सोमबारको तुलनामा ०.९२ प्रतिशतले घटेपछि मंगलबार समग्र नेप्से २ हजार ७ सय ९६.२४ अंकमा ओर्लिएको छ ।
What you should know
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २६.२२ अंकले घटेको छ । अघिल्लो दिन ३१.५० अंकले घटेको नेप्से मंगलबार पनि दोहोरो अंकले घटेको हो । सोमबारको तुलनामा ०.९२ प्रतिशतले घटेपछि मंगलबार समग्र नेप्से २ हजार ७ सय ९६.२४ अंकमा ओर्लिएको छ ।
उक्त दिन कारोबारमा आएकामध्ये २४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ वटाको घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो ।
मंगलबार ७८ हजार २ सय २६ पटकको कारोबारमा १ करोड ७६ लाख ७१ हजार ६ सय ७५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार १० अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटनबाहेक सबैको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ९१.२३ अंकले बढेको छ । जीवन बिमा १४१.२७, निर्जीवन बिमा १०२.८८, लघुवित्त ७९.६४, उत्पादन तथा प्रशोधन ७६.८३, विकास बैंक ४४.६४, बैंकिङ १३.९६, व्यापार ३६.७५ अंकले घटेका छन् ।
सिटी होटल लिमिटेडको ९.९९, समाज लघुवित्तको ४.३४, हिमालयन बैंक बन्ड २०८६ को ४, कृषि बैंक डिबेञ्चर (२०८३) को ३.६९, प्रभु बैंक डिबेञ्चर (२०८४) को ३.२५ प्रतिशतले सेयर मूल्य बढ्यो । सिकलेस हाइड्रोपावरको ९.९९, उन्नति सहकार्य लघुवित्तको ८, लक्ष्मी लघुवित्तको ६.१४, गरिमा समृद्धि योजनाको ५.२४, नडेप लघुवित्तको ५.०३ प्रतिशतले सेयर मूल्य घट्यो ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट, बुटवल पावर कम्पनी अघि रहे । नेपाल रिइन्स्योरेन्स कम्पनीको २६ करोड ७७ लाख ५५ हजार, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ९६ लाख ८७ हजार, लुम्बिनी विकास बैंकको २० करोड २६ लाख ४२ हजार, शिवम् सिमेन्टको २० करोड ६ लाख ४३ हजार र बुटवल पावर कम्पनीको १९ करोड ६० लाख ७९ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
