरले आफ्ना एआई परियोजनामा कुशलतापूर्वक काम गरेको प्रतिक्रिया दिए । 

‘हामी नेपालका आईटी कम्पनी र उद्यमीलाई सेवाप्रदायकका रूपमा होइन, साझेदारका रूपमा खोजिरहेका छौं,’ रेलमार्ग निर्माण एवं सञ्चालन हुँदै हाल डिजिटल पूर्वाधार र प्रविधि क्षेत्रमा सक्रिय जापानको १३० वर्ष पुरानो नन्काई इलेक्ट्रिक रेलवेका व्यवस्थापक योही सुकामोटोले भने, ‘नेपाली इन्जिनियरहरूले नेपालमै बसेर विश्वस्तरीय काम गर्न सक्छन् । यसको उदहारण टोकियोमा हाम्रो ट्रान्सपोर्टेसन एआई परियोजनालाई लिन सकिन्छ । उक्त परियोजनाको काम काठमाडौंमा रहेका नेपाली इन्जिनियरहरूले गरेका थिए ।’

नेपालमा इन्नोभेसन ल्याब स्थापना गरेर अनुसन्धान तथा विकासलाई जोड दिने उनीहरूले बताए । नन्काईले दुई वर्षदेखि ‘जापाल’ परियोजनामार्फत नेपाली इन्जिनियरसँग सहकार्यसमेत गर्दै आएको छ । 

जापानको सञ्चार तथा सूचना प्रविधि बजार ४७ करोड डलरको रहेको अनुमान गरिन्छ भने आईटी सेवा क्षेत्रको आकार ९० अर्ब डलर पुगेको जापान–नेपाल आईटी एसोसिएसनले जनाएको छ । त्यहाँ आईटी सेवा क्षेत्रको वार्षिक वृद्धिदर करिब ८ प्रतिशत छ ।

त्यस्तो विशाल बजारमा हाल कार्यरत नेपाली आईटी प्रोफेसनलहरूको हिस्सा भने ०.१ प्रतिशत छ । जापानमा अहिले २० भन्दा बढी नेपाली आईटी कम्पनी (साना स्टार्टअपदेखि मध्यम आकारका संस्थासम्म) र ५ सयभन्दा बढी आईटी प्रोफेसनल रहेको एसोसिएसनका अध्यक्ष शरद राईले जनाए । यो संख्या वार्षिक रूपमा बढिरहेको उनले बताए । 

जापानमा विशेषगरी वेब र मोबाइल एप्लिकेसनलगायत सफ्टवेयर विकास, आर्टिफिसियल इन्टेलिजेन्स, सिस्टम इन्टिग्रेसन तथा क्लाउड माइग्रेन, डेटा एनालिटिक्स, साइबर सुरक्षा र उत्पादन तथा अटोमोटिभ क्षेत्रमा प्रयोग हुने इम्बेडेड सिस्टमजस्ता प्रविधि सेवाहरूको उच्च माग रहेको राईले सुनाए । ‘जापानमा अहिले ७ हजार जति नेपाली–भारतीय रेस्टुराँ छन्, नेपाली भन्नासाथ धेरैलाई करी वा तरकारीको सम्झना आउँछ,’ उनी भन्छन्, ‘हामीले जापानको १.४ अर्बको जनसंख्यालाई आफ्नो बजार मानेर आईटी क्षेत्रमा प्रवेश गर्न अपरिहार्य छ । करीबाट कोडिङको ब्रान्ड बनाउनुपर्छ ।’ जापानमा हाल करिब २ लाख ५० हजार नेपाली छन् । 

कुनै बेला प्रविधि विकासमा सक्रिय रहने जापान पछिल्लो समय सुस्ताएको छ । त्यहाँको आईटी क्षेत्रमा भियतनामले सेवा दिँदै आएको थियो । लामो समय जापानी आईटी क्षेत्रमा बलियो उपस्थिति जनाएको भियतनाम पनि अहिले आर्थिक रूपमा सबल बनेपछि दक्षिण कोरिया, ताइवान र अमेरिकाजस्ता नयाँ बजारतर्फ मोडिएको छ ।

पहिले चीनसँग प्रविधिमा साझेदारी गरेको जापान पछि भियतनामतिर लागेको र अहिले भियतनामपछि अर्को साझेदारको खोजीमा रहेको जापान–नेपाल आईटी एसोसिएसनका निर्देशक आधार लामिछाने औंल्याउँछन् । यस्तोमा बंगलादेश र फिलिपिन्सले तीव्र बजार विस्तार गरिरहेकामा नेपाल पनि यसमा अग्रसर हुनुपर्ने उनको विश्लेषण छ । 

बुढ्यौलीतर्फ लम्किरहेको र वार्षिक रूपमा घटिरहेको जनसंख्याका कारण जापानलाई युवा जनशक्तिको असाध्यै खाँचो रहेको र त्यो नेपाली जनशक्तिका लागि अवसर भएको तर्क पनि लामिछानेले पेस गरे । 

‘अहिले जापानका ३० प्रतिशतभन्दा धेरै आईटी कामदार ५० वर्षभन्दा माथि उमेरका छन्, बुढ्यौलीका कारण सन् २०३० सम्म १२ लाख पद खाली हुने अनुमान गरिएको छ,’ लामिछानेले भने, ‘जापानी बजारमा दक्ष जनशक्तिको तीव्र अभाव हुँदै गर्दा हामीसँग भएको युवा जनशक्ति र प्राविधिक क्षमतालाई ब्रान्डिङ गर्नु आवश्यक छ । एक्ला–एक्लै ढंगले गरेर सम्भव हुँदैन, सामूहिक प्रयास, कूटनीतिक पहल सबै चाहिन्छ । हामी उद्यमी र आईटी कामदारले चाहिँ जापानीहरूसँग संवाद र उनीहरूकै शैलीको काम गर्ने संस्कृति सिक्न जरुरी छ ।’

नेपालप्रति आफूहरूले ‘च्यारिटी’ नभई ‘भविष्यमुखी व्यवसाय’ को दृष्टिकोण राख्ने गरेको नन्काई इलेक्ट्रिक रेलवेका सीएफओ ताकाहिरो ओत्सुकाले प्रस्ट्याए । दुई वर्षअघि सुरु गरिएको ‘जापाल’ परियोजनाले नेपाली इन्जिनियरलाई जापानमा श्रमिकका रूपमा नभई भविष्यका ‘लिडर’ बन्ने अवसर दिएको उनको भनाइ छ । ‘यी इन्जिनियरले जापानी कार्यसंस्कृति र गुणस्तरका मापदण्ड आत्मसात् गर्दै, आफ्नो सिर्जनशीलता र समस्या समाधान गर्ने क्षमताले हामीलाई प्रभावित पारेका छन्,’ उनले भने ।

नेपाललाई २० वर्षअघिको बैंगलोरसँग तुलना गर्दै सेवा निर्यातमा हाल भइरहेको सफलता अझ उचाइमा पुर्‍याउन अन्तर्राष्ट्रिय ‘एक्स्पोजर’ आवश्यक रहेको गुगलमा प्रडक्ट म्यानेजर रहिसकेका सिलिक भ्यालीका जानकार जन बी पार्कले बताए ।

सूचना प्रविधि सेवा निर्यातबाट नेपालले वार्षिक ६८ अर्ब ७६ करोड रुपैयाँ भित्र्याइरहेको र सिलिकन भ्यालीका धेरै नेपाली युवा स्वदेश फर्केर काम गरिरहेको उनको भनाइ छ । सांसद स्वर्णिम वाग्लेले पनि वृद्ध जनसंख्या र श्रमिक अभावका कारण रोबोटिक्स र एआई जस्ता प्रविधिमा जापानलाई छलाङ मार्नैपर्ने बाध्यता रहेको बताए । नेपालको आईटी क्षेत्रले त्यहाँको आवश्यकता बुझेर सेवा दिन सके ठूलो सम्भावना देखिने उनले जनाए । 

ओमिबा प्रालिका सीईओ सन्दीप ढुंगानाले नेपालमा प्रविधि पूर्वाधार सुदृढ भइसकेकाले जापानीहरूले खोजे जस्तो साझेदार बन्न सकिने धारणा राखे । तर कतिपय व्यावहारिक र नीतिगत अवरोध सुल्झाउन बाँकी रहेको उनको भनाइ छ । ‘काम सकेर फिर्ता गर्नुपर्ने जापानी क्लाइन्टका कम्प्युटर नेपाल ल्याउँदा मैले भन्सार शुल्क तिर्नुपर्‍यो,’ ढुंगानाले भने, ‘मैले ती कम्प्युटर बेच्न ल्याएको थिइनँ । तर भन्सारले कर तिर्नैपर्छ भन्यो । यस्ता नीतिगत र व्यावहारिक जटिलताले गर्दा अन्तर्राष्ट्रिय व्यवसायमा असुविधा भइरहेको छ ।’ 

मिसुमी नेपालका उपाध्यक्ष सौगात केसीले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा सुधारको आवश्यकता औंल्याए । आफूलाई नेपालमा लगानीमा समस्या नभए पनि मुनाफा पठाउन सक्ने ग्यारेन्टी चाहिने नेपाल जापानिज चेम्बर अफ कमर्सका एक प्रतिनिधिको धारणा छ । यसमा टोकियो टेकका अनिशमान श्रेष्ठले नीतिगत सुधारका लागि निरन्तर पहल भइरहेको बताए ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully