डाँडाकटेरीका गाउँमा सुन्तलाका दाना कुहिएर झर्दा किसान चिन्तित

सुन्तला बोटमा रोगको प्रकोप देखिएपछि दाना भुइँमा झर्ने समस्या उत्पन्न भएको छ।

श्रावण २८, २०८२

वीरेन्द्र केसी

In the village of Dandakteri, farmers are worried about the rotting of orange seeds

What you should know

अर्घाखाँची — फल्दै गरेका सुन्तलाका दाना बोटबाटै कुहिएर धमाधम भुइँमा झरेपछि किसान चिन्तित भएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका मालारानी गाउँपालिका–२ डाँडाकटेरीका ४५ भन्दा बढी कृषकका सुन्तलाका बोटबाट दाना आधा झरिसकेका छन् । बोटमा दाना केही पहेंलो र केही हरियोमै झरेका हुन् । भुइँमा खसेका दाना कुहिएका छन् ।

कृषक खिमानन्द भुसालको बारीमा रहेका ५ सय बोटमध्ये डेढ सय बोटले उत्पादन दिन्छ । दाना लटरम्मै फलेका थिए । ‘बोटमा रहेका दानामध्ये आधाजसो दाना पहेंलो भएर भुइँमा झरिसके,’ उनले भने, ‘के रोग लाग्यो हामीले पत्ता लगाउन सकेनौं । साउन महिनाको पहिलो सातादेखि दैनिक दाना झरेर भुइँमा छन् ।’ 

गत वर्ष उनले सुन्तला बेचेर ३ लाख कमाइ गरेका थिए । यसपालि ५ लाखजति कमाइ गर्ने उनी आशामा थिए । सुन्तलाका दान टिपेपछि खनजोत, मलजल र स्याहारसुसार गर्दा राम्रो फलेको थियो । ‘कागतीका जत्रा दाना भएका छन्, एकाएक कोही पहेंलो भएर त केही दाना हरियोमै धमाधम झरिरहेका छन्,’ उनले भने, ‘यस्तै हो भने अबको केही दिनमा बोट सिख्रो हुन्छ । सुन्तलाका दानामा यस्तो रोग गाउँभरिका बोटमा फैलिएको छ ।’ बोटका पातमा ढुसी लागेको र त्यसपछि दानाको भेट्नो चुँडिएर खसेको उनले बताए । 

‘डाँडाकटेरी गाउँमा २०६९ सालदेखि मैले व्यावसायिक सुन्तला खेती गरेको हुँ,’ उनले भने, ‘अहिलेसम्म यस्तो रोग लागेको थिएन । यसरी धमाधम बोटबाट सुन्तलाका दाना झर्दा किसानमा निरासापन देखिएको छ ।’

गत वर्ष राम्रो आम्दानी गरेका अर्का किसान शशीधर भुसालले यसपालि उत्पादन बढ्नेमा आशावादी थिए । जति स्याहारसुसार गर्‍यो, त्यति लटरम्मै र ठूला दाना फल्छ भन्ने ज्ञान पाएका उनले यसपालि निकै मिहिनेत गरेर बोटमा मलजल गरेका थिए । मिहिनेत अनुसार फल पनि राम्रो लागेको थियो । तर, एक्कासि पातमा ढुसी लागेर र भेट्नो नरम भएर दाना धमाधम खस्न थालेपछि उनी चिन्तामा छन् । ‘बोटमा फलेका आधा दाना झरिसके,’ उनले भने, ‘पातमा ढुसी लाग्दै दाना झर्दै छ ।’

यसरी दाना झरेपछि कृषि ज्ञान केन्द्रलाई किसानले खबर गरे । आइतबार प्राविधिक शारदा आचार्यसहितको टोलीले स्थलगत अध्ययन गरेको छ । बोटबाट झरेका सुन्तलाका दाना ल्याब परीक्षणका लागि लगिएको छ । त्यसका लागि काठमाडौंमा ल्याब परीक्षणमा पठाउनुपर्छ । उनले बगैंचा व्यवस्थापन, काँटछाँटमा खाद्यत्वको कमी, पतेरो तथा औंसा किराहरूको समस्याका कारणबाट फल झरेको हुन सक्ने बताइन् ।

‘बगैंचा पनि अस्तव्यस्त रहेको छ, एक मिटरमा एउटा बोट हुनुपर्नेमा तीन/चारवटा सुन्तलाका बोट रोपिएका छन्,’ उनले भनिन्, ‘बोट लगाउने, त्यसलाई खाद्यतत्त्व पुर्‍याउने र व्यवस्थापनको समस्याकै कारण यसरी दाना झरेका हुन सक्छन् । आउँदो माघ/फागुनतिर हामी फिल्डमै गएर सुन्तलाका बोट लगाउने तरिका, मलजल दिनेसहित सबै कुरा सिकाउनेछौं ।’

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully